लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : महिलामाथि हुने यौन दुर्व्यवहारको अवस्था डरलाग्दो

तर्कबहादुर थापा
११ मंसिर २०७७ ६:५२

काठमाडौं। घटना १ :  आइतबार साँझ महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका सम्पर्क विहीन भइन्। प्रहरीले सोमबार मध्येराति ती बालिकाको शव फेला पा-यो। बोरामा खाँदेको अवस्थामा शव भेटिएपछि प्रहरीले बलात्कारपछि हत्या गरिएको आशंका ग-यो। सोही आशंकामा जिल्लाकै गौशाला नगरपालिका -५ का २५ वर्षीया अरुण कुमार साहलाई पक्राउ गरेको छ।

बर्दिवासमा अझै तनाव कायम छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ। मंगलबार आरोपी शाहको घरमा आक्रोशित भिडले आगजनी समेत गरेको थियो। भिड तितरवितर गर्न प्रहरीले गरेको थियो। प्रहरीका अनुसार कानुन बमोजिम बल प्रयोगमा घाइते भएका उनको मृत्यु भएको छ।

घटना २ :  मंसिर ३ गते मकावानपुरमा ४ वर्षीया बालिकाको शव फेला परेको थियो। बाग्मती–७, लामिटारकी रुवीना पाख्रिन आफ्नो घरबाट ३ सय मिटर टाढा रगतले लतपत भएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार हत्याको आशंकामा पक्राउ परेका १६ वर्षीय किशोरले फकाएर नजिकैको पुलमुनि लिई बलात्कार र त्यसपछि हत्या गरेको स्वीकारेका छन्।

घटना ३ :  गत असोजमा बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको पनि बलात्कारपछि हत्या भयो। बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका १८ वर्षीया राजेन्द्र बोहोरा यस अघिपनि यस्तै प्रकृतिका अन्य घटनामा पनि संलग्न भएको पाइयो। प्रहरीका अनुसार उनले गाउँका अन्य बालिका र महिलामाथि पनि त्यस्ता खालका व्यवहार गरेको र गाउँघरमै मिलापत्र गरिएको थियो। अपराध लुकाउन मिलापत्र गराउँदा जघन्य अपराध भएको जानकारहरुले बताए।

चालु आर्थिक वर्षको ३ महिनामा मात्र ४ हजार ५ सय ७६ जघन्य अपराध तथा लैङ्गिक हिंसाका घटना भएका छन्। प्रहरीले दिएको तथ्यांक अनुसार गत साउनमा १ हजार ७ सय ९९, भदौमा १ हजार १ सय ७३ र असोजमा १ हजार ६ सय ४ जघन्य अपराध तथा हिंसाका घटनाहरु भएका छन्।

कन्चनपुरकी निर्मला पन्त लगायत यी घटनाहरु लैङ्गिक हिंसापछिका जघन्य अपराध हुन्। हरेक वर्ष नोभेम्बर २५ तारिकदेखि डिसेम्बर १० तारिखसम्म अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ। यो वर्ष कोरोनाका कारण भौतिक कार्यक्रम नगरेपनि प्रविधिको माध्यामबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरुवात भएको छ।

नेपालमा यो वर्ष ‘लैङ्गिक हिंसा अन्यतको प्रतिवद्धता :  व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बुधबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। सन् १९९१ देखि प्रत्येक वर्ष विश्वभरमा मनाईने अभियान नेपालमा पनि सरकारले औपचारिक रुपमै मनाउँदै आएको छ।

सरकारले औपचारिक रुपमा अभियान संचालन गर्दै आएपनि मानिसमा सचेतना नआएसम्म लैङ्गिक हिंसाको अन्त्य नहुने महिला अधिकारकर्मी शर्मिला कार्की बताउँछिन्। उनले सरकार, नागरिक समाज र सम्पूर्ण सरोकारवालाहरुले लैङ्गिक हिंसाका विरुद्ध जनचेतना फैलाउनमा ध्यान दिनुपर्ने बताइन्।

‘म सबैलाई महिला हिंसा अत्यका लागि लागि परौं भनेर आह्वान पनि गर्न चाहन्छु। लैङ्गिक हिंसा अन्त्यका लागि सबैको उत्तिकै भूमिका हुन्छ,’ कार्कीले डिसी नेपालसँग भनिन्, ‘सरकार, समाज र व्यक्तिहरेकले लैङ्गिक हिंसाको विरुद्धमा ऐक्यवद्धता जनाएर आफू र आफ्नो वरिपरिकालाई सचेत गराउने काममा लाग्नु पर्छ।’

बलात्कार र हत्या जस्ता जघन्य अपराधहरु समाजमा अझै कायम रहेका उदाहरहरु दिँदै उनले भनिन्, ‘हामीले बलात्कारीलाई फासी दिनुपर्छ जस्तो आवाज उठेको पनि सुनेका छौं। मैले मानवअधिकारका क्षेत्रमा लामो समय काम गरेका कारण एउटाका लागि अर्कोलाई मार्नुपर्छ त भन्दिन तर, बलात्कार र हत्या जस्ता जघन्य अपराध गर्नेहरुलाई हदैसम्मको सजाय हुनै पर्छ।’ समाजमा हुने लैङ्गिक हिंसाका विरुद्ध सबैले आ–आफ्नो ठाउँबाट जागरुक हुनुपर्ने कार्कीको भनाइ छ।

३ महिनामा महिलामाथि भएको जघन्य अपराधको अवस्था

चालु आर्थिक वर्षको ३ महिनामा मात्र ४ हजार ५ सय ७६ जघन्य अपराध तथा लैङ्गिक हिंसाका घटना भएका छन्। प्रहरीले दिएको तथ्यांक अनुसार गत साउनमा १ हजार ७ सय ९९, भदौमा १ हजार १ सय ७३ र असोजमा १ हजार ६ सय ४ जघन्य अपराध तथा हिंसाका घटनाहरु भएका छन्।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा जवरजस्ती करणीका २ सय १ घटनाहरु भएका छन। तथ्यांक अनुसार प्रदेश १ मा ६२, प्रदेश २ मा ६, बाग्मती प्रदेशमा ३९, उपत्यकामा २६, गण्डकी प्रदेशमा १९, लुम्बिनी प्रदेशमा ४९, कर्णाली प्रदेशमा १७ र सुदुरपश्चिम प्रदेशमा २१ घटना भएका छन्।

यस्तै, जवरजस्ती करणी उद्योग अन्तर्गत ६१, बहुविवाहका ७७, बोक्सी आरोपका ७, जातीय छुवाछुतका २, अप्राकृतिक मैथुनका ५ र बालयौन दुराचार र दुरुपयोगका २३ घटना प्रहरीमा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। उनका अनुसार साउन महिनामा मात्र घरेलु हिंसाका १ हजार १ सय ३५ घटना दर्ता भएका छन्।

यस्तै, भदौ महिनामा जवरजस्ती करणीका २ सय ३७ घटनाहरु दर्ता भएको तथ्यांकमा उल्लेख छ। जसअनुसार, प्रदेश १ मा ५४, प्रदेश २ मा ३८, बाग्मती प्रदेशमा २४, उपत्यकामा १६, गण्डकी प्रदेशमा २१, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेशमा १४ र सुदुरपश्चिम प्रदेशमा ३० जवरजस्ती करणीका घटना भएका हुन्।

यस्तै, जवरजस्ती करणी उद्योग अन्तर्गत ६०, बहुविवाहका ५३, बोक्सी आरोपका ९, जातीय छुवाछुतका ७, अप्राकृतिक मैथुनका ४ र बालयौन दुराचार र दुरुपयोगका १७ घटना प्रहरीमा दर्ता भएको तथ्यांकमा उल्लेख गरिएको छ। तथ्यांक अनुसार भदौ महिनामा मात्र घरेलु हिंसाका ७ सय ७९ घटना दर्ता भएका छन्।

प्रहरी तथ्यांकका अनुसार असोज महिनामा मात्र घरेलु हिंसाका १ हजार ३ सय ४२ घटना दर्ता भएका छन्। प्रहरीको तथ्यांक अनुसार जवरजस्ती करणीका २ सय ३२, जवरजस्ती करणी उद्योग अन्तर्गत ७४, बहुविवाहका ९२, बोक्सी आरोपका ९, जातीय छुवाछुतका १०, अप्राकृतिक मैथुनका १ र बालयौन दुराचार र दुरुपयोगका २७ घटना प्रहरीमा दर्ता भएका छन्।

यस्तै, चालु आर्थिक वर्षको तीन महिनामा २ वटा एडिस आक्रमणका घटनासमेत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ३ जना महिला पीडित भएका छन भने ४ जना पुरुषहरु पीडक रहेका छन। पीडक ४ जनालाई नै प्रहरीले पक्राउ गरेको छ। एक जनालाई ज्यान मार्ने उद्योग र १ जनालाई कुटपिट तथा अंगभंगको मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *