खुल्लामञ्चको विकल्पमा नयाँ ठाउँको खोजी, विकल्पमा प्रसुति गृहको पछाडिको खाली जग्गा

तर्कबहादुर थापा
३ मंसिर २०७७ १२:१२

काठमाडौं। खुल्लामञ्चमा खाना खुवाउने विषयमा महानगरपालिकाको चौतर्फी आलोचना भयो। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा खाना खुवाउने काम रोक्न भनेपछि उनीसहित महानगरपालिकाको आलोचना भएको हो।

चौतर्फी आलोचना भएपछि खाना खुवाउने १०० ग्रुपसँग महानगरपालिकाले वार्ता गरेको थियो। वार्ताबाट तिहार पश्चात खुल्लामञ्चमा खाना खुवाउने काम बन्द गर्ने र अर्को ठाउँदिने सहमति भयो। तिहारपछि खाना खुवाउने ठाउँ दिने भनेको नगरपालिकाबाट ठाउँ उपलब्ध नभएपछि मंगलबार पनि खुल्लामञ्चमै खाना खुवाइयो।

खाना खुवाउने समूह १०० ग्रुप्सका बब्लु गुप्ता नेपालीले सरकारको काम आफैं गरिदिँदा पनि रोक्ने प्रयास गरिएको बताए। उनले क्यानडा र अमेरिकाको उदाहरण दिँदै नेपाल सरकारले पनि सिक्नु पर्ने बताए।

उनले डिसी नेपालसँग भने, ‘क्यानडामा खाद्य बैंक स्थापना भएको छ। अमेरिकामा कपडा बैंकहरु देख्न पाइन्छन्। हाम्रो सरकारले पनि खाद्य बैंक र कपडा बैंकको स्थापना गरेको भए यस्ता महामारीमा आपूmहरुले गरेको कार्यले सरकार आलोचित हुनु पर्ने नै थिएन।’ रत्नपार्कको खुल्लामञ्च र पशुपतिमा गरी दिनमा करिव ५ सय जनालाई खाना खुवाउँदै आएको जानकारी दिए।

‘खुल्लामञ्चमा खाना खान आउनेहरु महाबौद्ध क्षेत्रका भारीबोक्ने भरियाहरु, रत्नपार्कमा साना साना पसल गरेर बस्नेहरु र ज्यामी मजदुरी गर्ने मान्छेहरु बढी आउने गर्छन्,’ बब्लुले भने, ‘पशुपति क्षेत्रमा भने त्यहीँ सेरोफेरोमा बसेर माग्दै गुजारा गर्नेहरु खाना खान आउँछन्।’

सार्वजनिक यातायातका साधनहरु संचालन भएपछि खुल्ला ठाउँमा खाना खुवाउनु जोखिमपूर्ण भएको भन्दै गुप्ताले अर्को ठाउँको व्यवस्थापनमा महानगरपालिकाले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘खाना खुवाएर मात्र हुँदैन। उहाँहरुको स्वास्थ्य पनि जोखिम रहेको छ।

सार्वजनिक सवारी साधन चलेसँगै बसपार्कमा र पशुपतिको पनि सडक क्षेत्रमा खाना खुवाउने ठाउँमा धुलो धुवाँले असर गर्दै आएको छ।’
‘हामी थापाथलीमा रहेको प्रशुति गृहको पछाडि रहेको खाली ठाउँ हेर्न जाँदै छौं। त्यहाँ चौतर्फी टिनको बार लगाएको जग्गा खालि छ रे। त्यहाँ भयो भने राम्रो हुन्छ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले भने ठाउँ खोज्न खाना खुवाउने समूहलाई नै जिम्मेवारी दिएको दाबी गरे। उनले डिसी नेपालसँग भने, ‘हामीले उहाँहरु (खाना खुवाउने समूह)लाई नै ठाउँ खोज्नुहोस्। बरु भाडा तिर्न परे महानगरपालिकाले तिर्छ भनेका थियौं। आज त्यो बारेमा कुरा हुन्छ। कहाँ ठाउँ हेर्नु भएको छ बुझौंला।’

मंगलबार पुनः खुल्लामञ्चमै खाना खुवाए नि भन्ने प्रश्नमा डंगोलले भने, ‘मंगलबारसम्म तिहार नै थियो। हामीले तिहारपछि ठाउँ खोजेर व्यवस्थापन गर्ने भनेका थियौं। आज (बुधबार) त्यो बारेमा कुरा हुन्छ र उहाँहरुलाई कहाँ उपयुक्त हुन्छ त्यही ठाउँलाई महानगरपालिकाले उपलब्ध गराउने छ।’

खाना खुवाउने काममा अवरोध नगरेको तर, खुल्ला ठाउँ भन्दा अर्को विकल्प हेर्ने भनेको प्रवक्ता  डंगोलले जानकारी दिए।‘पार्टी प्यालेस भएपनि लिनुहोस् भनेका थियौं,’ डंगोलले भने, ‘महानगरले भाडा तिर्छ, तपाईँहरु पार्टी प्यालेस भएपनि भाडामा लिएर खुवाउनुहोस्। खुल्ला ठाउँमा खाना नखुवाउनु होस् भनेका हौं हामीले खाना खुवाउन हुँदैन त भनेकै छैनौं।’

तर, मंसिरमा विवाहको लगन हुने भएकाले पार्टी प्यालेसहरुले आफूहरुलाई ठाउँ उपलब्ध नगराउने बब्लु गुप्ताको भनाइ थियो। उनले पार्टी प्यालेससँग कुरा गरेको भएपनि उहाँहरु विवाहको लगनकोले पार्टी प्यालेस सजिलै उपलब्ध नहुँने र निरन्तर खाना खुवाउनको लागि सम्भव नहुने बताए।

कोरोनाले रोजगारी गुमाएका, घर जान नपाएका ज्यामी, भरिया तथा विपन्न वर्गका नागरिकले विगत लामो समयदेखि खुल्लामञ्चको खुल्ला आकासमुनि खाना खाँदै आएका छन्। उनीहरुलाई १०० ग्रुप्स लगायतका समूहरुले खाना खुवाउँदै आएका छन्।

कोरोनाका कारण गत चैत्रबाट लागाइएको लकडाउनका कारण धेरैले रोजगार गुमाउनु परेको छ। कोठा भाडामा बस्नेहरुले भाडा तिर्न नसकेर कोठाबाट निकालिएका पनि धेरै रहेको बब्लुको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *