कोरोना संक्रमितको निशुल्क उपचार नगरे विशेष अधिवेशन बोलाउने कांग्रेसको चेतावनी

डिसी नेपाल
२१ कार्तिक २०७७ १४:१६

काठमाडौं। केन्द्र सरकारले कोरोना संक्रमितका निशुल्क उपचार गर्न नसक्ने निर्णय गर्दा पनि गण्डकी प्रदेश सरकारले संक्रमितको निशुल्क उपचार गर्ने निर्णय गरेको थियो।

तर निर्णय गरेको लामो समयसम्म पनि सरकारले संक्रमितको निशुल्क उपचार नगरेको भन्दै गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।

सरकारले सरकारी अस्प्ताललाई बजेट नदिँदा कोरोना संक्रमितको निशुल्क उपचार हुन नसकेपछि शुक्रबार कांग्रेसले सामाजिक विकास मन्त्री नरदेवी पुनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेसले जनताको ज्यान, धनको सुरक्षा गर्न सरकार गम्भीर नभए संसदको विशेष अधिवेशन बोलाउने चेतावनी पनि दिएको छ। बिहीबार बसेको कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलको बैठकले कोरोना नियन्त्रणमा सरकारले चालेको कदम प्रभावहीन भएको निष्कर्ष निकालेको थियो।

बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘कोभिड १९ बाट प्रदेश र जनतालाई हुनसक्ने क्षतिबाट बचाउन नेपाली कांग्रेस संसदीय दल गण्डकीले विभिन्न समयमा सुझाव दिने, माननीय मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, भेटेर छलफल गर्ने लगायत प्रयास भएकै हो।’

‘कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सरकारले निर्णय गरिसकेको छ। निर्णय गरेको लामो समयसम्म पनि सरकारले निर्णय कार्यान्वयन गरेको छ,’ गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति एवं कांग्रेस नेता कुमार खड्काले डिसी नेपालसँग भने, ‘जनताको जिउ धन रक्षा गर्ने विषयमा सरकार उदासिन भयो भने विशेष अधिवेशन बोलाउनु पर्ने आवश्यकता आउन सक्छ।’

विशेष अधिवेशन बोलाउन २५ प्रतिशत सांसदको हस्ताक्षर चाहिन्छ। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५ जना सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *