उपचार गर्न खर्च नभएपछि भारतमा नेपाली पिताले ९ वर्षका छोराको हत्या गरे

डिसी नेपाल
१५ चैत २०७७ १४:३९

काठमाडौं। उपचार गर्ने खर्च नभएपछि भारतमा एक नेपाली पिताले आफ्ना ९ वर्षका फरक क्षमताको छोराको हत्या गरेका छन् । गुजरातको कुच भुंजमा सुरक्षा गार्डको रुपमा काम गर्ने ती नेपाली पिताले छोराको हत्या गरेपछि हत्यालाई आत्महत्या देखाउन छोराको शवलाई झुण्ड्याएको समाचारमा जनाइएको छ ।

नेपालको कैलालीका ४० वर्षका हरिश कामीले गुजरातको एक फ्याक्ट्रीमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका छन् । उनी त्यहाँको मुन्द्रा गाउँमा ?प्मती ममता देवी, ९ वर्षका छोरा दिनेश र ६ वर्षकी छोरी ऋतुसँग बस्दै आएका थिए । २२ मार्चका दिन उनले आफ्ना आफन्तहरुलाई आफ्ना छोरा दिनेशले आत्महत्या गरेको बताएका थिए । दिनेश खुट्टाका अपांग थिए ।

एक आफन्तले इण्डियन एक्सप्रेससँग भने ‘कामीले हामीलाई आफ्ना छोराको अन्तिम संस्कारको लागि सहयोग गर्न भने र हाम्रो समुदायका हामी मिलेर गाउँको पोखरीनजिकै शव गाड्न सहयोग गर्यौं । भोलिपल्ट हामी कामीको घरमा बसिरहेका बेला उनकी छोरीले हामीलाई मार्च २२ का दिन आफ्ना पिताले आफूलाई खेल्न पठाएको र दाजु दिनेशलाई कोठामा लिएर गएको बताइन् ।’

छोरीको कुरा सुनेपछि आफन्तहरुले ती अपांग बालकलाई उनका पिताले हत्या गरेको हुन सक्ने आशंका गरेका थिए । यो आशंकासँगै पुलिसलाई खबर गरिएको थियो । पुलिसले दिनेशको शव पोस्टमार्टमको लागि नियन्त्रणमा लिएको थियो । पोस्टमार्टम रिपोर्टमा बालकको घाँटी थिचेर हत्या भएको खुलासा भएको थियो । त्यसपछि पुलिसले कामीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

पुलिससँग सोधपुछका क्रममा कामीले आफ्ना फरक क्षमताका छोराको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका थिए । उनले आफूले छोराको उपचार खर्च धान्न नसकेपछि छोराको हत्या गरेको बताएका थिए । उनले विगत ८ वर्षदेखि छोराको उपचार गराउँदै आएको र अब उपचार खर्च धान्न नसक्ने भएपछि हत्या गरेको बताएका थिए । पुलिसले कामीविरुद्ध हत्याको मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *