बन्द नै अन्तिम उपाए नभएको भन्दै विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

तर्कबहादुर थापा
३० चैत २०७७ ११:५६

काठमाडौं। कोरोनाको नाममा विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाहरुले सुझाव दिएका छन्। सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा सबै अधिकार स्थानीय सरकारलाई दिन समेत सुझाव दिइएको नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जुले डिसी नेपाललाई जानकारी दिए।

ब्याञ्जुका अनुसार अहिले नै कोरोनाको संकट देखाएर विद्यालय, उद्योगधन्दाहरु बन्द गरे देशले अझै ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्ने हुन्छ। उनले भने, ‘स्थानीय सरकारलाई पनि धेरै अधिकारहरु छन्। अधिकारलाई विकेन्द्रीकरण गरिदिएपछि सरकारलाई पनि सजिलो हुन्छ।’

‘कुनै एक ठाउँमा कोरोना फैलियो भन्दैमा देशभरीका विद्यालय, उद्योगधन्दा, कलकारखाना सबै बन्द गरेर के हुन्छ?,’ ब्याञ्जुले भने, ‘स्थानीय सरकारलाई दिएको अधिकार अनुसार उहाँहरुले नै कुन ठाउँ, के कारण, कतिसम्म बन्द गर्ने जस्ता निर्णय गरिहाल्नु हुन्छ नि।’

स्थानीय तहले नै कोरोना प्रभावित क्षेत्रका बारेमा बुझेर बन्द गर्ने, नगर्ने, कति दिन गर्ने भन्ने विषयमा निर्णय लिने उनको भनाइ थियो। उनले भने, ‘सरकारले स्वास्थ्य मापदण्ड अपनाएकोर÷नअपनाएको हेर्नुपर्छ। सचेतनाका काम गर्नु पर्छ।’

ब्याञ्जुले विद्यालयमात्र नभएर उद्योगधन्दा, कलकारखान र व्यापार व्यवसायसमेत सञ्चालन गर्नु पर्ने बताए। ‘सबै बन्द गरे त देशले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु पर्छ नि।’

शिक्षा मन्त्रालयमा आयोजित छलफलमा शिक्षा मन्त्रालयका सचिव, नगरपालिका संघका अध्यक्ष, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि, शिक्षा सम्बन्धि काम गर्ने सम्पूर्ण संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको  थियाे।

हामी सचेतना अपनाउँन तयार छौं : प्याप्सन अध्यक्ष पुरी

प्याब्सन अध्यक्ष टिकाराम पुरी स्वाथ्य मन्त्रालयले बनाएको प्रोटोकल अपनाएर विद्यालय सञ्चालन गर्न तयार रहेको बताउँछन्। डिसी नेपालसँग कुरा गर्दै अध्यक्ष पुरीले भने, ‘सबै भन्दा सचेत व्यक्तिहरुको संगठन भनेकै शिक्षण संस्था हुन्। हामीले नै स्वास्थ्यको मापदण्ड नअपनाए कसले अपनाउँछ। तर, कोरोनाको नाममा विद्यालय बन्द हुन भने हुँदैन।’

शिक्षा मन्त्रालयले बनाएको विद्यालय संचालन सम्बन्धि कार्यविधि २०७७ लाई पूर्ण रुपमा पालना गर्न तयार रहेको बताए। उनले भने, ‘विद्यालय संचलन कार्यविधि सरकारले बनाएर दिएको छ। हामीले कार्यविधि अन्तर्गत रहेर विद्यालय संचालन गर्नुपर्छ। त्यो गर्न हामी तयार छौं। गरेका पनि छौं।’

दिन लामो भएका कारण विद्यालयले दुई सिफ्ट गरेर संचालन गर्न सक्ने, भौतिक दूरी कामय गराउन सक्ने, बेलाबेलामा कक्षा कोठालाई डिसइन्फेक्टेड गर्ने, स्यानिटाइजर प्रयोग गराउने लगायतका काम हरेक विद्यालयले गर्ने र गर्नै पर्ने पुरीको भनाइ छ।

गत वर्ष पनि कोरोनका कारण शैशिक्ष सत्र नै प्रभावित भएको भन्दै पुरीले भने, ‘हामीले एक वर्ष लामो अनुभव गरेका छौं। यो अनुभवले हामीलाई धेरै कुरा सिकाएको छ। त्यो सिकाइ अनुसार हामी आउने शैक्षिक सत्रलाई व्यवस्थित गछौं। तर फेरि पनि दोहो¥याएर भन्छु विद्यालय बन्द गरेर कोरोना निको हुने होइन्।’

प्याब्सन र एनप्याब्सनका प्रतिनिधि, स्थानीय सरकार लगायतको टोलीले स्वास्थ्यका मापदण्ड अपनाएको÷नअपनाएको अनुगमन गर्नु पर्ने अध्यक्ष पुरीले बताए।

कोरोनाको हालको अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ३ सय ३ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। १ जनाले कोरोनाका कारण ज्यान समेत गुमाएका छन्। अझै पनि ८३ जना क्वारेन्टाइनमा रहेका छन् भने, २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन्।

गत २४ घण्टामा डिस्चार्ज भएका १ सय ४१ जनासँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ। हालसम्म नेपालमा २ लाख ८० हजार २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। ३ हजार ४० जनाले ज्यान गुमएका छन्।

खुल्ला सिमाना भएको भारतमा गत २४ घण्टमा १ लाख ६९ हजार बढी संक्रमित थपिएका छन् भने सबैभन्दा बढी नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा संक्रमित थपिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *