खेलकूदबाट बिदा लिएर व्यवसायमा रमाउँदै

रासस
६ चैत २०७७ १५:४९

भजनी । जानकी गाउँपालिका–९ खैरीफाँटाका शिवराज भाटको नाम भलिबलमा चर्चित छ । उनी सुदूरपश्चिमा सो खेलमा सुपरिचित छन । खेल पेशाबाट स्थापित भएका उनी खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा आकर्षित भएका छन । उनले स्थानीयदेखि राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाउने अवसर पाए भने अधिकांश प्रतियोगिताको उपाधिसमेत हात पार्न सफल भए । वि.सं २०५८ देखि भलिबल खेललाई व्यावसायिक खेलको रुपमा लैजाने उद्देश्य लिएका उनी खेलकूदमा सफल हुन भने सकेनन । प्रतियोगितामा आफूले राम्रो सम्मान पाएको उनी बताउछन । “मैले खेल क्षेत्रमा कहिल्यै घमण्ड गरिन । त्यसको परिणाम राष्ट्रिय खेलाडीको रुपमा पनि थुप्रै खेल पनि खेल्ने अवसर पाएँ ।” उनले भने, “साथीभाइसँग रमाइलो, खेलप्रेमीको मायाले मात्र जीवन चलाउन सकिँदोरहेनछ । जीवनको ऊर्जावान् समय खेलकूदमा बिताए पनि अहिले खेलकूद छोडेर व्यावसायिक पशुपालनमा जोडिएको हुँ ।”

उनी भलिबलमात्र नभई फुटबलको पनि राम्रो खेलाडी हुँन । सुदूरपश्चिमस्तरीय फुटबल प्रतियोगिता खेलेका उनले हातको औला भाँच्नुप¥यो । “खेलकूदमै लागेर डोटीमा भएको प्रतियोगितामा मेरो खुट्टामा समस्या देखिएको थियो । डाक्टरले अप्रेशन गर्नुपर्ने भने पनि खर्च बढी लाग्ने भएकाले अप्रेशन गर्न सकेको छैन ।” उनले भने, “खेलकूद क्षेत्रमा लागेर अहिले त्यो दुःख देख्दा आफूलाई पछुतो लाग्छ । एक खेलाडीले आफ्नो उपचार गर्नसक्ने अवस्था अझै बन्न सकेको छ । सरकारले खेलाडीप्रति हेर्ने दृष्टिकोण अझै फेरिएको छैन ।”

वि.सं २०७७ फागुन १० गते अरुण युवा क्लब खैरीफाँटाले आयोजना गरेको खुला भलिबल प्रतियोगिताबाट उनले भलिबल खेल जीवनबाट सन्यास लिईसकेका छन । उनले खेलकूदसँगै व्यवसाय शुरु गरेका थिए । तीन वर्षदेखि व्यावसायिक बङ्गुरपालन शुरु गरेका शिवले अहिले लोकल कुखुरा र कडकनाथको व्यवसाय पनि शुरु गरेका छन । “मैले टर्की, लौकटको व्यवसाय पनि गरेको थिएँ । कोरोनाका कारण भएको बन्दाबन्दीको बेला मासुको अभाव हुँदा सबै बिक्री भए ।” शिवले भने, “सबै परिवार यही व्यवसायमा छौँ । मैले व्यवसायसँगै शिक्षण पेशालाई पनि सँगै अगाडि बढाएको छु ।” जानकी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय अमरावती र अरुर्णोदय माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका छन । विद्यालयमा अध्यापनमात्र नभई खेल शिक्षकको रुपमा पनि काम गर्दै आएका शिवले रारा फाउण्डेशनले किशोरीका लागि खैरीफाँटामा शुरु गरेको फुटबल प्रशिक्षकको रुपमा शुक्रबार र शनिबार काम गर्दै आएको बताएका छन । “आफ्नो क्षमताले काम गर्नसके कसैले पनि पछाडि फर्केर हेर्नू पर्दैन ।” उनले भने, “अब मलाई कुनै कुराको अपुग छ जस्तो लाग्दैन । आफ्नो क्षमताले भ्याएको सबै गरेको छु । परिवारको राम्रो साथ छ ।”

रु छ लाख लगानी गरेर व्यवसाय शुरु गरेका उनी गाउँकै एक नमूना व्यावसायिकको रुपमा स्थापित भएका छन । उनले युवालाई राज्यको खेलक्षेत्रमा स्पष्ट नीति नआएसम्म पूरै समय खेलमा व्यतीत नगर्न आग्रह गरे । उनले आफूले मात्र नभई आफ्नै भाइलाई पनि खेलकूदमै आकर्षित गराउँदा अहिले त्यसको परिणाम आएको बताए । “मेरै प्रशिक्षणबाट स्थापित खेलाडी बनेको कान्छो भाइ नरेश भाट अहिले वैदेशिक रोजगारीमा होमिनुपरेको छ । खेलकूदलाई व्यवसायीकरण गर्न नसकिएसम्म खेल क्षेत्रबाट कसैको भविष्य सुनिश्चित छ जस्तो लाग्दैन ।” उनले भने, “शरीरमा ऊर्जा रहँदासम्म खेलाडी बन्ने हो भने बाँकी जीवन जीउन र परिवार चलाउन कसको सहारा लिने ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *