आफ्नो खबर, ठूलो खुशी

डिसी नेपाल
२४ जेठ २०७७ १०:२०
68
Shares

धेरै दिनपछि आज फेरि कलम समाउन मन लाग्यो। मनमा अलिकति आशा र उत्साह जागेर आयो। संसारैभरि कोरोना महामारीका कारण भयावह स्थिति सिर्जना भएको यस्तो बेला, मान्छेको मन न हो, रमाउन सक्ने कुरा पनि भएन। गएको माघ महिनादेखि नै मनमा जाँगर छैन। उत्साह पनि छैन।

यतिबेला सबैको मनमा मानवीय संवेदनशीलता छाएको होला जस्तो लाग्छ। महामारीका बारेमा जतिजति दैनिक समाचार सुन्दै गयो, आशाभन्दा निराशा बढी हुन्छ। मन भावुक हुन्छ। यसो मन भुलाउन किताब हातमा लिएर आँखा डुलाउन खोज्यो, फेरि उनै मृत्युका खबरले हृदय कटक्क खान्छ । किताबका अक्षर र विषयमा मन स्थिर हुँदैन।

आज जेठ १६ गते बिहानीपख काठमाडौंमा ठूलै पानी पर्यो, झमझम बिहान ६ बजेसम्म। मौसम निकै चिसो भयो। बिहान पनि धुम्म थियो। तैपनि दिउँसो आकाश खुलेको छ। ठूलो बर्षात्मा नुहाएर होला, वरिपरिको वातावरण निकै सुन्दर र रमणीय भएको छ।

यतिबेला आकाशले बादलुको च्यादर उघारेर पृथ्वीलाई नियालिरहेको होला। सायद आफ्नो पौरख सम्झिँदै छ कि! सधैभरि धमिलो र तुवाँलोले ढाकेको आकाश देख्न विवश राजधानीवासीको आँखामा पनि यतिबेला निलो कञ्चन आकाश, सेतो सफा भुवा जस्तो बादल र चम्किलो घाम देख्ने अवसर जुटेको छ। कहिलेकाँही मात्रै पाइन्छ यस्तो मौसम हेर्न।

छोरीलाई काखमा राखेर, एक हातले चिया पिउँदै अर्को हातले मोबाइलमा फेसबुक खोलेँ । सुरुमै अर्चना म्याडम (साहित्यकार अर्चना थापा) ले राखेको एउटा न्युज देखेँ, ‘लालटिनको उज्यालोमा अब ई बुकमा।’ अगाडि बसेका उनलाई, (प्रदीप ज्ञवाली)  अलि ठूलो स्वरमा भनेँ– बुढो, मेरो किताब अब ई बुकमा पनि उपलव्ध छ रे !’ ‘कसले भन्यो ?’ उनले सोधे। ‘अर्चना म्याडमले फेसबुकमा राख्नु भा’छ ।’ ‘ए…राम्रो भएछ !’, उनले मलाइ वधाइ दिए।

उनले पटक–पटक ई–बुकका बारेमा बताउँदै त्यहाँ निशुल्क र सशुल्क दुबै खालका किताबहरु पाइने र त्यसमा पाइने राम्रा किताबहरु खोजेर पढ्न सुझाव नदिएका होइनन्। तर मैले आँट गरिनँ। एक त म यस्ता प्रविधिका बारेमा नौसिखारु मात्रै हुँ, इन्टरनेटमा धेरै कुरा खोज्न आउँदैन। दोस्रो, म प्रायः छोरीको टाउको काखमा राखेर सुम्सुम्याउँदै पढ्ने या लेख्ने गर्छु।

कापी, कलम र किताब हातमा लिए जस्तो ल्यापटप समाउन सजिलो छैन। छोरीलाई चित्त बुझेन भने, मेरो हातको स्पर्श कम भयो या उसलाई मैले ध्यान दिइनँ भन्ने लाग्यो भने मेरो हातमा केही रहन पाउँदैन– उसले सके तानेर, नसके धकेलेर भए पनि त्यो सामान हुत्याइदिने डर हुन्छ। त्यसैले मैले कापी कलम नै प्रयोग गर्ने गर्छु। किताब पनि इन्टरनेटमा होइन, छापिएको किताब नै पढ्ने गर्छु ।

जीवनमा कसैको कुभलो र जालझेलको खेती नगरौँ, आफ्नै बाटो हिँडौँ। होसियार बनौँ, आफ्ना हल्लिएका हातले अरु मान्छेलाई धक्का नलागोस्। मेरो एउटा बोलीले अरुलाई सकारात्मक सोच्न वाध्य पारोस् । कसैको इश्र्या नगरौँ। आफ्नै सत्कर्ममा रमाऔँ । एक न एक दिन कसो राम्रो नहोला!

यो समाचारले मलाइ तनावका बीचमा पनि थोरै मानसिक उर्जा दियो। प्रविधिले आविष्कार गरेका फेसबुक जस्ता माध्यमहरु आज सबैका लागि प्रिय भएका छन्। कसैलाई नयाँ खोज अनुसन्धान गर्न, कसैलाई ताजा समाचार पढ्न , सुन्न, कसैलाई जन्मदिनको शुभकामना दिन, कसैलाई गीत संगीतको आनन्द लिन, कसैलाई गाली र ताली दिन, कसैकालागि कति साथी र कति शत्रु निर्धारण गर्न र कसैका बारेमा धारणा बनाउने साधन भएका छन्।

आ–आफ्नो क्षमता, चेतना र सोच अनुसार उपयोग गर्न मिल्ने सूचना प्रविधिका यस्ता माध्यममा सायद खोज्दा नभेटिने केही छैन होला। विश्वका सारा कुरा यसैमा अटाएका छन्। यसबाट कसले के कुरा कति मात्रामा लिने भन्ने मात्रै होला। ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड वुद्धि’ जस्तै लाग्छ मलाइ।

दुई वर्ष अगाडिसम्म पनि फेसबुक जस्ता माध्यममा खासै रुचि थिएन। समय पनि थिएन। तर जब मेरो किताब ‘लालटिनको उज्यालोमा’  प्रकाशित भयो, म पनि सार्वजनिक रुपमा धेरै साथीभाइ र शुभचिन्तकहरुसँग जोडिएँ। कतिपय सम्बन्धहरु समय र परिस्थितिले पनि फरक पार्दो रहेछ। पञ्चायतकालका साथीहरु, राजनीतिक परिवेशका साथीहरु, पढ्दाका साथीहरु, विवाह, बसाइँसराइँसँगै केही छोडिँदै र कोही जोडिँदै जाँदा रहेछन्।

तर पनि ती दिनहरु सम्झनाको अविस्मरणीय तरेलीहरुमा हृदयभरि तैरिरहेको पाउँछु। कतिपयसँग त सम्बन्धको डोरी पनि चुँडिएको छ। तर जब अर्चना, यशोदा, अमृता म्याडमहरुले फेसबुक चलाउन जोड गर्नुभयो, म पनि रहरले भन्दा करले फेसबुकमा जोडिन पुगेँ । यसले केही बिछोडिएका पुराना साथीहरु र धेरै नयाँ साथीहरुसँग जोडिने अवसर मिल्यो।

भनिन्छ, धनले धन तान्छ रे। मेरो हकमा भने यो कुरा लागू भएन। मेरो लागि भने उज्यालोले नै भविष्यको उज्यालो गोरेटोको निर्धारण गरेको छ कि? मनमा यस्तै लाग्छ। उडानको उचाइ भर्नका लागि कतै हौसला दिने मान्छे चाहिँदो रहेछ। तर त्यसमा पखेटा फैलाउने प्रयाश त आफैले गर्नु पर्दो रहेछ।

हुन त उज्यालोको खोजीमा निस्कन पनि हातमा एउटा लालटिन, टर्च या राँको केही त अवश्य चाहिन्छ। मैले लालटिन समाएँ। त्यसमा धेरै आदरणीय विद्वान र अग्रजहरुले साथ दिनुभयो। पाठकहरु र शुभचिन्तकहरुले आफ्नो हृदयभरिको माया र सुझावको तेल भरिदिनु भयो। सबैको सद्भावको उर्जाले नै मेरो लालटिनमा तेल भरिएर अझ चम्किलो भएको महसुस गरेकी छु। अब मेरो किताब ई बुकमा पनि उपलव्ध हुने छ।

किताब पढ्न चाहने साथीहरुलाई यसले सजिलो बनाइदिने भयो। यो निश्चय नै खुशीको कुरा हो मेरा लागि। साथै अब मेरो कलम रोकिनु हुँदैन भन्ने बलियो आधार पनि। लाग्छ, सकारात्मक सोच नै जिउने आधार र सही मार्गदर्शन पनि हो।

जीवनमा कसैको कुभलो र जालझेलको खेती नगरौँ, आफ्नै बाटो हिँडौँ। होसियार बनौँ, आफ्ना हल्लिएका हातले अरु मान्छेलाई धक्का नलागोस्। मेरो एउटा बोलीले अरुलाई सकारात्मक सोच्न वाध्य पारोस् । कसैको इश्र्या नगरौँ। आफ्नै सत्कर्ममा रमाऔँ । एक न एक दिन कसो राम्रो नहोला!

हुन त ‘लालटिनको उज्यालोमा’ आठ महिना अगाडि नै अमेजनमा पनि गइसकेको हो। विदेशमा कतिले मलाइ चिनेर किन्छन् र कतिले नचिनेर पनि पढ्छन्, थाहा छैन।  नेपालमा भने लेखकलाई चिनेर किन्ने धेरै छन्। त्यसमा म आफू पनि पर्छु। कतिले लेखकलाई प्रत्यक्ष नचिने पनि नाम र उसको लेखन शैली हेर्छन्। मन पर्छन्, र उसका अरु पनि किताब आँखा चिम्लेर किन्छन्।

पहिले राम्रो लेखेका लेखक भनेर आँखा चिम्लेर उनका अन्य किताब पनि किन्दा म पनि धेरै पटक झुक्किएँ। तर आफूले नचिनेका या पहिलो पल्ट किताब लेखेका लेखकहरुका रचनाहरुले मेरो जीवनमा धेरै छाप छाड्न सफल भएका छन्। यसबीचमा मैले पढेका र मलाइ धेरै प्रभाव पारेका योगमाया, रणहार, उपल्लो थलो, कुमारी प्रश्नहरु, डीलको डोब, शिलान्यास जस्ता किताबहरु तपाईँहरुलाई पनि पढ्न सुझाव दिन्छु।

‘लालटिनको उज्यालोमा’  पुस्तक मेरो पहिलो प्रयाश हो। नयाँ लेखक। त्यसैले त्यसमा अनगिन्ती कमी कमजोरी होलान् । तर पनि धेरैले मलाई हौसला दिनु भयो । धेरैले राम्रो मान्नुभयो। कतिले कुरा पनि काट्नुभयो होला । यो पनि आआफ्नो सोचको कुरा हो। कति कुराहरु आफ्नो परिवेश, वर्ग या आस्थाले निर्धारण गर्ने रहेछन् । यो पनि हाम्रो यसै समाजको उपहार हो र हेर्ने नजर । मैले यसलाई सहज रुपमा लिएकी छु।

किताबका बारेमा देश र विदेश (अमेरिका र जापान) मा भएका २० वटाभन्दा बढी चर्चा परिचर्चा कार्यक्रममा पुग्दा र त्यहाँ समिक्षक एवं पाठकहरुका हौसलापूर्ण कुरा सुन्दा मलाई धेरै उत्साह मिलेको छ। ती कुनै पनि कार्यक्रम मेरो आग्रहमा गरिएका थिएनन्, विभिन्न साहित्यिक र सामाजिक संघसंस्था एवं शुभचिन्तकहरुले आफै व्यवस्थापन गरेर मलाइ बोलाउनु भएको थियो।

विभिन्न अखवा, रेडियो र टिभीहरुले पनि मलाइ बोलाउनु भयो र कुराकानी गर्नुभयो। त्यस्ता कार्यक्रमहरुमा पाएको माया म कहिल्यै बिर्सन सक्दिनँँ । धनकुटा, धरान, विजयपुर, उर्लावारी लगायतका ठाउँमा राति अबेरसम्म भएको छलफल, कृष्णनगरमा मदरसाका छात्राहरुसँग पर्दा बाहिरबाट गरेको अन्तरक्रिया र नेपालगञ्जको कार्यक्रमले मलाई गहिरो छाप छाडेको छ। अमेरिकामा विभिन्न प्रवुद्ध व्यक्तिहरुले गर्नुभएको प्रशंसाले मलाई उर्जा थपिदिएको छ।

माघको दोस्रो साताबाट यो किताब उज्यालो नेटवर्कबाट प्रत्येक मंगलबार राति अच्यूत घिमिरेको जादुमयी आवाजबाट वाचन भयो र देशका विभिन्न ११० वटा एफएम रेडियोहरुबाट प्रसारण भयो। उहाँको आवाज मैले पहिलो पल्ट कृष्ण धरावासीको ‘झोला’ कथा वाचनबाट सुनेकी हुँ। तर प्रत्यक्ष भेट भने मेरो किताबको दसौं भाग वाचनपछिको अन्तरर्वार्ताको क्रममा मात्रै भयो।

कहिल्यै नचिनेको मान्छेको पहिलो किताब पढेर अच्यूतजीले आफ्नो आवाज र मेरो किताबका धेरै स्रोताहरु बढाउनु भयो। किताब वाचन सकिए पछि अहिले धेरै पाठक र स्रोताहरुले मसँग सम्पर्क गर्नुभएको छ। फोनमा कुरा गर्नुभएको छ। अपाङ्गता भएका धेरै साथीहरुले भावुक ढंगले दुःख बाँड्नु भएको छ। धेरैले सुझाव दिनुभएको छ। अर्को किताब लेख्न हौसला दिँदै पढ्न प्रतिक्षा गरिरहेको बताउनु भएको छ। धेरै महत्वाकांक्षा नभएकी मलाई यस्ता विषय पनि प्रेरणाका विषय हुन् नि!

लकडाउनमा घरमा खुम्चिएर बसिरहेको बेला केही दिन अगाडि मैले एउटा फिलिम हेर्ने मौका पाएँ– ‘थप्पड’ । निकै राम्रो रहेछ महिला आत्मसम्मानको विषयमा । त्यसमा नायिकाले भनेको एउटा कुराले भित्रैसम्म छोयो– ‘सानो छँदा मैले विभिन्न सपना देखेकी थिएँ ।

तर मैले सम्झेसम्म कहिल्यै पनि गृहिणी बन्ने सपना देखेकी थिएँ जस्तो लाग्दैन ।’ त्यस्तै उनले घर छाडेर जाने बेला सासूलाई भनेको कुरा पनि मन छुने खालको छ– तपाइँहरुले आजसम्म निकै माया गर्नुभयो । तर यो माया मलाई होइन रहेछ, त्यो त छोराकी श्रीमती अर्थात् बुहारीलाई गरेको माया पो रहेछ, बल्ल थाहा पाएँ। नत्र अस्ति छोराले मलाई थप्पड हान्दा तपाइँहरुले विरोध गर्नुुहुन्थ्यो, सबैले मलाई यस्तै हो भनेर सबै कुरा सहन र त्यस घटनालाई बिर्स भनेर भन्नुहुन्थेन ।’

म पनि परिस्थितिले गृहिणी बनेर घरभित्रै खुम्चिएकी छु । म जस्ता धेरै महिलाहरु यसै गरी खुच्चिएर बस्न वाध्य हुनुभएको छ । गृहिणी हुनु न कसैको रहर हो, न गल्ती नै । गृहिणी भएर घर बस्नु भनेको केही गर्न नसक्ने लाचार भन्ने पनि होइन । घर परिवार र समाजमा उनीहरुको कुनै योगदान नै छैन भन्ने पनि होइन । एउटी महिलाले आफ्ना पखेटा चुँडाएर श्रीमान र छोराछोरीलाई फुक्काफाल उड्ने वातावरण बनाइदिएकी हुन्छे ।

एउटी आमाले आफै भोको रहेर भए पनि छोराछोरीको पेट भर्ने व्यवस्था गरेकी हुन्छिन् । दिक्क त्यतिबेला लाग्छ, जब यति दुःख गरेर परिवार धान्ने महिलाहरुको परिचय दिँदा भनिन्छ, उनी केही गर्दिनन्, घरमै बस्छिन् दिनभरि ।
मेरो किताब यही परिचय बदल्ने कोशिस हो । हेरौँ, कति सफल भइन्छ ।

ज्ञवाली ‘लालटिनको उज्यालोमा’ पुस्तककी लेखिका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *