अमेरिकामा १२ वर्षकी बालिकालाई यौन सम्बन्धका लागि फकाउने नेपाली दोषी ठहर

डिसी नेपाल
२३ चैत २०७७ १४:२३

काठमाडौं। अमेरिकामा बस्ने एक नेपाली युवालाई त्यहाँको एक संघीय अदालतले १२ वर्षकी गर्भवती बालिकालाई यौनसम्बन्धका लागि फकाएको आरोपमा दोषी ठहर गरेको छ । अमेरिकाको न्याय विभागका अनुसार ३२ वर्षका संजय लामा दोषी ठहर भएका हुन् । फ्लोरिडाको ज्याक्सनभिले बस्ने उनलाई कम्तीमा १० वर्षदेखि आजीवन जेल सजायसम्म हुनसक्ने विभागले जनाएको छ ।

लामालाई २०१९ को सेप्टेम्बर २५ मा ज्याक्सनभिलेबाट पक्राउ गरिएको थियो । त्यसपछि अहिलेसम्म उनी जेलमै थिए । उनलाई आउँदो जुलाइ १९ मा सजाय सुनाउनको लागि अर्को सुनुवाइ तोकिएको छ । नेपाली नागरिक लामा घटनाको समयमा ज्याक्सनभिलेमा कानुनी रुपमा बस्थे र स्थानीय कम्पनीमा सूचना प्रविधि विशेषज्ञको रुपमा काम गर्थे ।

अदालतमा पेश गरिएका प्रमाणअनुसार अनलाइनमा १२ वर्षकी गर्भवती बालिकाको रुपमा देखिएका अण्डरकभर एफबीआइ एजेन्टसँग लामाले सम्पर्क गरेका थिए । अनलाइनमा कुरा गर्ने क्रममा उनले ती बालिकालाई यौन सम्बनधका लागि भेट्न फकाएका थिए जबकि अनलाइनमा बालिकाको रुपमा कुरा गर्ने व्यक्ति वास्तवमा एफबीआइ एजेन्ट थिए ।

लामाले ती बालिकालाई यौन सम्बन्धका लागि भेट्ने इच्छा जनाउँदै १६० वटा टेक्स्ट म्यासेज पठाएका थिए । उनले आफूले बालिकासँग गर्न चाहेका यौनजन्य क्रियाकलापबारे पनि बताएका थिए । त्यस दिन दिउँसो उनी डाउनटाउन ज्याक्सनभिलेमा रहेको आफ्नो काम गर्ने ठाउँबाट निस्केर मोटरसाइकलमा बालिकासँग भेट्न निर्धारित स्थानमा पुगेका थिए ।

उनले ती बालिकालाई नजिकै रहेको आफ्नो फ्ल्याटमा लैजाने योजना बनाएका थिए । जब लामा भेट्न निर्धारित ठाउँमा पुगे त्यहाँ एफबीआइ एजेन्ट पनि पुगे । त्यतिबेलासम्म पनि लामाले ती बालिकासँग फोनबाट म्यासेजमा कुरा गरिरहेका थिए । उनलाई त्यहीँबाट पक्राउ गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *