बलात्कारीलाई मृत्युदण्ड

डिसी नेपाल
१६ असोज २०७७ ९:२६
68
Shares

फेरि एउटी बालिकाको बलात्कार भयो। उनको स्वत्व लुटियो। अनि त्यतिमा मात्रै सीमित नभएर अपराधीले जीवन नै लिइ दियो। तीनको पीडा, आर्तनाद र चिच्याहट सुन्ने कोही भएन, थिएन– त्यो अपराधी पुरुषमा दया पलाएन।

युगौँदेखि सम्झनाहरूका ती पीडा र क्रन्दनका आवाजहरू पहाडमा, फेदीमा, सम्म मैदानमा, नदीनाला र खोँचहरूमा चित्कारका रूपमा गुञ्जिरहेका छन्। जातिपातिका नाममा गरिने विभेद र शोषणका परिणतिका रुपमा गरिबी र अभावमा रहिरहेका निमुखाहरुका बस्तीहरुमा यी क्रन्दनहरु बढी प्रकम्पित भइरहेका छन्।

‘ए पुरुष, तिमी म एक नारी तथा एक कलिलो उमेरकी बच्चीलाई चिथोरिरहेका छौ’ भन्ने भाव बोकेकी ती सानी बालिकाले बलात्कारी पुरुषको स्वरूपलाई चित्रमा उतार्न पाउँदी हुन् कस्तो स्वरूप कोर्ने थिइन् होला? कहालीलाग्दो र हेर्दै डरलाग्दो आकृतिको पुरुष, जसमा दया, माया केही छैन। आँखामा बासना छ, उसको बलमा शैतानी शक्ति छ जसले एउटा निर्दोष जीवनलाई कुल्चिदिएको छ।

त्यो पुरुष त प्रतिनिधि पात्र मात्र हो। त्यो बलात्कारीले सम्पूर्ण पुरुषहरूकै प्रतिनिधित्व गरेको छ। ‘मैले त होइन नि’ भनेर उम्किने अधिकार कसैलाई पनि छैन। ती बालिकाले कोर्ने चित्रमा सम्पूर्ण पुरुषहरूको तस्वीर लुकेको हुन्छ।

बालिका बलात्कारका सन्दर्भमा विश्वव्यापी मानवअधिकारको अवधारणामा पनि परिवर्तन हुनुपर्दछ। बलात्कारीको बाँच्न पाउने अधिकारको वकालत गर्दा बलात्कृतको स्वत्व रक्षा, एक मानव हुँ भनेर समाजमा बाँच्न पाउने अधिकारको रक्षा कसरी हुन्छ भन्नेतर्फ पनि सोच्नुपर्दछ। बाँचिरहेकाहरूको बाँच्ने हक खोस्नेलाई बचाउनुपर्दछ भन्ने तर्क कुतर्क मात्र हो।

हामी मानिस हौँ–विवेक छ, चेतना छ र बुद्धि पनि छ। तर यी शव्दहरूले हामीलाई नै व्यंग गरिरहेका छन्। एउटी चेलीको अस्तित्वमाथि, ईज्जतमाथि र अस्मितामाथि प्रहार गरेर उसको जीवनलाई रंगहीन, रूपहीन र जीवनहीन बनाएर एउटा जिउँदो लाशसरह समाजमा विचरण गर्न छाड्ने पुरुषप्रधान समाजको हिंस्रक चरित्रलाई मत्थर गर्न नसक्ने हो भने हामीले स्वयं घोषणा गरेको सर्बश्रेष्ठ प्राणीको पगरीलाई नालीमा बगाइदिए हुन्छ।

अनि घोषणा गरे हुन्छ–सभ्य हुने सम्भावना भएको तर त्यो सम्भावनाबाट धेरै पर गइसकेको सबैभन्दा निकृष्ट र घृणित प्राणी मानव हो भनेर। जबसम्म नारीको ईज्जत हुने अवस्थाको सिर्जना हुँदैन तबसम्म मानव हुँ भन्ने पनि अधिकार पनि छैन, मानव जातिलाई।

नारी स्वरूप त देख्नै नहुने, झम्टिहाल्ने प्रबृत्ति भएका पुरुषहरूले ७० बर्षकी बृद्धा पनि भनेका छैनन् ४ वर्षकी नाबालिका पनि नभनीकन उनीहरूको स्वत्व लुटिरहेका छन्।

त्यो प्रकृतिको एउटा अंग ‘योनी’ को प्रयोजन सृष्टि हो। आफै जन्मिएको अंगमाथि बलात्कार गर्नु सृष्टिको घोर अपमान हो। त्यो अंग लिएर जन्मिनु नै अपराध भयो भन्ने बोधका साथ एउटी नारीले सारा जीवन जिउनुपर्ने कस्तो बिडम्बनापूर्ण समाजको निर्माण गरेका छौँ हामीले?

बलात्कारी अपराधी हो। मेरो पक्षको बलात्कारी रहेछ, यसलाई जोगाउनु पर्यो वा अर्को पक्षको रहेछ यसलाई फसाउनु पर्यो भन्ने सोच तुच्छ र दरिद्र सोच हो। यस्तो सोच भएकाहरू राज्यका र मानवताका अपराधी हुन्।

अपराधीका संरक्षकलाई अझै बढी सजायँ दिने व्यवस्था हुनुपर्दछ र ती संरक्षकहरू सामाजिक रूपमा पनि बहिष्कृत गरिनुपर्दछ। बलात्कृतहरूको हत्या हुने, बलात्कारीहरू केहीबर्ष जेलमा बसेर फर्किने परिपाटीभन्दा पनि प्राकृतिक न्यायको सिद्धान्त अपनाउनुपर्दछ – मृत्युदण्ड नै दिनुपर्दछ।

बालिका बलात्कारका सन्दर्भमा विश्वव्यापी मानवअधिकारको अवधारणामा पनि परिवर्तन हुनुपर्दछ। बलात्कारीको बाँच्न पाउने अधिकारको वकालत गर्दा बलात्कृतको स्वत्व रक्षा, एक मानव हुँ भनेर समाजमा बाँच्न पाउने अधिकारको रक्षा कसरी हुन्छ भन्नेतर्फ पनि सोच्नुपर्दछ। बाँचिरहेकाहरूको बाँच्ने हक खोस्नेलाई बचाउनुपर्दछ भन्ने तर्क कुतर्क मात्र हो।

यसले समग्र मानवतामाथि नै पनि उत्तिकै रूपमा प्रश्न उठ्दछ। बलात्कारी पुरुष भौतिक रूपमा बाँचिरहँदा अन्य पुरुषहरू आन्तरिकरूपमा मरिरहेका हुन्छन्। ती बलात्कृत चेलीका अगाडि सभ्य र विवेकी भनिएको व्यक्तिले कसरी आँखा जुधाउन सक्छ ? बलात्कारीलाई त मृत्युदण्ड पनि कम सजाय हो।

राज्यले पुरुषका लागि आध्यात्मिक, नैतिक र चारित्रिक शिक्षाका लागि यथेष्ट ध्यान दिनुपर्दछ। मानवसँग भौतिक शरीर मात्र होइन शरीरमा आत्मा पनि हुन्छ, ईश्वर पनि हुन्छ भन्ने शिक्षाको प्रवद्र्धन गर्नु अत्यावश्यक भइसक्यो ।

सभ्य र सात्विक समाज निर्माणमा पुरुषहरूको पनि विशेष योगदानको आवश्यकता टड्कारो बनेको छ। दुई दशकअघि महिला प्रौढ शिक्षा व्यापक रूपमा अघि बढेको थियो । आमाहरू टुकी र लालटिन बालेर पढ्नुहुन्थ्यो।

अहिले त देशैभरी बिजुली पनि छ, झिलीमिली बत्तीको उज्यालोमा राखेरै भएपनि पुरुषहरूलाई अनिवार्यरूपमा नैतिक शिक्षा पढाउनुपर्दछ। शतप्रतिशत साक्षर अभियान जस्तै शून्य बलात्कार अभियान सञ्चालन गर्नुपर्दछ ।

सामाजिक संघसंस्थाहरू, मानवअधिकारवादीहरू, महिला अधिकारमा काम गर्नेहरू सबैसबै एकजुट भएर यो अभियानमा लाग्नुपर्दछ। एक हिसाबले यो अभियान पुरुषप्रधान समाजका लागि दह्रो झापड पनि हुन्छ, हुनु पनि पर्दछ।

कानून बनेकै छ …अझै पनि बनाउँला भनिएला … तर कागजका अक्षरले नारीको ईज्जत जोगाएन र जोेगाउँदैन पनि …. जबसम्म पुरुषहरूका लागि कडा अनुशासन सिकाइँदैन अनि विशेष चारित्रिक र नैतिक शिक्षाको व्यवस्था हुँदैन तबसम्म त्यो आशा गर्न सकिँदैन।

आज हामीलाई विकास र सभ्यता शब्दले पनि गिज्याइरहेको छ। समाजमा नारीको के मान छ र ? बलात्कृत चेलीको इज्जतको मान खोइ ? जबसम्म एउटी मात्र चेली पनि पुरुषहरूबाट बलात्कृत भइरहन्छिन् तबसम्म मानव स्वयम्ले आफूलाई भन्ने गरेको ‘सर्बश्रेष्ठ प्राणी’ शव्दले पनि सम्पूर्ण मानवतामाथि व्यंग कस्दछ।

डाँडाकाँडा गरेरै जीवन बिताइएको हो … कुला र नालीका हिलोमा खेलेरै हुर्किइयो… पौडेर र काठको डुंगा चढेरै नदी पनि तरियो … आकाशमा उड्दै गरौँला .. चन्द्रमामा पनि पुगौँला … ती ठूलाठूला सपना पूरा गर्दै गरौँला … तर पहिला नारीहरू पनि यही समाजका गहना हुन् भन्ने बनाऔँ। मानव हुनुको गौरव र सम्मान हुने वातावरण बनाऔँ । हामी सबैको कर्तव्य हो यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *