कोरोना भ्याक्सिन विकासमा अक्सफोर्ड सफलता नजिकै, १० करोड डोज सुरक्षित भइसक्यो

डिसी नेपाल
६ साउन २०७७ ९:१२

काठमाडौं। बेलायतको अक्सफोर्ड विश्वविद्यालय कोरोना भ्याक्सिन विकासमा सफलता नजिकै पुगेको देखिएको छ । अक्सफोर्डको भ्याक्सिन ट्रायलमा सुरक्षित र प्रतिरोधी क्षमता बलियो बनाउन सफल प्रमाणित भएको छ । यसका नतिजा निकै उत्साहजनक देखिएका छन् । परीक्षणमा करिब १ हजार ७७ जनालाई सहभागी गराइएको थियो जसमा सहभागी स्वयंसेवकहरुमा कोरोनाभाइरससँग लड्न सक्षम एन्टिबडी र ह्वाइट ब्लड सेल विकसित भएका छन् । अब यसको ठूलो परिमाणमा ट्रायल हुँदैछ ।

बीबीसीका अनुसार बेलायतले पहिले नै यो भ्याक्सिनको १० करोड डोज सुरक्षित गरिसकेको छ । यो भ्याक्सिन हाम्रो छिमेकी देश भारतमा पनि उत्पादन भइरहेको छ । पुणेस्थित सिरम इन्स्टिच्युट अफ इण्डियालाई अक्सफोर्डले विकास गरेको भ्याक्सिन उत्पादन गर्ने जिम्मा दिइएको छ । कोरोना भ्याक्सिन विकासमा अहिलेसम्म अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका सबैभन्दा अगाडि छन् । विश्वका कैयौं भ्याक्सिनहरु उन्नत चरणमा पुग्न लाग्दा अक्सफोर्डको यो भ्याक्सिन भने पहिल्यै उन्नत चरणमा छ । यदि उन्नत परीक्षणमा पनि सबै ठिक भएमा यो भ्याक्सिन सेप्टेम्बरसम्म बजारमा आउन सक्छ ।

अक्सफोर्डकी प्रोफेसर सारा गिल्बर्टले यो भ्याक्सिन बनाउन मुख्य भूमिका निभाएकी छिन् । यो भ्याक्सिनको तेस्रो र निर्णायक चरणको ट्रायलको नेतृत्व पनि साराले नै गरिरहेकी छिन् । यो भ्याक्सिन कोरोनाभाइरसबाट बचाउन ८० प्रतिशतसम्म प्रभावकारी भएको त साराले ट्रायल सुरु नहुँदै घोषणा गरिसकेकी थिइन् । साराले यो भ्याक्नि सेप्टेम्बरसम्म आउने र अब आउने जाडो मौसममा मानिसहरुले कोरोनाको मार झेल्नु नपर्ने बताएकी छिन् ।

अब यो भ्याक्सिनको निर्णायक ट्रायल १० हजार जनामा पूरा हुन लागेको छ । भ्याक्सिन टास्क फोर्सकी अध्यक्ष केट बिंघमका अनुसार यो भ्याक्सिन विश्वमै सबैभन्दा अगाडि छ र यो कुनै पनि अर्को भ्याक्सिनभन्दा उन्नत छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *