मारिन सक्ने डरले देश छाडेर भागेकी चीनकी भाइरस विशेषज्ञको चीनमाथि गम्भीर आरोप

काठमाडौं। चीनकी एक भाइरस विशेषज्ञले चीनले कोरोनाभाइरससम्बन्धी सूचना लुकाएको खुलासा गरेकी छिन् । उनका अनुसार चीनले जहिले कोरोनाभाइरसबारे विश्वलाई बतायो त्योभन्दा धेरै पहिले नै चीनलाई यसबारे थाहा थियो । भाइरोलोजिस्ट डा. ली मेंग यानका अनुसार उनका सुपरभाइजरले उनको रिसर्चलाई पनि बेवास्ता गरेका थिए जुन रिसर्चले मानिसको जीवन बचाउन सघाउन सक्थ्यो ।

अमेरिकाको फक्स न्यूजलाई दिएको अन्तरवार्तामा भाइरोलोजिस्ट डा. यानले यस्तो खुलासा गरेकी हुन् । उनी गएको अप्रिल महिनाको अन्त्यमा हङकङबाट भागेर अमेरिका गएकी थिइन् । उनी हङकङ स्कुल अफ पब्लिक हेल्थमा भाइरोलोजी र इम्युनोलोजीकी विशेषज्ञ थिइन् । लीका अनुसार क्याम्पसबाट निस्कने क्रममा उनले धेरै सावधानी अपनाएकी थिइन् ताकि क्यामेरा र सेन्सरबाट बच्न सकुन् किनकि उनी समातिएको खण्डमा उनलाई जेलमा हाल्न सकिन्थ्यो वा उनलाई ‘गायब’ पारिदिन सकिन्थ्यो ।

अन्तरवार्तामा ली मेंगले चीन सरकार अहिले पनि आफ्नो प्रतिष्ठा समाप्त पार्न लागिपरेको र उनलाई चुप गराउनको लागि साइबर आक्रमण भइरहेको बताइन् । अहिले उनी अज्ञात स्थानमा छिन् । लीले आफूलाई आफ्नो जीवन खतरामा भएको महसुस भइरहेको बताउँदै आफू कहिल्यै घर फर्किन पाउँदिन जस्तो लागिरहेको बताइन् । उनले आफूसँग भएको कोरोनाभाइरस सम्बन्धी जानकारी चीनमा बताएको भए आफूलाई गायब पारेर मारिने बताइन् ।

लीका अनुसार उनी विश्वका ती सीमित वैज्ञानिकहरुमध्येकी एक थिइन् जसले सबैभन्दा पहिले कोरोनाभाइरसबारे अध्ययन गरेका थिए । उनका अनुसार डिसेम्बर २०१९ मा चीनले हङकङका विशेषज्ञलाई पनि कोरोनाभाइरसबारे अनुसन्धान गर्न रोक लगाएको थियो । हङकङले आफूलाई छुट्टै देश भएको दावी गर्दै आए पनि चीनले यसलाई मान्यता दिएको छैन र चीनले हङकङलाई आफ्नै देशभित्रको र आफ्नै अधीनको क्षेत्र मान्छ । लीका अनुसार चीनले अनुसन्धानमा रोक लगाएपछि उनले आफ्ना परिचित विशेषज्ञहरुबाट कोरोनाभाइरसबारे जानकारी जुटाएकी थिइन् ।

चीनमै हुर्किएकी र त्यहीँ अध्ययन गरेकी लीलाई चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका वैज्ञानिकले ३१ डिसेम्बर २०१९ मै कोरोना मानिसबाट मानिसमा फैलिने बताएका थिए । तर, त्यतिबेला चीनले विश्व स्वास्थ्य संगठन र बाँकी विश्वलाई यसबारे जानकारी दिएको थिएन । चीनले यो जानकारी जनवरीको मध्यतिर मात्र दिएको थियो । लीका अनुसार कोरोनाका केसहरु थपिन थालेपछि चीनका डाक्टरहरुले आफूहरुले यसबारे कुरा गर्न नसक्ने र आफूहरुले मास्क लगाउनुपर्ने बताएका थिए ।

लीका अनुसार ठूलो संख्यामा बिरामीहरुको समयमा जाँच गरिएन र समयमा उपचार पनि गरिएन । डाक्टरहरु डराइरहेका थिए र यस विषयमा कुरा गर्न सक्दैनथे । लीका अनुसार उनका सुपरभाइजरले उनलाई पनि चुप रहन भनेका थिए । उनलाई गायब पारिदिने धम्कीसमेत आएको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो