नेपाली युवा बीबीसीको चर्चित रियालिटी शोको सेमिफाइनलमा पुगे

डिसी नेपाल
१० मंसिर २०७७ ९:४५

काठमाडौं। बीबीसीको चर्चित रियालिटी शो ‘मास्टरसेफः द प्रोफेशनल्स’को सेमिफाइनलमा एक नेपाली युवाले स्थान बनाएका छन् । नेपालको सिराहा जिल्लाको कर्जन्हाका सन्तोष साहले गएराती प्रसारण भएको एपिसोडमा सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । मास्टरसेफ खाना पकाउने प्रतियोगिता हो । २००८ देखि सुरु भएको यो रियालिटी शोको अहिले १३ औं सिरिज चलिरहेको छ । यो शो बीबीसी वन र बीबीसी टुमा प्रसारण हुन्छ ।

बेलायती अखबार द सनका अनुसार ३४ वर्षका सन्तोष आफ्ना दाजुबाट खाना बनाउने कामतर्फ प्रेरित भएका थिए । उनका दाजु पनि सेफ हुन् । १४ वर्षको उमेरमा भारत गएर सेफको काम थालेका सन्तोषले १० वर्ष भारतमा बिताएपछि बेलायत गएका हुन् । सन्तोषले भारतमै होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका छन् । सन्तोष उनका मातापिताका ७ सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । सन्तोषले खाना बनाउने काममा आफ्नो लगाव भएको बताउँदै विश्वमा नेपाली खानालाई परिचित गराउने इच्छा व्यक्त गरेका छन् । नेपाली खानाबारे अझै पनि विश्वले थाहा नपाएको बताउँदै उनले यो सफलताले आफूलाई सपना साकार भएको महसुस भएको बताए ।

सन्तोष लण्डनका रहेको सिनामोन किचन ग्रुप नामक रेष्टुरेण्टका हेड सेफ हुन् । उनले यसअघि फ्रेन्च रेष्टुरेण्ट चेन ब्रासेरी ब्ल्यांकको लागि पनि काम गरेका छन् । सन्तोषले पहिले भारतीय मूलका बेलायती सेलिब्रेटी सेफ विवेक सिंहको मातहतमा पनि काम गरेका छन् । सिंहले नै सिनामोन क्लवको स्थापना गरेका थिए । सिनामोनलाई स्क्वायरमिल फुड गाइडले लण्डनका सर्वोत्कृष्ट भारतीय रेष्टुरेण्टको सूचीमा राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *