कप्तानले रेकर्ड शतक बनाउँदा पनि हार्‍यो राजस्थान

डिसी नेपाल
३१ चैत २०७७ १०:३६

काठमाडौं। इण्डियन प्रिमियर लिगको चौथो खेलमा राजस्थान रोयल्सका कप्तान संजू सामसनले तुफानी शतक बनाए पनि टिमलाई जिताउन भने सकेनन् । वानखेडे मैदानमा पंजाब किंग्सविरुद्ध उनले ६३ बलमा ११९ रन बनाए । आइपिएलमा कप्तानको रुपमा यो उनको पहिलो खेल थियो । कप्तानको रुपमा डेब्यू खेलमा शतक बनाउँदै उनले रेकर्ड बनाएका छन् । संजू आइपिएलमा कप्तानको रुपमा डेब्यू खेलमा शतक बनाउने एकमात्र खेलाडी बनेका छन् ।

६३ बलमा ११९ रन बनाउने क्रममा संजूले १२ चौका र ७ छक्का हाने । यो उनको आइपिएल करिअरको तेस्रो शतक हो । यसअघि २०१७ मा पुणेविरुद्ध र २०१९ मा हैदराबादविरुद्ध उनले शतक बनाएका थिए । आइपिएलमा भारतीय खेलाडीको शतकको संख्याको हिसाबले उनी विराट कोहलीभन्दा मात्रै पछि छन् । कोहलीले ५ शतक बनाएका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । पंजाबका लागि कप्तान केएल राहुलले ९१, दीपक हुडाले ६४ र क्रिस गेलले ४० रन बनाए । लक्ष्य पिछा गर्ने क्रममा राजस्थानको सुरुवात राम्रो भएन तैपनि संजू सामसनले खेल अन्तिमसम्म पुर्याएका थिए । तर, अन्तिम बलमा छक्का हान्ने क्रममा उनी आउट भएपछि राजस्थानले ४ रनले हार्यो । राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन मात्र बनाउन सक्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *