नेपालमा कोरोनाको ग्राफ उकालो : लकडाउनको चिन्ताले साना व्यापारी चिन्तित

तर्कबहादुर थापा
१२ चैत २०७७ ६:५५

काठमाडौं। कोरोनाका विमारीहरु बढेको समाचारले चावहिलमा व्यापार गर्ने इन्दु वर्मालाई पर्नु पिर परेको छ। गत वर्षको चैत महिनाबाट बन्द भएको व्यापार तिहारपछि खोलेकी थिइन् उनले।

‘फेरि लकडाउन हुन्छ की भन्ने पिर छ,’ इन्दुले भनिन्, ‘पोहोरको चैतमा बन्द गरेकी थिएँ। तिहारपछिमात्र सटर खोलेकी हुँ। फेरि लकडाउन भयो भने त के गर्ने भन्ने बारे सोच्न पनि सकेकी छैन।’

गत वर्ष कोरोनाका कारण भएको लकडाउनका बेला घरबेटीसँगको भाडा वार्गेनिङ, छोराछोरीको चाहना पूरा र काठमाडौंमै टिकिरहन गर्नु परेको संघर्षको किताब नै छ वर्मासँग। ‘ओहो! दुःख पनि यति पाइएन र?,’ वर्माले भनिन्।

साइकललाई दोकान बनाएर फलफूल बेच्न सडकमा गुडाउँदै हिँड्ने रामेश्वर यादवको बेथा पनि इन्दुको भन्दा कम छैन। दोकान छोडेर हिँड्दै तराइ पुगेका उनी गाडी चडेर तिहारपछि नै काठमाडौं फर्केका थिए।

‘गाह्रो छ नि हजुर,’ यादवले भने, ‘हामी घर गएथ्यो। ब्यापार नभएर। घरमा बसेर पैसा सकियो। अहिले पनि राम्रो व्यापार भएको छैन। हामीले त मास्क लगाएको छ हजुर। हामीलाई कोरोना लागेर ठिक पनि भयो।’

आफू कोराना लागेर ठिक भए पनि मास्क लगाउन नछोडेको उनको भनाइ छ। यादव आफू जस्तै अरुलाई पनि सचेत भएर व्यापार गर्न सुझाव दिन्छन्। उनले भने, ‘हामी सबै जना सचेत भयो भने किन लकडाउन चाहियो र?’

‘अब त लकडाउन गरे भने पनि बाहिर निस्कनु पर्छ,’ यादवको साइकल दोकानमा २ किलो स्याउको अर्डर गरेकी एक महिला बोलिन्, ‘नेताहरुले लाखौं मान्छे सडकमा उतार्न हुने। हामी गरिवहरुले लकडाउन गरेर घर भित्र मर्नु पर्ने। हामीले त सल्लाह गरेका छौं। लकडाउन भए पनि सडकमा आउने।’

माथिका आवाज कोरोना नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको १ वर्ष पूरा भएपछि जनतामा भएको आक्रोश र चिन्ताको प्रतिनिधि आवाजमात्र हुन्। साना व्यापारी र सर्वसाधारण पुनःलकडाउन हुने कुरामा कोही चिन्तित छन् भने कोही आक्रोशित ।

भारतमा दैनिक ५० हजारका दरले कोरोनाको संक्रमण फैलिइरहेको बेला र नेपालमा पनि पछिल्लो समय कोरोनाको ग्राफ उकालो लागेका बेला आम मानिसमा यस्ता खालका चिन्ता र आक्रोशका आवाजहरु रहेका छन्।

तर, विज्ञहरुले पनि लकडाउन कोरोना नियन्त्रण गर्न असफल टुल्स भएको बताइ रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि लकडाउन सम्बन्धमा कुनै पनि निर्णय नभइसकेको बताएको छ।

स्वास्थ्यका मापदण्डहरुलाई कडाइका साथ पालना गर्न लगायो भने लकडाउन गरिरहन नपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन्। गत १ वर्षको कोरोना अवधिमा सरकारलाई पनि अपूरणीय क्षति भएको छ।

व्यापार व्यवसाय ठप्प हुन हालसम्म ४० प्रतिशत राजस्व उठ्न सकेको छैन। बाँकी ३ महिनामा ६० प्रतिशत राजस्व उठाउनु पर्ने जिम्मेवारी सरकारको काँधमा छ।

पछिल्लो अपेडेट अनुसार नेपालमा कोरोनाका संक्रमित बढ्दै गएका छन्। गत २४ घण्टामा पनि १ सय ४५ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। १ जनाको कोरोनाका कारण ज्यान गएको छ। भने ९० जना निको भएका छन्।

हालसम्म नेपालमा २ लाख ७६ हजार ३ सय ८९ कोरोनाका संक्रमित पुगेका छन्। जसमध्ये २ लाख ७२ हजार १ सय ८७ जनाले कोरोनाको संक्रमण जितेका छन्। अहिलेसम्म ३ हजार २० जनाले ज्यान गुमाएका छन् भने १ हजार १ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

भारतमा गत २४ घण्टामा ५३ हजार नयाँ संक्रमितहरु थपिएका छन्। विगत केही दिनदेखि भारतमा कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै बढेको हो। हालसम्म भारतमा १ करोड १७ लाख ८७ हजार १३ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *