मलेसियाले नेपालीसहित लाखौं अवैध विदेशी कामदारलाई वैधानिक बनाउँदै, शर्तहरु लागू हुने

डिसी नेपाल
२७ कार्तिक २०७७ १४:४१

काठमाडौं। मलेसिया सरकारले अवैध आप्रवासी कामदारहरुलाई नियमन गर्नको लागि नयाँ योजना ल्याउँदैछ । यसबाट ती अवैधानिक कामदारहरु वैधानिक बन्नेछन् । यसमा निश्चित शर्तहरु भने लागू हुनेछन् । मलेसियाका गृहमन्त्री हम्जा जैनुदिनका अनुसार यो योजना अन्तर्गत अवैधानिक विदेशी कामदार स्वयंसेवी रुपमा घर फर्किन पनि सक्नेछन् । उनका अनुसार अवैधानिक आप्रवासीको समस्या समाधान गर्नको लागि ल्याइने यो योजना सोमबारबाट लागू हुनेछ र जून ३० २०२१ सम्म संचालन हुनेछ ।

फ्रि मलेसिया टुडेका अनुसार मन्त्री जैनुदिनले यो योजना मलेसियाका अन्य सरकारी निकायसँगको समन्वयमा आप्रवासन विभाग र श्रम विभागले लागू गराउनेछन् । यो कार्यक्रममा सहभागी हुन चाहने अवैधानिक कामदारले यी दुई विभागमा सिधै सम्पर्क गर्नुपर्ने मन्त्री जैनुदिनले बताएका छन् । यो कार्यक्रम अन्तर्गत अवैधानिक कामदारहरुलाई मलेसियामा थ्रीडी भनेर चिनिने क्षेत्रका रोजगारदाताहरुले मात्रै काममा लैजान सक्नेछन् जहाँ काममा लागेपछि अवैधानिक कामदारहरु वैधानिक हुनेछन् । मलेसियामा थ्रीडी भन्नाले डेन्जरस (खतरनाक), डिफिकल्ट (कठिन) एण्ड डर्टी (फोहर) भनेर बुझिन्छ ।

मलेसियामा थ्रीडी अन्तर्गत गर्ने ४ क्षेत्रहरु निर्माण, उत्पादन, प्लान्टेशन र कृषि हुन् । तर, यी ४ क्षेत्रमा अवैधानिक कामदारलाई वैधानिक कामदारको रुपमा काममा लगाइँदा त्यसले मलेसियाली नागरिकको श्रम बजारमा अवसरलाई भने प्रभावित पार्न पाइने छैन । यसले मलेसिया सरकारलाई कुनै आर्थिक भार नपर्ने बरु यो योजनाबाट सरकारले अवैधानिक कामदार (जो वैधानिक बन्न चाहन्छन्) र रोजगारदाताबाट विभिन्न शुल्कको रुपमा गरी कूल ९५ मिलियन रिंगेट आम्दानी गर्ने योजना बनाएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *