नेपाल–भारत सीमा नाका खोल्न माग

डिसी नेपाल
१ मंसिर २०७७ १५:२९

मलङ्गवा । नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सोमवार जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्सिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धर्नामा बस्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सङ्घीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सीमा नाका मङ्सिर १ गतेदेखि खुल्ने आशमा रहेका जनता कात्तिक ३० गते सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोसित बनेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *