‘आमा सम्मानित हुँदा मात्र समाज सम्मानित हुन्छ’

डिसी नेपाल
२७ फागुन २०७७ २२:४८

कर्णाली। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित बुलेबुले उद्यानमा ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ उत्सवमा आजबाट विभिन्न विषयमा रहेर बहस थालिएको छ। उत्सवलाई मुलुकमा एउटा फरक र गहन बहसका रुपमा लिइएको छ।

तीन दिनसम्म सञ्चालन हुने ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ को आयोजना ऋति फाउण्डेशन, सुर्खेतले गरेको हो। बहसको पहिलो दिनमा चारवटा सत्र सञ्चालन गरिएको छ। पहिलो सत्रमा ‘हाम्रो मान्नमी’ मूल शीर्षकको ‘बाडो, थाडो र ओटालो’ विषयमा रहेर पत्रकार दिपा दाहालको सहजीकरणमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकाय, समाजशास्त्री डा टिकाराम गौतम र अध्येता गोविन्द नेपालीले बहस गरेका थिए।

बहसमा ‘बाडो, थाडो र ओटालो’ संस्कृतिले कर्णालीको सांस्कृतिक तथा सामाजिक मिलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र त्यसले मानवीय मन जोड्न सहयोग पुगेको निचोड निकालिएको थियो। यद्यपि लैङ्गिक तथा जातीय विभेद कर्णालीमा उतिबेलादेखि अहिलेसम्म कायम रहेकोले विभेद अन्त्य गर्ने कार्यक्रममा सरकारले जोड दिनुपर्ने औँल्याइएको छ।

अध्येता दिव्य खड्काको सहजीकरणमा ‘छाउ र भाउ’ शीर्षकमा बहस गर्दै लेखक राधा पौडेल, बालरोग विशेषज्ञ डा नवराज केसी राजनीतिकर्मीद्वय विन्दा पाण्डे र ममता विकले समाजमा आमा सम्मानित हुँदा मात्र समाज सम्मानित हुनेमा जोड दिए। बहसमा वक्ताले कर्णालीमा अहिले पनि छाउपडी अवस्थाको अन्त्य नभएको जनाउँदै मर्यादित महिनावारीको देशका रुपमा नेपाललाई चिनाउनुपर्ने एवं सरकारले विश्वविद्यालयभन्दा आमा र बालबालिकामा लगानी गर्नुपर्ने सुझाव दिए।

सञ्चारकर्मी भूपेन्द्र खड्काले सहजीकरण गरेको ‘आफ्नै कथा आफ्नै बान्की’ शीर्षकमा बहस गर्दै सािहत्यकार बुद्धिसागर, लेखक सरला गौतम, रंगकर्मी हिराबिजुली नेपाली र देउडा गायक नेत्रबहादुर शाहीले कर्णाली भाषा, कला, साहित्य र संस्कृतिले भरिपूर्ण रहेको विचार व्यक्त गरे। कर्णालीले हरेकलाई चिनाउने क्षमता राख्ने भन्दै उनीहरुले राज्यले यसमा लगानी गर्न कञ्जुस्याई गर्न नहुनेमा जोड दिए।

लेखक माधव चौलागाईंले सहजीकरण गरेको ‘कहरी सुकालो होला कहिले जाला कैठ?’ शीर्षकमा बहसमा भाग लिनुभएका सङ्क्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा सुरेश तिवारी र सुर्खेत प्रदेश अस्पतालका डा दुर्गा तिवारीले विकासको सूचक स्वास्थ्य भएको धारणा राखे। उनीहरुले कर्णालीका सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति पूरा गरिए नागरिकले आधारभूत स्वास्थ्य प्राप्त गर्ने बताए।

पत्रकार नगेन्द्र उपाध्यायको सहजीकरणमा ‘हाट जान्या, भोट जान्या’ शीर्षकमा बहस गर्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीमा महिनौ दिन हिँडेर काला पहाड जाने विगतको तितो इतिहास गुजारेर यो ठाउँमा आइपुगेको बताए। मानवशास्त्री डा जनक राईले मानवीय आवश्यकता र भौगोलिक परिवेशका आधारमा लगानी हुनुपर्ने तथा सन्तुलित विकासबाट मात्र मानव सहअस्तित्व कायम हुनेतर्क गरे।

यता डोल्पाका समाजसेवी धनराम बढाथोकीले कर्णालीको डोल्पा र हुम्लाका मान्छेको अवस्था अहिले पनि हाट जान्या, भोट जान्या जस्तै रहेको जनाए। “कर्णाली हिजो नून र नानाका लागि भोट मधेश गथ्र्यो”, बुढाथोकीले भने, “तर त्यो अवस्था अहिले छुटेपनि ती जिल्लामा सडक सञ्जालमा नजोडिनु राज्यको कमजोरी हो।” सिङ्गो देशको विकासका लागि कर्णालीको विकास आवश्यक रहेको उनको भनाइ थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *