गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र स्थापना

डिसी नेपाल
१ चैत २०७७ १०:०६

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ। गाउँमा धुलो र धुँवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ।

गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको हो। यसअघि सदरमुकाम खलङ्गामा मात्रै थियो। गाउँबाट सदरमुकामसम्म आउँदा बिरामीलाई सास्ती हुने गरेको थियो। आँखा उपचार गाउँमै हुन थालेपछि बिरामीलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए।

अब गाउँमै आँखा जाँच र औषधि पनि गाउँमै पाइने भएको छ। रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने अध्यक्ष रावलले बताए। आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिकाले गरेको छ।

सो केन्द्रमा उपकरणको व्यवस्थापन नेपाल नेत्रज्योति सङ्घले गरेको सङ्घका जिल्ला अध्यक्ष धनबहादुर बस्नेतले बताए। आँखा उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले उपचारसँग सम्बन्धित कर्मचारी राखेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ। उक्त उपचार केन्द्रले जिल्लाको क्षेत्र नं (ख) का सर्वसाधारणलाई सेवा दिने छ। सोअन्तर्गत सिँजा गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई उपचारमा राहत हुने सिँजाका प्रवक्ता नवीन शर्माले बताए।

पहिले नेपाल नेत्रज्योति सङ्घले गाउँमा वर्षमा एक/दुईपटक शिविर राखेर मात्र आँखाको उपचार तथा शल्यक्रिया गर्ने गरेको थियो । गाउँका आँखाका रोगीको प्रकृतिका आधारमा विशेषज्ञ गाउँमै बोलाएर शल्यक्रिया हुने गाउँपालिका प्रवक्ता शर्माले बताए। आखाँका रोगीले उपचार खर्च अभावमा रोग लुकाएर गाउँमै थन्किनुपर्ने अवस्था अब नहुने, सकेसम्म स्थानीय सरकारले यहाँका गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा रोगको उपचार गरिदिने गाउँपालिका प्रवक्ता शर्माले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *