सामाजिक विकास मन्त्रालयले माग्यो साग पदक विजेता खेलाडीको विवरण

डिसी नेपाल
१२ असार २०७७ १९:०२

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खातासहितको विवरण मागेको छ ।

कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै खेलाडीलाई नगदसहित सम्मान गर्नका लागि विवरण मागेको हो ।

हाल कोभिड–१९ को महामारीका कारणले सम्मान कार्यक्रम सञ्चालन गर्न नसकिने भएकाले उल्लेखित रकम सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिदिने र अवस्था सहज भएमा सम्मान गर्ने कार्यक्रम रहेकाले सम्बन्धित खेलाडीलाई यही असार २० गतेभित्र मन्त्रालयमा विवरणसहित निवेदन पेस गर्न हुन अनुरोध गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयको सूचनामा खेलाडीको नाममा रहेको बैंकको नाम ठेगाना र खाता नम्बर, नागरिकता प्रमाणपत्रको प्रतिलिपि सो नभएमा खेलाडीको हकमा स्थानीय तहबाट स्थायी बसोबासको व्यहोरा उल्लेख भएको सिफारिस पत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ता प्रमाणपत्र, पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि र खेलाडीको सम्पर्क नम्बर र ठेगानासहितको विवरण मन्त्रालयले माग गरेको छ ।

विसं २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको साग प्रतियोगितामा पदक विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारको पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *