देहरादून घटनाप्रति सरकार गम्भीर छः परराष्ट्र मन्त्रालय

डिसी नेपाल
१४ कार्तिक २०७७ १८:०३

काठमाडौँ । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ ।

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए।

देहरादून घटनाबारे प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले भने, “ उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।”

नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहेकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उनले छलफल गरेको जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनानुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताए ।

उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी पनि दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *