अमेरिकाले १० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गर्‍यो, रुसका धनाढ्यले भ्याक्सिन लगाइसके

डिसी नेपाल
८ साउन २०७७ ११:२७

काठमाडौं। अमेरिकाले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको १० करोड डोज खरिदको लागि सम्झौता गरेको छ । उसले जर्मनीको भ्याक्सिन उत्पादक कम्पनी बायोएनटेकसँग १० करोड डोज भ्याक्सिन खरिदको सम्झौता गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सम्झौता झण्डै २ अर्ब डलरमा भएको हो ।

अमेरिकी कम्पनी फाइजरसँग मिलेर भ्याक्सिन विकास गरिरहेको बायोएनटेकले बुधबार एक वक्तव्य जारी गर्दै ट्रम्प प्रशासनको प्रतिबद्धता अनुसार अमेरिकी नागरिकले निःशुल्क भ्याक्सिन पाउने जनाएको छ । नियामक निकायले स्वीकृति दिएपछि अमेरिकालाई भ्याक्सिन उपलब्ध गराउने गरी अमेरिका सरकारले बायोएनटेकलाई १० करोड डोज भ्याक्सिनको प्रारम्भिक अर्डर दिएको हो । सम्झौताअनुसार अमेरिकासँग थप ५ करोड डोज खरिद गर्न सक्ने विकल्प समेत भएको बाटोएनटेकले वक्तव्यमा जनाएको छ ।

उता रुसका धनाढ्यहरु र राजनैतिक रुपमा शक्तिशाली व्यक्तिहरुले यसअघि नै कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लिइसकेको दावी गरिएको छ । ब्लुमबर्गको रिपोर्टअनुसार रुसको सरकारी गेमालेया इन्स्टिच्युटले विकास गरेको प्रयोगात्मक भ्याक्सिन रुसका ठूला व्यवसायीहरु, राजनैतिक रुपमा शक्तिशाली व्यक्तिहरु र सरकारी उच्च पदस्थ अधिकारीहरुले अप्रिलमै लिइसकेका थिए । रुसले केही दिनअघि आफूले विकास गरेको भ्याक्सिन सफल भइसकेको दावी गरेको थियो । उसले आफ्नो भ्याक्सिनले सबै चरणका ट्रायल पूरा गरिसकेको सुरक्षित र प्रभावकारी रहेको दावी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *