चिनियाँ भूमिमा हराएका ‘पाँच भारतीय नागरिक मुक्त’

डिसी नेपाल
२८ भदौ २०७७ १२:१९

बीबीसी। हिमाली क्षेत्रमा सीमारेखा नाघेर चीनतर्फ पुगेपछि कब्जामा लिएको ठानिएका पाँच भारतीय नागरिकलाई छाडिएको भारतको रक्षा मन्त्रालयले जनाएको छ।

चीनसँगको सीमावर्ती राज्य अरुणाचलका ती युवाहरू यसै महिनाको सुरुदेखि बेपत्ता थिए। भारतले ती मानिसहरू सिकारी भएको र उनीहरू झुक्किएर चिनियाँ भूमिमा प्रवेश गरेको जनाएको छ। तर उनीहरू मुक्त भएको विषय चीनले पुष्टि गरेको छैन।

शनिवार एउटा विज्ञप्ति जारी गर्दै भारतीय सेनाका एक प्रवक्ताले अरुणाचल प्रदेशका पाँच युवकहरू ‘सिकार गर्दैगर्दा थाहै नपाईकन सीमापारि पुगेको’ जनाएका थिए।

ती प्रवक्ताका अनुसार दुई देशबीचको लामो र सङ्केतरहित सीमा भएकाले त्यसो हुनु असामान्य घटना होइन। चीनको कुनै औपचारिक भनाइ नआए पनि त्यहाँको सरकारी मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले एक गोप्य सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त समूह ‘सिकारीको भेषमा रहेका जासुसहरू’भएको दाबी गरेको थियो।

उक्त स्रोतका अनुसार ती पुरुषहरूले नियोजित रूपमा सीमा पार गरेका कारण चिनियाँ सेनाले उनीहरूलाई ‘नियन्त्रणमा लिएर सचेत र शिक्षित गराइएको’ उल्लेख छ।

उक्त समूह चिनियाँ नियन्त्रणमा परेको समाचारसँगै गत साताको सुरुमा भारतीय सेनाले एउटा सैन्य हटलाइन सेवा सुरु गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन त्यसबेला उक्त घटनाको कुनै विवरण दिएनन्। तर उनले ‘कथित अरुणाचल प्रदेशलाई आफूहरूले कहिल्यै मान्यता नदिएको र त्यो दक्षिणी तिब्बतमा पर्ने’ बताए।

जुन महिनामा विवादित लद्दाखको सीमामा झडप हुँदा कम्तीमा २० भारतीय सैनिकहरूको ज्यान गएको थियो। चीनतर्फ पनि कति जना हताहत भए भन्ने विषयमा बेइजिङले कुनै प्रतिक्रिया दिएको छैन।

त्यसयता गत साता भारत र चीनका विदेशमन्त्रीहरूले वार्ता गर्दै साझा सीमामा तनाव घटाउने सहमति गरेका थिए। दुवै देशले लद्दाखमा बारम्बार एकअर्कालाई सीमारेखा उल्लङ्घन गरेर झडप सुरु गरेको आरोप लगाउने गरेका छन्। हिमाली भेगको उक्त भूभागमा जटिल भूबनोटका कारण सीमारेखा निकै अस्पष्ट छ। दुई देशबीच सैन्य र कूटनैतिक तहमा कैयौँ वार्ताहरू भए पनि आणविकशक्तिसम्पन्न यी छिमेकीहरूले अहिलेसम्म आफ्नो सीमा विवाद समाधान गर्न सकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *