नेपालीमाथि दुर्व्यवहार गर्ने महिलालाई डाँका मुद्दा, दोषी ठहरिए १६ वर्ष जेल

डिसी नेपाल
७ चैत २०७७ १६:११

काठमाडौं। अमेरिकामा नेपाली उबर चालकमाथि दुर्व्यवहार गर्ने महिलालाई डाँका मुद्दा लगाइएको छ । बुधबार सान फ्रान्सिस्को जिल्ला अटर्नीको कार्यालयले अर्ना किमियाइ नामकी ती महिलामाथि थप २ मुद्दा लगाउने निर्णय गरेको न्यूजवीकले जनाएको छ ।

उनीमाथि कसैलाई जानीजानी बलपूर्वक गम्भीर शारीरिक चोट पुर्याउने प्रयास गरेको फर्स्ट डिग्री डकैती गर्ने प्रयास गरेको मुद्दा चलाइएको छ । उनीमाथि यसअघि नै यातायात चालकमाथि दुर्व्यवहार र स्थानीय स्वास्थ्य नियम उल्लंघनको मुद्दा लगाइसकिएको छ । न्यूजवीकले सान फ्रान्सिस्को जिल्ला अटर्नीको कार्यालयमार्फत पुष्टि गर्दै यी सबै अभियोगमा दोषी ठहर भए किमियाइलाई १६ वर्षसम्म जेल सजाय र ३ हजार डलर जरिवाना हुन सक्ने बताएको छ ।

यी महिलाले नेपाली उबर चालकमाथि मार्च ७ का दिन दिउँसो पौने एक बजेतिर दुर्व्यवहार गरेकी थिइन् । ३२ वर्षका उबर चालक सुभाकर खड्काले किमियाइ, २४ मलेसिया किंग र अर्की एक यात्रुलाई उबरमा चढाएका थिए । केही मिनेटमा उनले एक यात्रुले मास्क नलगाएको थाहा पाएपछि मास्क लगाउन अनुरोध गरेका थिए । उबर कम्पनीको कोभिड–१९ नीतिअनुसार चालक र सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्छ ।

सुभाकरले कार रोकेपछि किमियाइले उनीमाथि अश्लील गाली र अभद्र व्यवहार गरेकी थिइन् । उनकी साथी २४ वर्षकी मलेसिया किंगले आफूलाई कोरोना भएको भनेक िथिइन् र किमियाइले सुभाकरमाथि खोकिदिएकी थिइन् । त्यसपछि किमियाइले अगाडि राखिएको सुभाकरको फोन उठाएकी थिइन् र उनको मास्कसमेत तानेर चुँडाइदिएकी थिइन् । खड्काले तत्कालै आफ्नो फोन र मास्क नियन्त्रणमा लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *