काँग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमै, काँग्रेस कार्यकर्ताद्वारा ब्यासमा प्रदर्शन

डिसी नेपाल
१७ मंसिर २०७७ १६:४७

काठमाडौं। पुल उद्घाटन गर्न पुगेका कााग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस कार्यकर्ताहरुले तनहुँको ब्यासमा विरोध प्रदर्शन गरेका छन्। तनहुँको ब्यास नगरपालिकाको एक र १० नम्बर वडालाई जोड्ने पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेकपा कार्यकर्ताहरुले पुल उद्घाटनको विरोध गर्ने जनाएपछि स्थानीय प्रशासनले पुल उद्घाटन गरिने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। पौडेल पुल उद्घाटनका लागि काँग्रेस कार्यकर्तासिहत त्यहाँ पुगेका थिए।

तर, प्रहरीले निषेधाज्ञा तोडेको भन्दै पौडेल, काँग्रेस तनहुँका कार्यबाहाक सभापति, सांसद सीता गुरुङलगायतलाई नियन्त्रणमा लिएको छ। प्रहरीले काँग्रेस कार्यकर्तामाथि लाठीचार्जसमेत गरेको छ। केही काँग्रेस नेता तथा कार्यकर्ताहरु घाइते भएका छन्।

पौडेल हालसम्म प्रहरीकै नियन्त्रणमा रहेको उनका छोरा चिन्तन पौडेलले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘उहाँ अहिले पनि प्रहरी नियन्त्रणमै हुनुहुन्छ। काँग्रेसका नेता तथा कार्यकर्ताहरु केही टाढाबाट प्रदर्शन गरिरहेका छन्। प्रहरीले नजिक जान दिएको छैन। अवस्था अहिले पनि तनावग्रस्त नै छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *