कोरोनाको गम्भीर चपेटामा अमेरिका, विना लक्षणका संक्रमितबाट फैलिँदैछ भाइरस

डिसी नेपाल
७ मंसिर २०७७ ८:००
76
Shares

काठमाडौं। अमेरिकामा २४ घण्टामा झण्डै दुई लाख संक्रमित फेला परेका छन्। शनिबार अमेरिकामा ९५ हजार नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ९८ हजार पाँच सय नयाँ संक्रमित थपिएका थिए। ती मध्ये ८२ हजार भन्दा धेरैलाई अस्पताल भर्ना गरिएको छ।

अमेरिकामा सक्रिय संक्रमितको संख्या १ करोड २२ लाख भन्दा धेरै पुगेको छ। पछिलो ६ दिनमा मात्रै अमेरिकमा दश लाख संक्रमित थपिएका छन्।

युएस सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्शनका अनुसार अमेरिकामा कोरोना त्यस्ता मानिसमा धेरै फैलिएको छ, जसमा कुनै लक्षण छैन। त्यही कारण सबैले मास्क लगाउनु पर्ने संस्थाले जनाएको छ। केही विज्ञहरुले क्रिसमस र जाडोको विदामा अवस्था झन भयावह हुने चेतावनी दिएका छन्।

अमेरिकामा नोभेम्बर महिनाभर कोरोना संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अहिले अमेरिकाको सबै जसो राज्यमा संक्रमितको संख्या बढिरहेको छ। यो महिनामा मात्रै अमेरिकामा २७ लाख नयाँ संक्रमित थपिएका छन्।

द न्यूयोर्क टाइम्सका अनुसार विगत दुई हप्तादेखि लगातार दैनिक झण्डै एक लाख संक्रमित थपिने गरेका छन्।  यसैबीच ह्वाइट हाउसका एक विज्ञले कोरोना संक्रमण फैलिने दर पहिला भन्दा तीव्र र व्यापक हुने चेतावनी दिएका छन्। ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स कोअर्डिनेटर डा. डेबोराह बिक्र्सले भाइरल ब्यापक रुपमा फैलिरहेको र यो लामो समयसम्म रहने चेतावनी दिएका हुन्।

अमेरिकामा कोरोनाको प्रभाव कस्तो छ भन्ने कुराको अनुमान के बाट पनि लगाउन सकिन्छ भने त्यहाँ २४ घण्टामा २ हजार १५ जनाको मृत्यु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरामा पनि कोरोना पोजेटिभ देखिएको छ।

द गार्डियनका अनुसार ट्रम्पका छोराले यो हप्ताको सुरुवातमा नै कोरोना टेस्ट गराएका थिए। उनको रिपोर्ट पोजेटिभ आएको छ।  गत महिना राष्ट्रपति ट्रम्प र उनकी पत्नीसँगै सानो छोरामा पनि कोरोना पोजेटिभ देखिएको थियो।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख भन्दा धेरै पुगेको छ। ती मध्ये ४ करोड ३ लाख निको भएका छन् भने १३ लाख ७६ हजारले ज्यान गुमाएका छन्। अहिले विश्वभर १ करोड ६४ लाख संक्रिय संक्रमित छन् र उनीहरुको उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *