नेपाली श्रमिक लिन सीमासम्म आए भारतीय व्यापारी, मानव तस्करीको जोखिम : प्रजिअ

डिसी नेपाल
८ साउन २०७७ २१:४२

काठमाडौं। कोरोना महाकारीका कारण नेपाल अन्तर्राष्ट्रिय सीमा बन्द गरेपछि नेपाली श्रमिकहरु भारत जान पाएका छैनन्। यो स्याउको सिजनमा नेपाली श्रमिक भारत जान नपाएपछि भारतको हिमाचल प्रदेशस्थित बगैंचामा स्याउ श्रमिकको अभाव भएको छ।

केही दिनअगाडि बीबीसी हिन्दीले प्रकाशित गरेको एक समाचारअनुसार हिमाचल प्रदेशका स्याउ बगैंचामा नेपाली श्रमिक अभाव भएपछि बगैंचा मालिकहरु तनावमा परेका छन्। उनीहरुले नेपाली श्रमिक लैजानका लागि भारत सरकारले नेपाल सरकारसँग कुरा गर्नुपर्नेसमेत बताएको बीबीसी हिन्दीले उल्लेख गरेको थियो।

तर पछिल्ला दिनहरुमा नेपाल र भारतबीच सम्बनध सुमधुर नरहेकाले भारतले नेपालसँग वार्ता गर्न आनाकानी गरिरहेको छ। सरकारले श्रमिकाका लागि नेपालसँग वार्ता नगर्ने देखेपछि आत्तिएका बगैंचा मालिकहरुले आफ्नै पहलमा नेपाली श्रमिक लैजाने प्रयास थालेका छन्।

बीबीसी नेपाली सेवाले प्रकाशित गरेको एक समाचारअनुसार भारतीय व्यापारीहरु नेपाली श्रमिकलाई लैजान सवारी साधान ल्याएर नेपालको सीमासम्म आउने गरेका छन्।

भारतको हिमाचलमा जाने नेपाली श्रमिकहरु मुख्य दुई नाका नेपालगञ्ज–रुपैडिया र टनकपुर–बनबासा हुँदै जाने गर्छन्। तर, यो पटक सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेका कारण नेपालीहरु त्यसतर्फ जान पाएका छैनन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हाल नेपालगञ्ज हुँदै कोही पनि भारत नगएको बताए।

उनले डिसी नेपालसँग फोनमा भने, ‘अहिले कामका लागि यहाँबाट कोही पनि भारत गएको छैन। हामीले पहिला पहिला आधार कार्ड भएको आधारमा केही मानिसलाई व्यवहारिक रुपमा जान दिएका हौं। तर, मानव तस्करीको सम्भावना देखेपछि हामीले यसलाई रोकेका छौं। केही मानिसहरु भारत जानका लागि पासको माग गर्दै आइरहेका छन्।’ उनका अनसार लकडाउन अवधिभर ३० देखि ४० जना नेपाली भारत गएका छन्।

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने कञ्चनपुर हुँदै कोही पनि नेपाली भारत नगएको बताए। तर, भारत जानका लागि पास माग्न भने आउने गरेको उनले बताए। उनले भने, ‘भारत जान पाउँ भन्दै केही मानिसहरु आइरहनु भएको छ। तर, हामीले अहिले जान दिएका छैनौं। दुईदेशको कुरा भएकाले च्यानल मिलाएर आउनु भयो भने जान दिन्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *