साहित्यकार करकापले भइँदैन, रुची चाहिन्छ : रमण घिमिरे

तर्कबहादुर थापा
२१ चैत २०७७ ९:०८

‘कहिल्यै तिम्रो पछ्यौरीमा अल्झें, कहिले तिम्रो चौबन्दीमा अल्झें,’ यो गीत नसुन्ने सायदै होलान्। नेपाली आधुनिक गीतको बगैँचामा आफूलाई कालजयी राख्न सफल यो गीतका लेखक हुन् रमण घिमिरे।

२०४२ सालबाट नेपाली गीतसंगीत लेख्न थालेका घिमिरेले नेपाली पत्रकारितामा ४० वर्ष बढी कलम चलाएका छन्। निबन्धहरु, कविताहरु, नाटकसहित आधुनिक गीत पनि घिमिरेले लेखेका छन्।

घिमिरेले करिव २ सय भन्दा बढी गीतहरु उनको कलमबाट लेखिएका छन्। उनको कलमको मसिले लेखेका गीत विषेश गरी माया प्रेममा आधारित छन्। आफ्नो श्रीमतीलाई सम्झेर बढी गीत लेखेको घिमिरेको अनुभव छ।

नेपाली पत्रकारितामा साहित्य र कलामा मात्र कलम चलाएका घिमिरे पहिलेको पत्रकारिता भन्दा अहिलेको सजिलो भएको अनुभव सुनाउँछन्। उनी प्रविधिका कारण अहिले सजिलो भएता पनि पत्रकारितामा गुणस्तर पहिले नै भएको बताउँछन्। प्रायः सम्पूर्ण विधानमा कलम चलाएका घिमिरेसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली आधुनिक गीतमा यहाँको कलमले कहिलेदेखि मसी ओकल्न सुरु ग-याे ?

मैले २०४२ सालदेखि हो। त्यो भन्दा पहिला पत्रकारितामा थिएँ। ४२ सालमा बुलु मुकारुङले रेडियो नेपालमा रेकर्डिङ सुरु भयो। त्यो भन्दा पहिला मैले कविता लेखेको थिएँ। रेडियोमा गीत त्यो बेलादेखि लेख्न थालेँ। मलाई गीतले चर्चामा ल्याएको थियो। जव गीतले चर्चा लिन थाल्यो अनि गीत लेख्नतिर आकर्षित भएँ।

यहाँको गीतमा माया पिरतीसँगै बिछोडको पनि गन्ध आउँछ भन्छन् नि?

जीवनमा सधैं सुख हुँदैन, सधैं दुःख हुँदैन। सिर्जनामा पनि सुख र दुःख हुन्छ। जुनसुकै सिर्जना पनि दुःखसुखको साथी नै हुन्छन्। मैले देखेका अरुका जीवन गीतमा आए होलान्। पहिलो कुरो त हामीले गीत लेख्न सुरु गरेको बेला सेन्टिमेन्टल गीत भन्छौं, त्यो बेलामा खुब चलेका थिए। त्यो भएर पनि मैले धेरै त्यस्ता गीतहरु लेखेँ होला।

गीतमा त्यो बेलाको ट्रेन कता छ भन्ने पनि बुझ्न जरुरी हुन्छ?

त्यो पनि हो। अग्रजहरुले कसरी लेखिरहनु भएको छ, त्यो बेला कस्ता खालका गीतहरुको लहर चलिरहेको छ भन्ने पनि आवश्यक पर्छ। अग्रजहरुको सिर्जना कता गइरहेके छ भन्ने पनि हुन्छ। म पनि त्यो बेलामा गोपाल योञ्जनसँग प्रभावित थिएँ। उहाँको गीतहरु त्यस्तै हुन्थे। तर, अधिकांश हेर्दा मैले रुमानी गीतहरु नै बढी लेखेको छु।

गीत लेख्न के के कुरा चाहिन्छ ?

गीतमा पनि मान्छेको भोगाइ नै आउने हो। गीतमा, साहित्यमा आफ्नो अनुभव, छरछिमेकको भोगाइ आउने हो। मेरो गीतहरुमा पनि त्यही नै आउँछ। मैले लेखेका अधिकांश खुसीका गीतहरु मेरो श्रीमतीमा केन्द्रित छन्।

जीवनमा सधैं सुख हुँदैन, सधैं दुःख हुँदैन। सिर्जनामा पनि सुख र दुःख हुन्छ। जुनसुकै सिर्जना पनि दुःखसुखको साथी नै हुन्छन्। मैले देखेका अरुका जीवन गीतमा आए होलान्। पहिलो कुरो त हामीले गीत लेख्न सुरु गरेको बेला सेन्टिमेन्टल गीत भन्छौं, त्यो बेलामा खुब चलेका थिए। त्यो भएर पनि मैले धेरै त्यस्ता गीतहरु लेखेँ होला।

जस्तो ‘आदिबाटो हिँडेपछि तिमीसँग भेट भयो, कहिले तिम्रो पछ्यौरीमा अल्झेँ, कहिले तिम्रो चौबन्दिमा अल्झेँ, त्यो भन्दा पहिला मेरो अर्को गीत थियो, अझै पनि लगाउँछौ, त्यो गीत पनि मैले श्रीमतीकै लागि लेखेको हो। मैले लेख्ने गीतहरु श्रीमतीलाई कल्पना गरेर लेखेको हो। मेरा गीतहरु श्रृङ्गार र वियोगान्तमा नै छन्। बढी त श्रृगारिक नै छन्।

दुःख बीना त जीवन नै हुँदैन नि। दुःख भनेको मान्छेको जीवनलाई अगाडि बढाउने यन्त्र नै हो भन्दा पनि फरक पर्दैन। संघर्ष गर्दाका दुःख हुन्छन नि, ती दुःखहरु लेख्दा पछि खुसी मिल्छ। पहिला मैले जुन दुःखका गीतहरु लेखेको छु अहिले सुन्दा आनन्द आउँछ।

पुराना दुःखका गीतहरु अहिले सुन्दा पीडा हुन्छ कि हुँदैन?

पीडा हुँदैन। पीडा त त्यहाँ छोडेर आइएको हुन्छ नि। सिर्जनामा के हुँदो रहेछ भने, जो सर्जक हो त्यसले आफ्नो पीडा अभिव्यक्त गर्न सक्छ। सिर्जना भनेको दुःखको भारी बिसाए जस्तै हो। त्यो अतित भइसक्यो। अतितलाई अहिले हेर्दा, सुन्दा त मलाई आनन्द नै आउँछ ।

आफैंले लेखेको गीत सुनेर खुसी भएको पल छ?

पहिलो गीत सुन्दा भएको थियो। मैले लेखेको गीत रेडियो नेपालबाट बज्दा साह्रै खुसी भएको थिएँ। त्यो बेलाको राम्रो गीत नभए पनि अभिनेता रवी शाहले ल राम्रो गीत लेख्नु भएको रहेछ भन्नु भयो। उहाँपछि धेरैले ल राम्रो छ, राम्रो भन्ने कुरा आयो।

म साप्ताहिक मञ्चमा काम पनि गर्थे, रिपोर्टिङ पनि गर्थें, कोलम पनि लेख्थे। त्यो बेलाको चर्चित पत्रिकामा लेखेको स्तम्भ भन्दा एउटा गतिले मलाई चर्चित बनायो। तपाईँको गीत सुने धेरैले भने, तर तपाईले लेखेको पढेँ कमैले भने। त्यसपछि संगीत भनेको यति लोकप्रिय विधा रहेछ, जनजनमा जाँदो रहेन भन्ने लाग्यो र म गीत प्रति आकर्षित भएँ।

एक दर्जन एक र आखीँ झ्यालमा १३ जनाको जीवनी आउँछ। संजोग कि जानेरै हो ?

संजोगले १३ जनाको जीवनी भएको थियो। नाम के राख्ने भन्ने कुरा भएपछि रंगकर्मी सुनील पोखरेलले एक दर्जन एक राखौँ भन्नु भयो र मलाई पनि ठीक लाग्यो। त्यसपछि ‘अर्थात’ भन्ने निवन्ध लेखेँ। त्यसमा अलि बढी छन्। त्यसपछि आखीँझ्याल लेखेँ र त्यसपछि सुत्रधार लेखेँ।

मैले रंगमञ्चको पत्रकारिता गर्दा ति सबै मानिसहरुसँग नजिबाट परिचित हुने अवसर पाएँ। उहाँहरुलाई नजिकबाट चिनेपछि शिलस्वभाव, अभिनय गर्दाको शैली, निर्देशन गर्दाको प्रविधि, थाहा थियो।

उहाँहरुको रियल्सन पनि हेर्थें र नाटक पनि हेर्थें। मलाई सबै कुरा थाहा भएपछि लेख्न सजिलो भयो। आखीँझ्याल उहाँहरु जीवित हुँदा कुरा गरेको थिएँ त्यसको आधारमा लेखेको हुँ।

कविता, निबन्ध र गीत लेख्दा कुन विधा सजिलो लाग्छ यहाँलाई ?

सजिलो पनि हुन्छ अफ्ठेरो पनि हुन्छ। म एउटा गीत लेख्छु भनेर कल्पना गर्छु। त्यो गीत भइदिँदैन। गीतको निश्चित मिटर हुन्छ। एउटा लय हुन्छ, छन्द हुन्छ। त्यसलाई मिटर भन्छौं हामी। त्यो मिटरमा आफ्नो भाव अभिव्यक्त भएन भने कविता बन्छ। कवितामा पनि भाव अभिव्यक्त भएन भने निबन्ध हुन्छ। म लेख्छु, त्यो गीत, कविता वा निबन्ध के बन्छ पछि थाहा हुन्छ। मैले जसरी पनि अभिव्यक्त गर्ने हो।

जस्तो गीतमा १२ हरफमा आफ्नो सबैकुरा अटाउनु पर्ने हुन्छ। १२ हरफमा नअटाउको कुरा कवितामा जान्छ र कवितामा पनि अटाउन सक्ने अवस्था आएन भने त्यसलाई निबन्ध बनाएर लेख्छु। पहिला लेख्न सुरु गर्छु त्यो कहाँ पुग्छ सकिएपछि थाहा हुन्छ।

मैले पत्रकारिता जीवन जोडेँ, सक्रिय पत्रकारिता छोड्नु भएको हो ?

छैन, मैले अहिले एउटा अनलाइन चलाएर बसेको छु। अक्षरङ भन्ने अनलाइन पत्रिका, जुन विशद्ध साहित्य र कलाको पत्रिका हो। जुन मैले पहिलेदेखि गर्दै आएको विधा पनि हो। झण्डै ४० वर्षको अनुभवमा मैले जहिले पनि रङ पत्रकारिता गरेँ। मेरो ४० वर्ष सिकेको सिपलाई बिसाउने चौतारीका रुपमा मैले अक्षरङ डटकमलाई लिइरहेको छुु।

४० वर्षको लामो पत्रकारिता गर्दा, फिल्ड रिपोर्टिङका बेला भएका केही सम्झनलाएक पलहरु बाँढ्नु हुन्छ कि!

त्यो बेलामा चलचित्र र पत्रकारिता सँगसँगै गइरहेको हुन्थ्यो। हाम्रो भातृवत व्यवहार हुन्थ्यो। कलाकार, सिनेमाका निर्देशक र पत्रकारहरु एकदमै मिल्थ्यौं। मैले त्यो बेलामा रुपरङ भन्ने पत्रिका निकाल्थेँ साप्ताहिक मञ्जबाट। अरु सबै गरेँ झैं लाग्छ।

तर, नेपाली चलचित्रका निर्देशक प्रकाश थापाले नेपाली चलचित्रमा व्यवसायिक धार ल्याउनमा ठूलो योगदान गर्नु भएको थियो। लामो समय मुम्बईमा बसेर, कलाकारिता र अभिनय सिकेर, नेपाल आउनु भयो।

उहाँसँग लामो संगतग रियो। तर, उहाँको केही रेकर्ड राखिएन। त्यो मैले गर्नु पर्ने थियो गरिन जस्तो लाग्छ। अरु सबैको रेकर्ड छ मसँग अहिले पनि। त्यो गर्नु पथ्र्यो तर गरिन झैं लाग्छ।

त्यो बेलाको पत्रकारिता र अहिलेको पत्रकारितामा के फरक पाउनु हुन्छ ?

त्यो बेलामा कठिन थियो। अहिले सजिलो छ। त्यो बेलामा प्रेस पनि राम्रो थिएन। एउटा फोटो छाप्नु पर्दा सूचना विभाग गएर ब्लग बाउनु पर्थो। अहिलेका तपाईँहरुलाई ब्लग भनेको पनि थाहा छैन होला। कलर फोटो भन्ने थिएन। प्रविधिका कारण प्राविधिकरुपमा पत्रकारिता कमजोर थियो। तर, स्तरीयताको हिसाबले त्यो बेलाको पत्रकारिता अलि फरक थियो।

अहिलेको जस्तो हल्लाको भरमा समाचारहरु आउँथेनन्। एकदमै गहिराइमा पुगेर पत्रकारिता गरिन्थ्यो। जे कुरा आउँथ्यो, आधिकारिक आउँथ्यो। पुष्टि भएको कुरा मात्र लेखिन्थ्यो। पञ्च्यायत काल भएकाले गाह्रो थियो, गाह्रोले स्तरीय थियो। त्यो गाह्रोबाट म आएकाले मलाई सजिलो लागेको छ। अहिलेको पत्रकारिताको भाषा त खत्तम छ। एकरुपता छैन। कसले के लेख्छ थाहै हुँदैन।

एकपटक कार्यशाला गोष्ठी पनि भएर भाषाका बारेमा कुरा उठाइएको थियो। पत्रकारहरुलाई भनिएको पनि थियो। तर, ठूला मिडिया हाउसहरुले कसैको सुन्दैनन्। उनीहरु आफूले जे लेख्यो त्यो सही नै हो भन्नेमा छन्। साना भन्दा ठूला मिडियाहाउसहरुले भाषा बिगारेका छन्।

नेपाल म्यागेजिनमा काम गर्दाका केही अनुभवहरु …

मैले १९ वर्ष उक्त म्यागजिनमा काम गरेँ। लगातार १९ वर्ष त्यो म्यागजिनमा काम गरेर छोडेको २ वर्ष मात्र भयो। त्यहाँ काम गर्दा सबै भन्दा ठूलो प्राप्ति त विजयकुमार पाण्डेसँग काम गर्न पाउनु हो। हामी पहिला पनि साप्ताहिक मञ्चमा सँगै काम गथ्र्यौँ। पहिला स्तम्भ लेख्नु हुन्थ्यो।

पछि टेलिभिजन तिर आएर ८ बजे भन्ने कार्यक्रम चलाउनु भयो। उहाँकै कारणले गर्दा म नेपालमा आएको हो। उहाँले आफैं सम्पादन गर्छु भन्ने निर्णय गर्नु भयो। त्यो निर्णयपछि मलाई बोलाउनु भयो। कला साहित्य र भाषा पनि हेर्नुपर्छ भनेर मलाई बोलाउनु भएको थियो।

पाण्डे हुँदासम्म नेपाल एकदमै राम्रो थियो। त्यो विस्तारै समाचारमा आयो। त्यो बेलामा कसैको पनि कविता, कथा, निबन्ध छापियो भने यतिधेरै लोकप्रिय हुन्थ्यो की उसलाई सबैले चिन्थे। नेपाल म्यागजिनमा पनि २ पेज साहित्य र २ पेज कला हुथ्यो। त्यो ४ पेजले सबैलाई धानेको थियो।

यहाँले पनि विजयकुमार पाण्डेको नाम लिनु भयो। विभिन्न प्रसंगमा उहाँले पनि यहाँको नाम लिनु हुन्छ। यहाँहरुको सम्बन्ध कस्तो हो ?

हाम्रो सम्बन्ध नङ र मासु जस्तै हो। उहाँले र मैले सँगै संघर्ष गरेका हौं। साप्ताहिक मञ्चमा, तर उहाँले कार्यक्रममा बोलाउनु भयो र म तीन पटकसम्म गएको छु। साप्ताहिक मञ्चमा काम गर्दादेखिको राम्रो सम्बन्ध अहिलेसम्म पनि जस्ताको त्यस्तै छ।

साहित्य र पत्रकारिता जीवनमा कुन सरल लाग्छ किन ?

पत्रकारिता त आजको दिनसम्म पनि जीविका नै भयो। त्यो त छोड्ने कुरा पनि भएन। साहित्य रुचिको विषय हो। दुबै शब्दको खेति भएका कारण उस्तै उस्तै हुन्। पत्रकारितामा भाषा राम्रो छ भने, तपाईँ शब्दमा खेल्न सक्नु हुन्छ भने, त्यो पनि साहित्य भन्दा कम चर्चा पाउँदैनन नि। धेरै नै पाइन्छ। साहित्य र भाषा जहाँ पनि जोडियो नि त।

नेपालमा लेखेर बाँच्न सजिलो वा गाह्रो के छ ?
पत्रकार भयो भने मात्र हो। साहित्यकार भएर लेखेरै बाँच्छु भन्न सकिँदैन। साहित्यबाट रोयल्टी खाएर बाँच्ने एक जनामात्र हुनुहुन्थयो, डायमन शमशेर राणा, उहाँ जहिले पनि मैले रोयल्टी खाएरै बाँचेको छु भन्नु हुन्थ्यो तर, अहिलेको परिवेशमा त कोही पनि लेखेरै बाँच्ने हुनुहुन्न। लामो समयसम्म पनि त्यो देखिँदैन। फूलटाइम लेखक भएर बाँच्न सकिँदैन। हामीले केही न केही अर्कोकाम गर्नु नै पर्छ।

साहित्यकार बन्न के गर्नु पर्छ ?

पहिलो कुरो त माथिबाट लेखेरै आउनु पर्छ। त्यसपछि अध्ययनशील हुनु पर्यो। अरुको लेखरचना पढ्ने गर्नु पर्यो। आफूले कुन विधामा लेख्ने भन्ने निधो गरेर त्यही विधाको लेखाइ कहाँ पुगेको छ भन्ने बुझ्नु पर्यो। भित्रबाट नै आफुमा रुची पनि हुनु पर्यो। स्वभावतः भित्रबाटै त्यो कुरा आउनु पर्छ। साहित्य करकापले हुने कुरै होइन, रुची हुनु पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *