बंगलादेशको अस्पतालको कर्तुतले इटलीमा हंगामा !

डिसी नेपाल
८ साउन २०७७ १३:२६

काठमाडौं। केही दिन पहिले बंगलादेशका अधिकारीहरुले एक अस्पतालका मालिक डाक्टरलाई पक्राउ गरे । यी डाक्टरलाई पक्राउ गर्नुको पछाडि अधिकारीहरुसँग बलियो प्रमाण पनि थिए । मोहम्मद शहीद नामका यी डाक्टरमाथि नक्कली कोरोनाभाइरस परीक्षण प्रमाणपत्र बेचेको आरोप थियो । उनले हजारौं कामदारहरुलाई कोरोनाभाइरस परीक्षणपछि नेगेटिभ नतिजा आएको प्रमाण पत्र बेचेका थिए । विदेश काम गर्न जाने ती कामदारलाई प्रमाण पत्र बेचिए पनि ती कामदारको परीक्षण नै गरिएको थिएन । कैयौंको त नमूनासमेत लिइएको थिएन ।

न्यूयोर्क टाइम्सका अनुसार अस्पतालले यी प्रमाणपत्र मात्रै ५ हजार टाका (५९ डलर) मा श्रमिकहरुलाई बेचिएको थियो । बंगलादेशमा निकै गरिबी छ । यसकारण यहाँका नागरिकहरु हजारौंको संख्यामा विदेशमा काम गर्न जान्छन् । त्यहाँ उनीहरु होटल, रेष्टुरेण्ट, मल, ग्रोसरी लगायतमा काम गर्छन् । कोरोनाभाइरस फैलिन थालेपछि यी कामदारहरु विदेशबाट फर्किएका थिए । अब उनीहरु कामको लागि पुनः विदेश जान चाहन्छन् जसको लागि उनीहरुलाई कोरोना संक्रमित नभएको मेडिकल रिपोर्ट आवश्यक पर्छ । यही रिपोर्ट बंगलादेशको अस्पतालले बेचेको थियो ।

कैयौं बंगलादेशीहरु पछिल्ला केही दिनमा नेगेटिभ रिपोर्ट लिएर इटली पुगे । त्यहाँ उनीहरुको पुनः परीक्षण गर्दा उनीहरु पोजेटिभ पाइए । त्यपछि बंगलादेशका अस्पतालले जारी गरेका प्रमाणपत्रहरुमाथि प्रश्न उठ्यो । एक हप्तापछि जति बंगलादेशी इटली र अन्य देश पुगेका थिए त्यहाँ जाँच गर्दा उनीहरु सबै पोजेटिभ पाइए । त्यसपछि इटली सरकारले बंगलादेशबाट आउने सबै उडानमा प्रतिबन्ध लगायो । जो इटली पुगिसकेका उनीहरुलाई पनि सोही उडानमा फिर्ता पठाइयो । एक उडानमा १६८ बंगलादेशी इटली पुगेका थिए, उनीहरु सबैलाई फिर्ता पठाइयो ।

इटली सरकारले बंगलादेश सरकारलाई त्यहाँबाट जारी भएका प्रमाणपत्र नक्कली भएको भन्दै जानकारी गरायो र यसको प्रमाण पनि बंगलादेश सरकारलाई उपलब्ध गरायो । त्यसपछि बंगलादेशका अधिकारीहरुले प्रमाणपत्र जारी गर्ने अस्पतालको जाँच गरेका थिए । अधिकारी जाँचका लागि अस्पताल जाँदा अस्पतालका मालिक शाहिदले पहिले नै जानकारी पाएर फरार भएका थिए । उनलाई ९ दिनपछि सीमा क्षेत्रबाट पक्राउ गरियो । बंगलादेशी अधिकारीहरुका अनुसार शादिले संचालन गरेको रिजेन्ट अस्पतालबाट १० हजारभन्दा धेरै प्रमाणपत्र जारी भएका थिए र तीमध्ये अधिकांश फर्जी थिए । नक्कली प्रमाणपत्र बेचेको आरोपमा ढाकास्थित उनीहरुको प्रयोगशालाबाट अन्य २ डाक्टरलाई पनि पक्राउ गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *