मास्क प्रयोग नगरे रु ५० जरिवाना

डिसी नेपाल
१३ वैशाख २०७८ २२:३८

महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ ।

पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपाईँको मास्क खै ? अनिवार्य मास्क लगाउनु है”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

दुई सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा सोमबार दुबै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणपछि दुबै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए । उनले हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए ।

त्यसैगरी, यहाँको गड्डाचौकी नाकाबाट भारत जान सोमबार बिहानदेखि रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए । उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *