आफूहरुसँग हतियार नभएको विप्लव समूहको प्रष्ट्रिकरण

डिसी नेपाल
२२ फागुन २०७७ १७:२९

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले आफूहरुसँग हतियार नभएको बताएका छन्। सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरु एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि लडेका भन्दै सशस्त्र युद्ध नभएको बताएका छन्।

तपाईँहरुसँग अत्याधुनिक वा आधुनिक हतियार छैन ? त्यही सुतली बम मात्रै हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘हामीसँग हतियार छैन् । हामीले हतियारको कुरा गरेको होईन। हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होईन। रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो।’

शुक्रबार सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहमतिमा विप्लव समूहले हतियार बुझाउने विषय नपरेको भन्दै प्रश्न गरेको थियो ।

मुख्य\मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ

बाँस्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘जनताको मत लिने गरौं। हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’

उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए । उनले अघि भने, ‘सबै भन्न सम्भव छैन् । खास/खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दा पनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’

उनले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि जनाए । उनले वार्ताको वातावरण कसरी बन्यो ? भन्नेबारे पनि थप प्रष्ट्याएका छन् । उनले भने,‘राजनीतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति हामीले धेरै लामो समयदेखि छलफल गर्दै आएका थियौं । नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन भन्दै आएका थियौं । आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौं, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौं । शान्ति प्रक्रियाको दश वर्ष, यो संविधान बनेको तीनरचार वर्षमा प्रष्ट भएको छ । सरकारले के महशुस गर्यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ । नयाँ बाटोको जरुरी छ भन्यो । त्यही भएर अहिले सहमति भएको हो ।’

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाई छ । उनले भने, ‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाब पैदा भएको छ । लडाईँ चलिरहेको छ । अदालतले संसद् पूनःस्थापना गरेको छ। अहिले दलभित्र लडाईँ चलिरहेको छ ।’

उनले गरिब नेपाली जनताको अवस्था अहिलेपनि पनि पहिलेजस्तै रहेको सुनाए । उनले भने,‘गरिब जनताको अवस्था जस्तो पहिले थियो, अहिले पनि त्यस्तै छ । तीन करोड नेपाली जनतामा ६० लाख नेपाली जनता सुकुम्बासी छन् । त्यो ६० लाख नेपाली जनताका छोराछोरी पढ्न पाएका छैनन् । काठमाडौंभित्र पनि हाम्रा जनता यति धेरै पिछडिएका छन् । खासमा दुई करोड जनशक्ति श्रम क्षेत्रमा सहभागिता जनाउने रहेछ । यो स्थिति देशको छ । अनि देश कसरी बन्छ ? दुई तिहाई बुहमत गरेको सरकार, पार्टी छ । तर, स्थिति झगडा गर्नुपर्ने छ । ठोस प्रकारको आर्थिक नीति आवश्यक छ ।’

आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाई छ । उनले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गरे ।

उनले भने,‘सरकारले वार्ता गरौं भन्यो, पछिल्लो चरणमा वार्ताको माध्यमबाट सहमति भयो । हामी निश्कर्षमा पुग्यौं । तीन बुँदे सहमति गरेका छौं । हाम्रो महासचिव र प्रधानमन्त्रीले प्रष्टसँग सहमति कार्यान्वयन हुन्छ भनेर आफ्नो कुरा राख्नुभएको छ । उहाँहरुले ईमानदारीताका साथ सहमति कार्यान्वयन गर्छौं भन्नुभएको छ।’

उनले संसद विघटन सदर भएर चुनाव भएको भए पनि देशले निकास नपाउने थियो भन्ने उनको भनाई छ । उनले भने, ‘यसअघि पनि बहुमत आएकै हो नि । सरकार पनि बनेको थियो । यो स्थिति नयाँ घटना होईन् । पुनःस्थापना भएको छ । फेरि पनि चुनाव हुनुपर्छ । हामीले प्रतिष्पर्धाको कुरा गरेका छौं । समाजलाई कसरी उन्नत बनाउन सकिन्छ ? भन्ने नै हो ।’

उनले आफूलाई पटक–पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने,‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडेलाइए टर्चर गरिएको कुरा आएको छ। बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो । सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *