८ जना श्रष्टा सम्मानित

डिसी नेपाल
२८ फागुन २०७७ १८:४०

काठमाडौं। नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विभिन्न विधाका ८ जना श्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ। नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम गरी नेपाल कला तथा साहित्य क्षेत्रमा योगदान पुर्याउने ८ जना श्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको हो।

शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७७’ जनगायक रामेश श्रेष्ठलाई प्रदान गरिएको छ। प्रतिष्ठानले विगत १३ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष श्रेष्ठलाई प्रदान गरिएको हो।

प्रतिष्ठानले एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७७’अशेष मल्ललाई प्रदान गरेको छ। नेपाली साहित्यका विशिष्ट साधक स्रष्टा एवम् रङ्गमञ्च सशक्त योद्धा मल्ललाई प्रमाणपत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७७’ कवि तथा पत्रकार ठाकुर बेलबासेलाई प्रदान गरिएको छ। ७५ हजार राशिको उक्त पुरस्कार नेपाली कवितामा शसक्त कलम चलाएर योगदान दिए वापत बेलबासेलाई प्रदान गरिएको आयोजकले जनाएको छ।

यस्तै, ५० हजार राशिका ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार एवम् स्रष्टा लक्ष्मी उप्रेतीले, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार’ चित्रकार विधाता केसी र ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ मिलन नेवारले प्राप्त गरेकी छन्।

यस्तै, डा मधुसूदन गिरी र मनोहर लामिछानेले क्रमशः योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कार प्राप्त गरेका छन्। उनीहरुले प्राप्त गरेको पुरस्कार राशि क्रमशः २५ हजार र २० हजार रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *