कोरोनासँगको अर्को लडाईं : स्वास्थ्य मापदण्ड अनिवार्य, अटेर गरे जरिवाना

तर्कबहादुर थापा
२३ चैत २०७७ ७:२३

काठमाडौं। पछिल्लो समय भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेपछि नेपाल उच्च जोखिममा रहेको छ। भारतसँग खुल्ला सिमाना भएका कारण नेपाल कोरोनाको उच्च जोखिममा परेको हो।

जनस्वास्थ्य विज्ञहरुले नेपालमा कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै उच्च सतर्कता अपनाउन बारम्बार आग्रह गरिरहेका छन्। सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन जस्ता टुल्सहरु प्रयोग गर्नसक्ने भएकाले स्वविवेकबाट सतर्क भई कोरोनाको जोखिमबाट टाढा रहन विज्ञहरुले सर्वसाधारणलाई आग्रह गरेका छन्।

जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डे कोरोनाबाट बच्ने अचुक उपाए भनेको दैनिकी नै भएको बताउँछन्। उनका अनुसार हाम्रो दैनिकीमा हुने कामहरुलाई व्यवस्थापन गर्न सक्यौं भने कोरोनाको जोखिमबाट टाढा रहन सक्छौं।

‘कोरोनाको खोप त लगाइएको छ,’ डा. पाण्डेले भने, ‘एक पटक लगाएको खोपले केही हुँदैन। जबसम्म दोस्रो डोज लगाउँदैनौं तबसम्म खोपले कम गर्दैन। त्यसैले दोस्रो डोज खोप लगाउँदासम्म हामीले दैनिकीमा ध्यान दिनु पर्ने हुन्छ। हामीले हाम्रो दैनिकीलाई व्यवस्थापन गर्न सक्यौं भने काोरोनाको संक्रमणबाट मुक्त हुन्छौं।’

विद्यालयहरु, सार्वजनिक यातायात, सार्वजनिक स्थलहरुमा विषेश चेकजाँच हुनेछ। मास्क नलगाएको, गलत तरिकाले लगाएको, भौतिक दुरी कायम नगरेको लगायका अवस्थामा सम्झाइबुझाइ गरिने छ। अडेर गरे कारवाही पनि हुन्छ।

मास्क, सेनिटाइजर र हात धुने बानीले नै हामीलाई कोरोनाबाट टाढा राख्छ। विश्वका सबै देशहरुलाई हेर्ने हो भने भौतिक दुरी, मास्क, सेनिटाइजर लगायतका टुल्सहरुमा कोरोनाको विरुद्ध प्रभावकारी भएको डा. पाण्डेले बताए।

उनले भने, ‘खोप भन्दा प्रभावकारी मास्क छ। भौतिक दुरी छ। यो कसरी सर्छ भन्ने कुरालाई ध्यान दिन सक्नु पर्छ। नाक र मुखबाट निस्किने तरलपदार्थ नजिकैको व्यक्तिको नाक र मुखमा सिधै परेको खण्डमा कोरोना सर्छ। हामीले त्यो कुरालाई मात्र रोक्न सक्यौं र हातलाई नियमित धुन सक्यौं भने कोरोनाबाट बच्न सक्छौं।’

सचेतना अभियान चलाएका छौं : प्रमुख जिल्ला अधिकारी काठमाडौं

जनघनत्व बढी भएको संघीय राजधानी काठमाडौं कोरोनाको अतिउच्च जोखिमयुक्त जिल्ला हो। उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोनाको संक्रमितहरु अत्याधिक छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौं जिल्लामा मात्र १ लाख ४ हजार १ सय ५५ कोरोनाका संक्रमित रहेका छन्।

यस्तै, भक्तपुरमा ९ हजार ४ सय ४४ र ललितपुरमा १६ हजार ४ सय ७६ कोरोनाका संक्रमित रहेका छन्। नेपालमा भएको कुल संक्रमितको संख्याको करिव ३८ प्रतिशत काठमाडौं जिल्लामा मात्र रहेको छ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली कोरोनाको संक्रमण पहिले जस्तो फैलिन नदिन सचेतना अभियान चलाएको बताउँछन्। उनले भने, ‘मैले भन्दै आएको कुरा हो। काठमाडौं जिल्लामा हामी सचेतना अभियान चलाइरहेका छौं।’

पराजुलीका अनुसार विद्यालयहरु, सार्वजनिक यातायात, सार्वजनिक स्थलहरुमा विषेश चेकजाँच हुनेछ। मास्क नलगाएको, गलत तरिकाले लगाएको, भौतिक दुरी कायम नगरेको लगायका अवस्थामा सम्झाइबुझाइ गरिने छ। अडेर गरे कारवाही पनि हुन्छ।

‘हो अटेर गर्नेलाई कारबाही पनि गर्ने भन्ने कुरा छ,’ पराजुलीले भने, ‘हामीले बढी मानिसहरुको भीड हुने ठाउँहरुमा मास्क, सेनिटाइजर र भौतिक दुरी लगायतका विषयमा ध्यान दिन भनेका छौं। र अटेर गर्नेलाई कारवाही गर्न समेत आदेश छ।’

जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले, स्वास्थ्य प्रोटकल लागू गरे नगरेको अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

कोरोनाको अवस्था

नेपालमा गत २४ घण्टामा १ सय ७६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ७७ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरानाका कारण नेपालमा ३ हजार ३२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ७३ हजार २ सय ४० जना संक्रमण मुक्त भएका छन्।

भारतमा गत २४ घण्टामा १ लाख ३ हजार ७ सय ९३ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड २५ लाख ८७ हजार ९ सय २० पुगेको छ। कोरोनाबाट हालसम्म १ लाख ६५ हजार १ सय ३२ जनाले ज्यान गुमाएको भारतमा गत २४ घण्टामा करिव ५ सयको मृत्यु भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *