पोखरालाई चीनको कुनमिङबाट स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
२ कार्तिक २०७७ २३:४९

पोखरा। पोखरा महानगरपालिकालाई चीनको भगिनी शहर कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन जनमैत्री सङ्घ पोखराका अध्यक्ष विश्वशङ्कर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गरे।

कुनमिङले २० हजार थान सर्जिकल मास्क, दुई हजार थान केएन ९५ मास्क, सात सय ५० थान पिपिई र चार सय थान थर्ममिटर सहयोग गरेको छ । पोखरा महानगरका प्रमुख जिसीले कोभिड –१९ को महामारीमा भगिनी सम्बन्ध रहेको शहरबाट प्राप्त सहयोग निकै महत्वपूर्ण हुने बताए।

कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो । कुनमिङले रु ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरपालिका, वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले बताए।

भगिनी सम्बन्ध जोडिएका चीनका लिञ्जी र ग्वाङ्झाओबाट समेत गत जेठमा रु एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो । कुनमिङसंँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापना गरेको थियो । हालसम्म महानगरले १३ देशसँग मितेरी सम्बन्ध स्थापना गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *