नेपाली सेनाले तोक्यो चार कमाण्डरहरु, सैनिक सचिवमा पनि उपरथी

डिसी नेपाल
१६ वैशाख २०७८ ०:०६

काठमाडौं । मुलुकभर चार कमाण्ड हेड्क्वार्टरहरुको नयांँ कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयाँ कमाण्डरहरु तोकेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसअनुसार, प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा नयाँ कमाण्डरहरुको तोक्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए। नेपाल सरकारको निर्णयअनुसार, नयाँ कमाण्डरहरुमा उपत्यका कमाण्ड हेडक्वार्टरमा उपरथी अशोकराज सिग्देलले जिम्मेवारी पाएका छन्।

यसअघि उपरथी सिग्देल मध्य पृतना हेडक्वार्टर हेटौंडाका पृतनापति थिए। त्यसैगरी पश्चिम कमाण्ड हेडक्वार्टरको कमाण्डरमा उपरथी विज्ञानदेव पाण्डे चयन भएका छन्। यसअघि उनी उत्तरपश्चिम पृतनाका पृतनापति थिए।

समाचारअनुसार, मध्य कमाण्ड हेड्क्वार्टरका कमाण्डरमा उपरथी विनयविक्रम राणाले जिम्मेवारी पाएका छन्। यसअघि उनी पश्चिम पृतनाका पृतनापति थिए। त्यसैगरी उपरथी सन्तोषकुमार ढकाल पूर्वी कमाण्ड हेडक्वार्टरका कमाण्डर चयन भएका छन्। ढकाल यसअघि पूर्वी पृतना हेड्क्वार्टरका पृतनापति थिए।

नेपाली सेनाले नयां संरचनाअनुसार, प्रधानसेनापतिको कार्यालयका सैनिक सचिवको पदलाई सहायक रथीबाट पदोन्नति गरी उपरथी राख्ने भएको छ। सेनाभित्रको शक्तिशाली मानिने सैनिक सचिवमा उपरथीको हैसियतले जर्नेल वालकृष्ण कार्कीको सरुवा भएको छ । यसअघि उनी कार्यरथी विभागमा कार्यरत थिए।

त्यसैगरी सेनाभित्रको अनुसन्धान र विस्तार निर्देशनालयमा यसअघि सहायक रथीले नेतृत्व गर्दै आएकोमा अवदेखि उपरथीले नेतृत्व गर्ने भएका छन्। सो विभागमा उपरथीको हैसियतमा जर्नेल निर्मलकुमार थापा चयन भएका छन्। यसअघि उनी सुदूर पश्चिम पृतनापतिका रुपमा कार्यरत थिए।

यसअघि सहायक रथी प्रमुख रहँदै आएको सेनाको कल्याणकारी योजना निर्देशनालयको प्रमुख पद पनि उपरथीले सम्हल्ने भएका छन्। सो पदमा जर्नेल आनन्दकुमार अधिकारी सरुवा भएका छन्। यसअघि उनी उपत्यका पृतनापति पदमा कार्यरत थिए।

यसैगरी मध्यपूर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की कार्यरथी विभागमा सरुवा भएका छन् भने सहायक रथीहरु १४ नं वाहिनीअड्डाका योगराज शर्मा उपत्यका कमाण्डको सहायक कमाण्डरमा सरुवा गरिएका छन्।

नम्बर ७ वाहिनी अड्डाका बाहिनपति सहायक रथी कृष्णदेव भट्टलाई मध्यकमाण्डको सहायक कमाण्डर, विशेष फौज वाहिनीका वाहिनीपति सहायक रथी अनुपजंग थापालाई पूर्वी कमाण्डरको सहायक कमाण्डर, नम्बर ५ वाहिनीपति सहायक रथी नकुलबहादुर रायमाझीलाई पश्चिम कमाण्डको सहायक कमाण्डर, नम्बर ९ वाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाहलाई विशेष फौज वाहिनी, काठमाडौंमा र पश्चिम पृतनापति कार्यालयका सहायक रथी शिशिरचन्द्र केसीलाई नं ९ वाहिनी अड्डाको वाहिनपतिमा सरुवा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *