निबन्ध: आदिम सन्दर्भ

डिसी नेपाल
१० असोज २०७७ ७:४५

प्रिय संवेदन !

आज मृत्युलाई स्पर्श गरेर फर्केको ‘जीवन’ नामको विशेष घटनामा मेरो आदिवासी मनको आज्ञानुसार एक रोमाञ्चकारी कथा वाचन गरिरहेछु—

एउटा स्वप्नदेश थियो; जहाँ तिमी थियौ, म थिएँ र हाम्रो आदिवासी मन थियो, सप्रसङ्ग–अप्रसङ्ग हाम्रा आदिम प्यासहरू थिए, आदिम सम्बन्धहरू थिए, आदिम प्रियताहरू थिए, आदिम उमङ्ग र आँसुहरू थिए या भनौँ जम्मामा आदिम स्वप्नहरू थिए । बिहानी शीतको प्रज्ज्वलित सौन्दर्यजस्तो या भनौँ शिरीषका प्रेमिल फूलझैं निलाम्मे प्रीत फुलेजस्तो त्यस शालीन प्रदेशमा वासन्ती सौन्दर्य ढकमक्क फुल्थे । बिहानीका मृदुल शुभसन्देशजस्ता पाहुनाहरू सकुशल आउने–जाने गर्थे । साँझको घाम पनि मृत्यु–सौन्दर्यको लालिमा छर्दै जिन्दगीको अर्थपूर्ण महिमागानसँगै क्षितिजपारि डुब्थे । आदिम सौन्दर्यको पनि श्रीविन्दीजस्तो गाउँघरको साप्ताहिक हाटबजारमा प्रेम, सद्भाव र समर्पणका कवितावाचन गरिन्थे । सुन्दरतम गीतगजलको मोहक रौनकमा सारा मनहरू झुम्थे । वनजङ्गलका हरेक रूखपातहरू चराचरसँगै लोकभाका सुसेल्थे । धर्म, दर्शन, इतिहास, राजनीति, अर्थनीति, शिक्षानीति, कुटनीति, संविधान, कानुन सारा अहङ्कारले प्रेम कुल्चेर हिँड्ने केवल महत्त्वाकाङ्क्षी वादशाहका दुःस्वप्नझै बडो हाँस्यास्पद लाग्थे । ढुङ्गेधारामा मानिसहरू प्रेमले उत्सुक आँखा जुधाउँथे । आदिम नीला दहहरूमा प्रेमको सम्भ्रान्त पहेलीभैmँ गन्धर्वहरू मस्त जलक्रिडा गर्थे । गुफा र ओडारहरूमा आँखाभरि जूनतारा भित्र्याएर अहम्को आवरणहीन प्रकृति र पुरुष एकाकार हुन्थे, सङ्गीतबद्ध हुन्थे र जन्माउँथे जीवनका नाममा अहङ्कारहीन भविष्य !

त्यस देशमा हरेकका आँखामा कृष्ण र रुसो एकसाथ गाई चराएका प्रमाणहरू अङ्कित थिए । रुसो प्रकृतिमा अनूदित हुँदा कृष्ण औधी रमाउँथे । कृष्णले बजाएको बाँसुरीको धुनमा प्रकृतिको आँचल नृत्यमग्न भई लहराउँथे । त्यहाँका पहाड, चरा, पुतली, झरना र नदीहरूलाई कृष्णको त्यो बाँसुरीय धुन कण्ठस्थ थियो । कहिलेकाहीँ बाटो भुलेरै पनि कोलम्बसको आत्माले प्रवेश गरेको तथ्यसमेत हामीसित थियो । फ्रायड मनोविश्लेषण गर्नुभन्दा आत्मविश्लेषणमा रमाउँथे । आमा, दिदी, बहिनी र पत्नीलाई समेत ससम्मान प्रेम गर्थे र बाबु, दाजु, भाइ सारालाई आलिङ्गन गर्थे । कार्ल माक्स सिद्धान्तलाई कम्पोष्ट मल बनाएर बारीभरि छर्थे र त्यही बारीमा उनी डल्ला फोरिरहेका हुन्थे । कहिले लहराइरहेको बालीसँगै जलतरङ्गजस्तो बयली खेलिरहेका हुन्थे । कहिले मजदुरको मैलो झोला बोकेर जङ्गलतिर पस्थे र झोलाभरिभरि काफल, चुथ्रो, ऐँसेलु, कन्दमूल अनि जङ्गली फूलहरू बोकी गोधूलि साँझमा घर फर्कन्थे । त्यस देशमा नित्से ईश्वरमृत्युको दुखद् समाचार लिएर आउँदैनथे, बरु उनी कान्छीलाई ‘प्रेम गर्छु’को सुखद् समाचार भन्न चौतारीमा पर्खी बस्थे । बुद्ध दङ्गदास भएर काखमा आफ्नो ईश्वरजस्ता अबोध नानी खेलाइरहेका हुन्थे । सिङ्गो रामायणभरि छुट्टिएका लक्ष्मण र उर्मिला भरखर प्रेममा परेजस्तो सधैँसधैँ हात समाएर हिँड्थे । बुद्ध, कृष्ण, क्राइस्ट र मोहम्मदहरू त्रिपिटक, गीता, बाइबल र कुरान एकै ठाउँ साक्षी राखेर शुभकामना आदान–प्रदान गरिरहेका हुन्थे । प्लेटो र अरस्तु सधैँ अङ्कमालमा प्रकृतिको तस्बिर आँखामा राखेर हेर्थे । आतङ्कवादीहरू बमबारुद नभएर फूल लिई हिँड्थे र प्रिय अनि प्रियाहरूको निजी स्वप्नमा कोमल आतङ्क फैलाउँथे, रूख अनि ढुङ्गामा प्रेमका निशानी खोप्थे । सुकरात बाख्रा चराएर फर्कन्थे र साँझपख छिमेकीहरूसित अँगेनाको वरिपरि बसेर तारादेवी, नारायणगोपाल, अरुण र अरूणाहरू मोजार्टले सङ्गीत भरेको लोकगीत सुनाउँथे । एम एफ हुसेन, भ्यानगोग र बाङ्देलहरू आफ्नै भित्ता र आँगनहरूमा इन्द्रेणी रङ्ग भर्थे । मिना कुमारी, राखी, राजेश खन्ना र थिन्लेहरू सहरका होर्डिङ बोर्डबाट ओर्लिएर आकाङ्क्षाहरूको उत्सवमा आफ्ना वेदना र आँसुहरूलाई क्षितिज पर–पर घुम्न पठाउँथे र तीहरू इन्द्रेणीले उपहार दिएका रङ्गमय सपनाहरू बोकी आउँथे । सिल्भिया प्लाथको शताब्दीऔँ जन्मोत्सव मनाउन बादलपङ्खी घोडामा चढेर अप्सराहरू धरतीमा ओर्लन्थे । सार्त्र र सिमोन छुट्टी मनाउन कहिलेकाहीँ त्यहाँ झुल्किन्थे । निर्मल वर्मा, अमृता प्रीतम आ–आफ्नो एकान्त झ्यालमा बसेर सधैँ–सधैँ सुन्दर सूर्योदय र सूर्यास्त हेर्थे । साथमा हरपलहरू उपलक्ष्यहीन उत्सव बन्थे । देश धनधान्य र ऐश्वर्यशाली थियो र हरेकका हृदयमा प्रीतिकर ईश्वरको जन्मजात ठेगाना थियो । सभ्यता हाम्रै आदिवासी मनजस्तो जीवन्त थियो । पारिजात, देवकोटा, रमेश विकल, भैरव अर्याल र शङ्करहरू आ–आफ्ना भाकामा हामीलाई यही कथा भनिरहेका हुन्थे ।

***

यतिखेर हामी भरखर स्वप्नसिँढीबाट तिमी उभिएको धरातलमा ओर्लेका छौँ । हाम्रो आदिवासी मन, प्यास, सम्बन्ध, आँसु, वेदना र स्वयम् सुखद् स्वप्नहरू शिरीषको पूmल बारुदले भुइँभरि असरल्ल झारेझैं काँचका टुक्रासरी बाटाभरि अराजक छरिएका छन् । यात्रा रगताम्य छ ।

प्रिय संवेदन ! यतिखेर घाइते म निकै थाकेको छु । अब सम्हाल्ने जिम्मा तिमीलाई नै लगाएर तिमीबाट सुमधुर बिदा चाहन्छु र प्रकृतिको उही आदिम देशतिर फर्कन चाहन्छु; जहाँ कम्तीमा मानिसका अनगिन्ती इच्छा र आकाङ्क्षाका गगनचुम्बी कृत्यहरूले जिन्दगी किचिने छैन ।
*

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *