रुसको भ्याक्सिन विदेशमा बेच्ने प्रक्रिया सुरु, कसले पहिले पाउँछ र नेपालले कहिले पाउँछ ?

काठमाडौं। रुसले आफूले विकसित गरेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन विदेशमा बेच्ने प्रक्रिया पनि सुरु गरिसकेको छ । भ्याक्सिन विकासमा एकपछि अर्को फड्को मार्दै गएको रुसले यही अगष्ट महिनाको १० तारिखसम्म मुख्य भ्याक्सिनलाई प्रयोगको लागि इजाजत दिने र विदेश निर्यातको लागि सम्झौता गर्ने तयारी गरिरहेको बेलायती मिडिया द गार्डियनले लेखेको छ । यससँगै रुसले अक्टोबरदेखि देशमा ‘मास भ्याक्सिनेसन’ सुरु गर्ने तयारी गरेको छ ।

रिपोर्टअनुसार रुसले सुरुमा यो भ्याक्नि निर्यातको लागि भारत, ब्राजिल र साउदी अरेबियासँग डील गर्ने भएको छ । यी देशहरुले रुसको भ्याक्सिन किन्न चासो देखाएको रुसी अधिकारीहरुले बताएका छन् । रुसले अर्को महिना अर्थात सेप्टेम्बरमा भ्याक्सिन उत्पादन सुरु गर्ने र अक्टोबरदेखि मास भ्याक्सिनेसन सुरु गर्ने जनाएको छ । रुसको भ्याक्सिनको खास विशेषता के हो भने यो भ्याक्सिनको ट्रायलमा विकासकर्ताहरु स्वयंले पनि यो भ्याक्सिन लगाएका थिए । साथमा उच्च पदस्थ स्वास्थ्य अधिकारीहरुले पनि भ्याक्सिन लगाएका थिए ।

रुसको भ्याक्सिन विदेश निर्यात गर्ने तयारी भए पनि नेपालले कहिले पाउँछ भन्ने प्रस्ट छैन । भारतले रुसससँग सम्भावित सम्झौता गरेको अवस्थामा नेपालले पनि छिटै भ्याक्सिन पाउने सम्भावना हुन्छ । तर, भारतले कति परिमाणमा भ्याक्सिन आयात गर्छ र उसले आफ्नो देशमा भ्याक्सिनेसन नसकिँदै निर्यात गर्छ वा गर्दैन भन्ने कुरामा नेपालले भ्याक्सिन पाउने विषय निर्भर रहनेछ ।

यदि भारतले रुसमा उत्पादित तयारी भ्याक्सिन आयात गरेको अवस्थामा नेपालमा यो भ्याक्सिन छिटै आउन कठिन हुन्छ र यदि आइहालेमा पनि महंगो पर्न जाने सम्भावना रहन्छ । तर, भारतले रुससँग फर्मुला किनेर भारतमै भ्याक्सिन उत्पादन गरेको अवस्थामा नेपालमा भ्याक्सिन आउन तुलनात्मक अवस्थामा सहज हुन्छ । यसबाहेक भारतले तयारी भ्याक्सिन आयात गरेको अवस्थामा नेपालले सिधै रुसबाट भ्याक्सिन आयात गर्नुपर्ने स्थिति पनि हुन सक्छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो