यातायात कार्यालय ललितपुरमा अस्तव्यस्त भीड, ‘त्यहाँ पुग्नेलाई कोरोना छैन झैं लाग्छ’

तर्कबहादुर थापा
१५ मंसिर २०७७ १०:५१

काठमाडौं। यातायात व्यवस्था कार्यालय एकान्तकुनाको गेटबाट प्रवेश गर्ने बित्तिकै सचेतनामुलक बोर्ड राखिएको छ। बोर्डमा सेवाग्राहीहरुलाई २ मिटरको दूरी कायम गरेर लाइनमा बस्नु पर्ने सुझाइएको छ। तर, लाइन बस्नेहरु भने भौतिक दुरीको पालना गरेको पाइँदैन।

गेटबाट छिर्ने बित्तिकै लाइसेन्स नवीकरण गर्नेहरुको लाइन छ। उक्त लाइनमै टाँसिएको उक्त सूचनाको कसैले पनि पालना गरेको पाइँदैन। सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, कार्यालय प्रशासन र सेवाग्राही कसैलाई पनि ती सूचनाको बारेमा जानकारी छैन वा जानकारीको पालना गरिँदैन।

कार्यालयको पश्चिम तर्फबाट दक्षिणमा पुगेपछि अर्को काउन्टर छ। उक्त  नवीकरण राजश्व काउन्टरमा पनि मान्छेको उत्तिकै भीड छ। तर, भौतिक दूरीको कुनै पालना भएको पाइँदैन। फलामको सिँडी झरेपछि लाइसेन्स वितरण शाखामा प्रवेश गरिन्छ। लाइसेन्स लिनका लागि गइएकाहरु टिनको छानामुनी बस्ने गर्छन।

त्यो बसाइँमा पनि भौतिक दूरीको पालना गरिएको पाइँदैन। पुरुष र महिलाका लागि अलग अलग लाइन बस्ने सुविधा मिलाइएता पनि भौतिक दूरी कायम नगरेकाले सबै बराबरीमा बस्न बाध्य छन्। लाइसेन्स लिने झ्याल नं. ६ मा पनि सबै मौरी जस्तै झुण्ड भएर उभिएको पाइन्छ।

यो रिपोर्ट तयार पार्दासम्म विश्वभरमा कोरोनाबाट ६ करोड ३० लाख ७० हजार २ सय ७९ जना प्रभावित भइसकेका छन्। १४ लाख ६५ हजार ९५ जनाले ज्यान गुमाएका छन्। नेपालमा पनि कोरोनाका २ लाख ३१ हजार ९ सय ७८ जना कोरोनाका संक्रमितहरु रहेका छन्। १ हजार ४ सय ७९ जनाले कोरोनाकै कारण ज्यान समेत गुमाइसकेका छन्।

नेपालमा संक्रमित मध्ये १ लाख ८ हजार २ सय १२ कोरोनाका संक्रमितहरु काठमाडौं उपत्यकामा मात्र रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौं जिल्लामा ८७ हजार २ सय ८७, ललितपुरमा १३ हजार ७१ र भक्तपुरमा ७ हजार ८ सय ६३ जना कोरोनाका संक्रमितहरु रहेका छन्।

कोरोनाको संक्रमण कमी नभएका बेला यातायात कार्यलय एकान्तकुनाको अव्यवस्थित लाइनहरु हेर्दा यहाँ कोरोना छैन झैं हुन्छ। ‘बाध्यता छ, लाइसेन्स न लिउँ भने पनि नहुने’, तनुहँबाट आएका १ जना सेवाग्राहीले भने, ‘कोरोनाको डर कसलाई हुँदैन र? हामीलाई पनि डर छ। तर, बाध्यता पनि छ। हामीले लाइसेन्स नविकरण नगरी नहुने, गर्नै पर्ने।’

पाटन ढोकाबाट लाइसेन्सका लिनका लागि एकान्तकुना पुगेका समिर रोक्का पनि बाध्यताले आएको बताउँछन्। उनले भने, ‘म २/३ पटक आएँ। सधैं यस्तै भीड हुन्छ। एक दिन पुरै कामको माया मारेर आउनु पर्छ। अस्ति आउँदा पनि भीड देखेर गएँ। त्यसपछि पनि आएको थिएँ। कोरोनाको डर मात्रले पनि के गर्नु।’

कार्यालय प्रशासनले पनि दुई मिटरको दुरी कायम गरेर लाइन बस्ने कुरामा सचेतना नफैलाएको रोक्काको भनाइ छ। ‘आफैं सचेत हुनु पर्ने हो,’ रोक्काले भने, ‘त्यति नभएपछि कसमसेकम प्रशासनले त हेर्नु पर्ने भौतिक दूरी कायम गराएर बस्न सहयोग गर्नु पर्ने।’

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाका संक्रमितहरु बढे पनि सर्वसाधारणले कोरोनालाई टेर्न छोडेका छन्। सरकारले कोरोना र सर्वसाधारणको दूरी घटाउनबाट आफ्नो हात झिकेको विज्ञहरुको बुझाइ छ। सरकारको लापरवाहीले कोरोनाको महामारीबाट नेपालले मुक्ति पाउन अझै समय लाग्छ भन्नेमा दुई मत नभएको विज्ञहरुको बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *