‘केपी बा’ लाई उखानमै शिक्षा, ‘देउ बा’ भन्ने दिन नआओस्

डिसी नेपाल
१३ फागुन २०७७ ९:५७
704
Shares

गज्जब छ बा! बाहरू बालकोट बसे, बालुवाटार बसे, छोराहरू कोही बम्बई, ब्याङ्गलोर, बहाराईन पसे। अस्तीको लालसेना हिजो बिदेसिनु आज लाल बाकसमा फर्किनु सामान्य भयो। कोही अस्पताल औषधि न पाएर मरे कोही भोकले खुल्ला मञ्च झरे। बाले के गरे? रामायण पाठ? अनि मुखमा राम राम व्यवहारमा बोको हराम।

बाको बदख्वाइँ मात्रै के गर्नु? तर भविष्यमा अर्कोलाई फेरि ‘देउ बा’ भन्दै खाएको मासु भातले बरबाद नगरोस् भनेर केही कुरा लोकतन्त्रको जनहितमा जारी गरी मनको भारी बिसाउने प्रयास गर्दै छु। जोगीलाई हुक्का बोल्नेलाई टुक्काको कमी हुँदैन त्यसैले उखानमा बखान गर्दै छु।

काण्डै–काण्डमाझ खेर गएका अढाइ वर्ष र यो कोरोनाको महामारी रोक्न सरकारबाट चालिएका कदमहरूलाई सक्षेपमा भन्दा बाको सरकार बाँदरको पुच्छर लौरो न हतियार र दुई तिहाइ बहुमत हात्ती आयो हात्ती आयो फुस्सा भयो।

प्रधानमन्त्री स्वरोजगार योजना हात्तीको मुखमा जिरा भयो। घाँस उखालेरै सिद्धियो। ठूला–ठूला राष्ट्रिय गौरवका योजना पनि कछुवाकै गतिमा हिँडिरहे। विकासका बजेट आषाढको महिनामा आएर जब पर्यो राति तब बुढी ताती भनेझैँ भँगेरालाई कनिका छरेझैँ कार्यकर्तालाई बाँडियो।

जति काला उत्ति मेरै बाउका साला। गोरु बेचेकोसम्म साइनो लगाएर तपाईँका आसेपासेले सञ्चार, पर्यटनदेखि स्वास्थ्य सामग्री खरिदमा समेत राज्य दोहन गरे।

अब गुट-उपगुट बचाई कयौँ अदक्ष खोज्नु भन्दा केही दक्ष खोजौँ। गधा धोएर गाई हुँदैन ओलीका पुस्ताका सबै नेता असफल भई सकेका हुन्। जो प्रधानमन्त्री भए पनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात नै हो। अब सबै जनताले बुझिसके बालुवा निचरेर तेल आउँदैन र गधा धोएर गाई बन्दैन। स्यालले खन्ने भए बगर बाँझा रहन्न थिए।

काम गर्ने कालु मकै खाने भालु! सँगैका साथी सिंहदरबार माथि! सबै भ्रष्टाचारको स्पष्टीकरण दिँदै प्रधानमन्त्रीले खाएको विष पो लाग्छ, नखाएको विष लाग्दैन भने पनि जनताले पत्याएनन्। स्याल कराउने र कुखुरा हराउने सँगै पर्यो।

अख्तियार र पुलिसका केही काम धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्ता भए। तीन तहका सरकारको करको मार परेका जनतालाई त यो सरकार काम गर्ने कालु मकै खाने भालु नै भयो।

यो कुरा सोह्रै आना साँचो हो दुई वर्ष सत्ता तपाईँहरूलाई बाँदरको हातमा नरिवल नै भयो तर पनि रात रहे अग्राख पलाउँछ भनेर कुर्दा कुर्दै जनताको धैर्यताको बाँध टुट्यो।

जो होचो उसकै मुखमा घोचो!

दैनिक मजदुरलाई महामारी जो होचो उसकै मुखमा घोचो भयो। व्यापार, व्यवसाय ठप्प हुँदा गुणस्तरीय जीवन त के हात मुख जोड्न पनि गाह्रो भयो। घर–घर पुग्छु भन्ने सिंहदरबार आज आकाशको फल आँखा तरी मर भयो।

ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ भनेझैँ वैदेशिक रोजगारदाताले पनि कामदारलाई घर पठाए। अरूको लाख आमाको काख भनी धेरै दाजुभाइ महाकाली पौडेर देश फर्किने प्रयास गरे।

आफन्तहरूले सहरमा छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढीको अनुभूति गराउँदै गर्दा १—२ हप्ता पैदल हिँडेर आफ्नो गाउँ–घर जाँदै गरेका जनताले आफूलाई धोबीको कुकुर घरको न घाटको महसुस गरे। कहाँ थिए बा?

राष्ट्रवाद र धर्मको खोक्रो खरानी घसी बाले रामायण पाठ गर्दैमा राम राज्य आयो? पीडित जनताले न्याय पायो ? पढ्न रामायण पढ्ने, गद्दीको लागी बा बाली– सुग्रीव झैँ लड्ने? बाले नारायणहिटीअघि गई पन्चे बजाउने प्रयास गर्दा प्रजालाई भान भो, ‘कस्ता कस्ता कहाँ गए , मुसाका चल्ला दरबार?’ र बाले श्री पशुपतिको यात्रा गरे पनि सिद्राको व्यापार सबैले बुझेका थिए।

त्यसैले बालाई पन्चे बाजा सहित न रहुन् बा न बजोस् प्रतिगमनको बाँसुरी भनेर बालुवाटार बाट बिदाइ गरियो। बाको दिन गयो– सूर्यले डाँडो काट्यो। बल्ल बालाई पर्नु पिर परेको छ। हिजो सँगै जहाज उडाऊँ भन्नेले पनि नौटङ्की देखाए। जहाज उडाउनु छोडी अब बयल गाडा गुडाउने दिन आउने भए। न ७० वर्ष फाप्यो न ७० करोड । कोटा र बास्कोटा दुवैले डुबाए बालाई।

आफैँ पालेका सर्प ७२ करोडको दूध खाई आफैँ विरुद्ध फणी उठाई विष वमन गर्दै छन्। हिजो आफैले पालेका आज मालिक विरुद्ध ‘भुके’, आखिर बा कहाँ चुके? छन् गेडी सबै मेरी, अवसरबादीको कसरी गरूँ विश्वास, जता हावा लाग्यो उतै उडी जान्छन् बादल अनि सुवास बालाई पर्यो अत्यास!

बा जब ब्वाँसा बने, लोकतन्त्रको भेडाको छाला ओढी भेडै हुँ भने। तर बा को ब्वाँसो रूप बाहिर आयो। अनि गाउँमा आतंक छायो। गाउँलेले बाच्छो मरे पनि ब्वाँसो पल्किन दिनु भएन। अबचाहिँ ब्वाँसो बन्न खोज्ने बालाई चिडियाघरमा राख्नु पर्छ। अनि गाउँमा वास्तविक स्वतन्त्रता आउँछ।

अब गुट-उपगुट बचाई कयौँ अदक्ष खोज्नु भन्दा केही दक्ष खोजौँ। गधा धोएर गाई हुँदैन ओलीका पुस्ताका सबै नेता असफल भई सकेका हुन्। जो प्रधानमन्त्री भए पनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात नै हो। अब सबै जनताले बुझिसके बालुवा निचरेर तेल आउँदैन र गधा धोएर गाई बन्दैन। स्यालले खन्ने भए बगर बाँझा रहन्न थिए।

आफ्नो सत्ता टिकाई रहन या व्यक्तिगत स्वार्थ साध्न विदेशी प्रभुको इसारामामा जता जता बाहुन बाजे त्यतै–त्यतै स्वाहा गर्दै आएका मगन्तेहरूलाई महाकाली सन्धि देखि कालापानी काण्ड सम्म राष्ट्रघाती सन्धिहरूले आँफू बगाउने काली सबैलाई लैजाली होला भन्ने आभास भएको देखिँदैन। फेरि चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी होला भोलि।

स्मरण्रहोस् जो आज लोकतन्त्र र संविधान पालनको नाटक÷ नौटंकी गर्दै छन् उनीहरूको इतिहास स्मरण रहोस्। कसैले हिजो अधिनायकवाद लाद्न सैनिक कब्जा गर्ने प्रयास गरे त कसैले यस्तै प्रतिगामी कदम उठाई प्रजातन्त्र दरबारमा बुझाएका थिए।

आज लोकतन्त्रको भेडाको छाला ओढेका भ्रष्ट ब्वाँसा र स्यालहरूको पहिचान नगरे हामी सधैँ ‘मुर्गा’ बनिरहने छौँ। स्याल कराउने र कुखुरा हराउने किन सँगै भयो भनेर प्रश्न गरौँ। नत्र बलिका बोका बनी रहने छौँ र हाम्रो रगतले सधैँ तिनको पेट पूजा भई रहने छ।

न रहुन् बा न बजोस् फेरि पश्चगमनको बाँसुरी। बालाई पन्चेबाजा बजाई बिदाइ गर्दै गर्दा प्रतिगमनका पुत्रहरू स्मरण रहोस् अब एउटा बा हटाई अर्कोलाई देउ बा भन्ने दिन नआओस्।
नेपालको जय होस!!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *