खुसीको खोजीमा शहर पसेकाहरुको ‘नरमाइलो अहिलेको दशैं’

तर्कबहादुर थापा
७ कार्तिक २०७७ १०:४८

काठमाडौं। ‘अहिलेको दशैं त कस्तो नरमाइलो हुने भयो दिदी मेरो त!’ चाबहिल गणेशथानको तरकारी बजारमा तरकारी किन्दै गरेकी महिला पसलको साहुनीसँग आफ्नो पीडा पोख्दै थिइन्। ‘हाम्रो पनि त्यस्तै हो बहिनी, के गर्नु कोरोनाले गर्नु गरि हाल्यो।’ तरकारीको पैसा फिर्ता गर्दै साहुनी बोलिन्।

हामीले उक्त ‘दशैं नरमाइलो’ भन्ने शब्दलाई समात्यौं। तरकारी किनेर निस्कदै गर्दा अलि मान्छेको भिड कम भएको ठाउँमा उनलाई रोक्यौं। ‘म्याम थोरै कुरा गर्न सकिन्छ। म डिसी नेपालबाट हो।’ हामीले अनुरोध गरेपछि उनले कुरा गर्ने सहमति जनाइन्। पहिलो प्रश्न दशैं किन नरमाइलो हुने भयो भनेर सोध्यौं।

उनले मलिन स्वरमा भनिन्, ‘कसरी रमाइलो होस् दशैं काठमाडौं बसरेर घर जान पाए पो?’ हामीले त्यही कुरालाई पुनः प्रश्न बनायौं। घर किन नजानु भएको छ? ‘कसरी जानु घर, बुढा बुबाआमा हुनुहुन्छ,’ उनी भन्दै थिइन्, ‘उहाँहरुलाई कोरोना लाग्छ कि भन्ने डर छ। हामी त कोरोनासँग लडन सकौंला बुढा बुबाआमालाई कोरोना लागिहाल्यो भने।’ उनका आखाँमा डर थियो।

चरिकोट घर बताउने सम्झना घिमिरे काठमाडौं नै बस्ने गर्छिन्। हरेक वर्ष दशैंमा सपरिवार सहित बुबा आमा भेटन चरिकोट जाने गरेका थिए। एउटा निजी कम्पनीमा श्रीमानका जागिर थियो। आफूले पनि अफिसमै सरसफाइको काम गर्ने गरेकी थिइन्। अहिले आफ्नो काम छुटेको ६ महिना भयो।

‘चैतको त तलब पाएकी हुँ,’ सम्झनाले भनिन्, ‘बैशाखपछि अहिलेसम्म अफिस बन्द छ। खुलेकै छै। जागिर लगाइदिने अफिस हो। अहिलेसम्म खुलेको छैन्। श्रीमानको कमाइले बस्ने खाने काम भएको छ। धन्न श्रीमानको काम असारबाट सुरु भयो र सजिलो भयो।’

तरकारी बजारमै भेटिएकी मकवानपुरकी मन्जु तामाङको भने पीडा फरक छ। श्रीमान र उनी दुवै ज्याला मजदूरी गर्थे। चैतबाट भएको लकडाउनले ज्याला मजदूरी छुटेको छ। रुन्चे स्वरमा मन्जुले भनिन्, ‘दशैंमा कसरी खुसी हुने। छोरा छोरी सानै छन्। कुरा बुझ्ने भएका छैनन्। उनीहरुले के–के चाहियो भन्छन्। पुर्याउन सकिएको छैन। दशैंमा नयाँ लुगा चाहिएको छ रे। छोराले अनलाइन पढन ल्यापटप चाहिन्छ भन्छ।’

असारसम्म पुरानै डेरामा थियो मन्जुको परिवार। घरभाडा तिर्न नसक्ने भएपछि घरबेटीले भाडा नलिने शर्तमा कोठा खाली गर्न भने अहिले नयाँ ठाउँमा कोठा सरेको उनले बताइन्। उनले भनिन्, ‘कोठाभाडा तिर्न सकिँदैन भनेका थियौं। अहिलेसम्मको भाडा दिन पर्दैन बरु अर्को कतैै खोज भन्नु भयो। अहिले पहिलेको भन्दा सानो कोठा लिएर बसेका छौं।’

खोटाङका दिल लिम्बू पनि अहिलेको दशैं काठमाडौंमै मनाउने सोचमा छन्। एक दिनको १ हजार बुझाउने शर्तमा साहुको ट्याक्सी चलाउने लिम्बू कोरोनाका कारण सबै कुरा चौपट भएको अनुभव सुनाउँ छन्।

‘ट्याक्सी नचलेर हाम्रो त हरिविजोग भएको छ नि!,’ लिम्बुले भने, ‘सधैं दशैं आउँदा खुबै खुसी लाग्थ्यो। हामी काठमाडौंबाट गएका भनेपछि गाउँका साथीभाइ पनि खुसी हुन्थे। केही नभने पनि सबैलाई चियापान गराउन सकिथ्यो। तर, अहिले के गर्नु? छोरा छोरीलाई कोरोनाको बेला हिड्नु हुन्न भनेर रोकेको छु।’

कोरोनाको बेलामा घर नजाने भन्ने बाहानामा छोराछोरी काठमाडौंमै रोकेको दिलले सुनाए। उनले भने, ‘छोराछोरीलाई त्यनि नभनी हुँदैन। मेरो समस्या उनीहरुलाई के थाह। यत्रो महिना खाली बस्नु परेर मलाइ कति कठिन भएको छ भन्ने कुरा उनीहरुलाई थाहा नै छैन।

थाह नभएकै जाति मैले त सुनाउदैन पनि। फेरि केटाकेटी हुन हाम्रो बाबासँग त पैसा छैन भन्दै हिड्लान भन्ने डर।’ दिलभित्रको पीडा दिलमै दबाएर खित्का छोडेर हासेँ दिल।

खुसीको खोजीमा शहर पसेकाहरु कोरोनाको डरले गाउँ जान सकेका छैनन्। आफूलाई त कोरोना लागे पनि जितौंला घरका बुढापाकालाई कोरोना भयो भने के होला भन्ने प्रश्नले धेरैलाई अहिलेको दशैं खल्लो खल्लो हुने भएको हो।

‘व्यापार नै छैन नी यो वर्ष त,’ तरकारी बजारकै विपरित रहेको छाप्रोमा कपडाको व्यवसाय गर्दै आएका दिपकले भने, ‘अघिल्ला वर्षहरुको दशैंको बेला विहान सामान आयो भने बेलुका पुर्याउन सकिन्थेन। अहिले कोरोनाका कारण सामान पनि आएको छैन। आएको सामान पनि खरिद गरिदिने मान्छे नै छैन।’

‘अघिल्ला वर्षका दशैंमा त दाइले पैसा समाल्न कहाँ सक्नु हुथ्यो र ?’ छेउमै कपडा पसल भएकी रमिला कुरा थप्दै थिइन्, ‘हामी त हामी नै थियौं यो सालको दशैंमा त दाइ पनि नराम्रो गरी सुक्नु भएको छ। तर, दाइको त बैंकमा भएको खाए पनि भयो नि हैन र ?’ दुबै जना खित्का छोडर हासेँ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनेको छ। विश्वभरीका करिव सवा २ सय बढी देशहरु अहिले कोरोनाको प्रत्यक्ष चपेटामा परेका छन्।

नेपालमा पनि गत वर्षको चैत ११ गतेदेखि लागू भएको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन्। रोजगारी गुमाएकै कारण धेरैलाई अहिलेको दशै नरमाइलो हुने भएको छ।

हिन्दु नेपालीहरुको महान चाड दशैंलाई सबैले धुमधामका साथ मनाउने चलन रहेको छ। देवी दुर्गा माताको पूजाआजा गरी मनाइने दशैंमा सबैले आफ्नो गक्ष अनुसारको खसीबोका घरमै काटेर दशैभरी मासु चिउरा खाँदै खुसियाली मनाउने चलन छ। तर, कोरोना महामारीका कारण कतिपयको रोजगारी गुमेका कारण दशैं नरमाइलो हुने भयो भने कतिपयको परिवार दूई तिर भएका कारण पनि दशै नरमाईलो हुने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *