चितुवाको आक्रमणबाट बालक घाइते

डिसी नेपाल
२४ फागुन २०७७ २३:३३

दमौली । बन्दीपुर गाउँपालिकामा आज बिहान चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–१ कौशलीछापमा चितुवाको आक्रमणबाट चार वर्षीय बालक अपल चेपाङ घाइते भएका हुन् ।

घर नजिकैको बारीबाट फर्किने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो । बालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले तनहुँका विभिन्न ठाउँमा चितुवा रहेकाले सतर्कता अपनाउनुपर्ने बताए । विगत साढे दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट जिल्लामा दश बालबालिकाले ज्यान गुमाएका छन् । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने, पानीको स्रोत मासिने जस्ता कारणले चितुवा बस्तीमा आउन थालेको छ ।

कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्ने लगायतका सावधानी अपनाउन आग्रह गरेको छ । काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *