बेलायतको समुद्रमा फसेका नेपालीको फिल्मी शैलीमा उद्धार, पढ्नुहोस् उद्धारको फिल्मी कथा

डिसी नेपाल
६ भदौ २०७७ १४:५५

काठमाडौं। बेलायतमा समुद्रको छालमा फसेका एक नेपालीको समुद्र किनार घुम्न गएका पर्यटकहरुले निकै कठिन परिश्रम गरेर उद्धार गरेका छन् । उनको उद्धारको कथा कुनै फिल्मको भन्दा कम छैन । इङल्याण्डको जुरासिक कोस्टमा रहेको डर्डल डोरमा एक नेपाली समुद्रको छालमा फसेका थिए । उनलाई त्यहाँ समुद्र किनारमा रमाइलो गर्न गएका पर्यटकहरुले मानव साङलो बनाएर उद्धार गरेका थिए । बेलायती अखबार डेलीमेलले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै छालमा फसेका व्यक्ति नेपाली भएको भनेको छ तर उनको पहिचान खुलाइएको छैन ।

डर्डल डोरमा समुद्र किनारको डोरसेट ल्याण्डमार्क नजिकै ती युवा पौडी खेलिरहेका थिए । अचानक त्यहाँ समुद्रको छाल आयो र उनले संघर्ष गर्न थाले । उनी पौडिएर बाहिर आउन प्रयास गरे तर छालले उनलाई झनै समुद्रतिर धकेलीरहेको थियो । २० माइल प्रतिघण्टाको गतिमा आएको तुफानले उनलाई बाहिर आउन दिइरहेको थिएन । छालहरुले उनलाई टाउकोमाथिबाट नाघिरहेका थिए । अन्ततः छालसंग संघर्ष गर्न नसकेपछि उनले सहयोगको लागि चिच्याउन थोका थिए ।

उनले सहयोग मागेपछि समुद्र किनारमा घुम्न गएका करिब ३० जना पर्यटक समुद्रतिर दौडिए र एक अर्काको हात समाएर मानवसाङलो बनाए । उनीहरु एक अर्काको हात समाएर ती युवाको नजिकै पुगेपछि बडीबोर्ड र लाइफगार्ड डोरी फ्याँकेर उनको उद्धार गर्ने प्रयास गरे । उद्धारकै क्रममा अर्का एक युवाले उनको झनै नजिक जाने प्रयास गरे तर उनी आफैं समुद्रको छालमा फसे । उद्धार गर्न गएका युवासमेत छालमा फसेपछि करिब २ मिनेटको संघर्षपछि अन्ततः मानवसाङलोले दुवैलाई सुरक्षित बाहिर तान्न सफल भयो ।

प्रत्यक्षदर्शी एमिली फूटेका अनुसार उनी बिहान ९ बजे समुद्र किनार पुग्दा ती युवा समुद्रमा पौडी खेलिरहेका थिए । उनी त्यहाँ पानीमा खेलिरहेका थिए । मध्य दिउँसोतिर हावाको बहाव तीब्र भयो र समुद्रमा छाल उठ्न थालेपछि उनी त्यहाँ फसेर छालसँग संघर्ष गर्न थाले । उनी बाहिर निस्कनै लागेका थिए तर अचानक छालले उनलाई उछिन्यो र उनी बाहिर निस्कन सकेनन् । संघर्ष गर्दा नसकेपछि अन्ततः उनले सहयोगका लागि बाहिर बसेका मानिसहरुलाई गुहारेका थिए ।

‘बाहिर रहेका मानिसहरुले तत्काल मानव साङलो बनाए तर उनीहरुलाई पनि छालले हानिरहेको थियो’ उनले भनिन् ‘एक समय त मलाई लाग्यो हामीले समुद्रमा एउटा होइन १० जनाले ज्यान गुमाउनेछौं ।’ उद्धार गर्न गएकाहरुले ती युवातर्फ विभिन्न वस्तुहरु फलिरहेको भए पनि उनले समाउन नपाउँदै छालले हुत्याइदिएको उनले बताइन् । यही बीचमा अर्का एक युवा उद्धारको लागि उनीतिरै जाँदा आफैं छालमा फसेको उनले बताइन् ।

अर्का प्रत्यक्षदर्शी जिनेट वारेनले भने ‘सुरुमा केही समय उनी आत्मविश्वासपूर्व पौडिइरहेका थिए तर केही समयपछि एउटा ठूलो छाल आयो र उनलाई हुत्याइदियो ।’ ती दुवैलाई उद्धार गरेर बाहिर ल्याएपछि त्यहाँ सुनिएको खुसीको स्वरले राहत दिएको उनले बताए । अर्का प्रत्यक्षदर्शीले नाम नबताएरै डेलीमेलसँग भने ‘त्यो दृश्य निकै डरलाग्दो थियो र मैले इमरजेन्सीसहित धेरैलाई फोन गरें ।’ उनी करिब २० मिनेटसम्म त्यहाँ फसेको उनले बताए ।

‘म निश्चित छु ती युवा नेपाली थिए र मैले थाहा पाएअनुसार उनी आफ्नो परिवारसँग थिए’ उनले भने ‘पारामेडिकहरुलाई त्यहाँ आइपुग्न करिब ३० मिनेट लाग्यो । नियमित जाँचपछि उनीहरु साथमै गए ।’ ती युवा हिँडेरै गएकोले उनी ठिक रहेको आफूलाई लागेको उनले बताए । यो घटनापछि त्यहाँका कोस्टगार्डले यस क्षेत्रमा सुरक्षा चेतावनी जारी गरेका छन् । पछिला वर्षहरुमा त्यहाँ केही मृत्यु भएकोले त्यस क्षेत्रमा पौडी नखेल्न आग्रह गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *