कोरोना जितेर अस्पतालबाट फर्किंदा घर रित्तै ! परिवारका सबैलाई कोरोनाले खाइसकेको थियो

डिसी नेपाल
९ साउन २०७७ ८:३७

काठमाडौं। कोरोनाभाइरसको महामारीका क्रममा कैयौं संक्रमितले यो भाइरसलाई जितेका छन् भने कैयौंले आफन्त गुमाएका छन् । पछिल्लो समय भारतको ओडिशा राज्यको गंगम जिल्लामा भने एक महिलाले कोरोनाभाइरससँग युद्ध जितेर पनि खुसी हुन सकिनन् । किनकि उनी भाइरस संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किंदा घर रित्तै थियो । उनको परिवारका सबै सदस्यलाई कोरोनाभाइरसले खाइसकेको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार ओडिशाको गंजम जिल्ला अस्पतालमा उपचार गराएर ठिक भएपछि ती महिला घर फर्केकी थिइन् तर घर आएर उनलाई कुनै खुसी भएन । घर फर्किँदासम्म उनलाई कोरोनाले आफ्ना परिवारका सदस्यलाई खाइसकेको उनलाई थाहा थिएन । घर आएपछि उनले आफ्ना पति जितेन्द्रले कोरोना संक्रमणका कारण २० जुलाइमा बरहामपुरको कोभिड अस्पतालमा प्राण त्यागेको थाहा पाइन् । यसको केही दिनअघि उनका ससुरा कृष्ण चन्द्र पात्रा र सासु जानकी पात्राको पनि कोरोना संक्रमणकै कारण अस्पतालमा मृत्यु भएको थियो ।

उनका एक साथीका अनुसार जितेन्द्र, उनका माता–पिता र पत्नीले ९ जुलाइमा एक प्राथमिक विद्यालयमा संचालित शिविरमा कोरोना टेस्ट गराएका थिए । भोलिपल्ट सबै जनाको रिपोर्ट पोजेटिभ आयो । उनीहरु चारै जनालाई कोभिड अस्पतालमा भर्ना गरियो । १५ जुलाइमा जितेन्द्रकी आमाको मृत्यु भयो । १८ जुलाइमा पिता कृष्ण चन्द्र र २० जुलाइमा जितेन्द्रको मृत्यु भयो । ओडिशाका सबै ३० जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार ३६२ पुगेको छ र ६२ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *