अधिकारविहीन खुल्ला जेलबाट मुक्त गरेकोमा राष्ट्रपतिलाई धन्यवाद : अमिक शेरचन

डिसी नेपाल
२१ वैशाख २०७८ ९:५५

काठमाडौं। गण्डकी प्रदेशका  निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई अधिकार विहीन खुल्ला जेलबाट मुक्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद भनेका छन्। प्रदेश प्रमुखको पदबाट विदाइ हुँदै गर्दा पत्रकारसँग कुराकानी गर्दै शेरचनले १८ महिना २ दिन खुल्ला जेलमा बसेको टिप्पणी गरे।

‘पत्रकार सम्मेलन गर्ने अवसर आजका लागि नै जुटेको रहेछ,’ शेरचनले भने, ‘त्यै पनि आफूलाई भाग्यमानी अनुभूति गरेको छु’ उनले आफूले पदमा बस्दा कुनै पनि असंवैधानिक काम नगरेको जिकिर गरे।

शेरचनले भने, ‘मैले कुनै पनि असंवैधानिक काम गरेको छैन। मलाई पदको लोभ पनि हुँदेन। ज्ञानेन्द्र शाहले कू गरेका बेला प्रधानमन्त्रीको अफर आयो, एमालेका अध्यक्ष मनमोहनको निधनपछि पार्टी अध्यक्षको अफर र रामवरण यादवपछि राष्ट्रपतिको अफर पनि आएको हो। मैले कुनै पनि पद स्वीकार गरिन।’

आफू सधै सर्वहारा वर्गको इमान्दार साथ भएको उनको भनाइ थियो। उनले वर्ग संघर्षमा जीवन बिताउने योद्धा भएको बताएका छन्। ‘विस्तारवाद र साम्राज्यवादको विरुद्धको संघर्षमा कुनै षड्यन्त्र र गद्धारी पनि गरेको छैन,’ पत्रकार सम्मेलनमा शेरचनले भने।

मन्त्री पदमा रहँदा घुस खुवाउन खोज्ने डिजीलाई आफूले पदमुक्त गरिदिएको उनको भनाइ थियो। शेरचनले नेपाली गणतन्त्रको यात्रामा आफ्नो ढाड, गर्धन, हात र खुट्टा सबै फूटाएको जिकीर समेत गरे।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिकमा तत्कालीन नेकपा माओवादीतर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर शेरचनको ठाउँमा सीता पौडेल र त्रिपाठीको ठाउँमा गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *