आज फेरि त्यही पुल उद्घाटन गर्न जाँदै छन् नेता पौडेल

डिसी नेपाल
१८ मंसिर २०७७ ११:०८

काठमाडौं। बुधबार धरकपड भएपछि रोकिएको तनहुँको व्यास नगरपालिकास्थित पुल उद्घाटन पुनः बिहीबार हुने भएको छ। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले डिसी नेपालसँग कुरा गर्दै बुधबार रोकिएको पुल पुनः आज उद्घाटन हुने जानकारी दिए।

बुधबार पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। करिव २ वर्ष पहिला निर्माण सम्पन्न पुल उद्घाटनका लागि पौडेल तनहुँ पुगेका थिए।

तनावका कारण रोकिएको पुल आज पुनः उद्घाटन गर्ने तयारी भएको हो। उता प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पुल उद्घाटन हुने कुरा आफूलाई जानकारी नभएको बताएका छन्। उनले बुधबार झडपको सम्भावना देखिएपछि निषेधाज्ञा आदेश जारी गरेको जानकारी दिए। उनले भने, ‘हिजो झडप हुने भएकाले हामीले निशेधाज्ञा जारी गरेका थियौं।

आज अहिलेसम्म पुल उद्घाटन हुने जानकारी आएको छैन। र निषेधाज्ञा जारी हुनेखालको वातारवरण पनि देखिएको छैन।’ तर, नगरप्रमुख न्यौपानेले भने बुधबार कृतिम झडपको अवस्था सृजना गराई निशेषधाज्ञा लगाएको आरोप लगाए।

उनले भने, ‘बाटो तथा पुल निर्माण समितिमा सर्वदलीय साथिहरु हुनुहुन्छ। नेपाली कांग्रेसबाट अध्यक्ष हुनुहुन्छ भने सचिव नेकपाको हुनुहुन्छ। उहाँ (वरिष्ठ नेता पौडेल) तनहुँ आउनु भएको अवस्थामा उहाँबाट नै पुल उद्घाटन गराउने भन्ने निर्णय भएको हो।

युवा संघका साथिहरुले विहान मोटरसाइकल र्यालि गरेका थिए। प्रशासनले २/४ जना कांग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएर कृतिम झडपको बाहानामा निषेधाज्ञा जारी गरेको थियो।’ उनले आज पुनः पुल उद्घाटन हुने जानकारी पनि दिए।

उनले भने, ‘हिजो तनावका कारण हुन नसके पनि आज पुनः उक्त पुल उद्घाटन हुनेछ। नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले आज पुनः पुलको उद्घाटन गर्नु हुनेछ। आज अहिलेसम्म कुनै पनि विरोधको कुरा सुनिएको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *