कृष्ण थापा : गण्डकी प्रदेशका ‘किङमेकर’

सम्भव सिंह ठकुरी
१२ जेठ २०७८ १४:३०

काठमाडौं। पार्टीको निर्देशन नमानेको र संसदीय दलको ह्वीपलाई समेत उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाको शनिबार बसेको केन्द्र्रीय समितिको बैठकको निर्णयले सांसद कृष्ण थापालाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ।

गण्डकी प्रदेश सरकार ढाल्न र नयाँ सरकार गठन गर्न निर्णायक शक्तिका रुपमा देखिएका सांसद थापा गत बैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले राजीनामा दिएपछि नयाँ सरकार बनाउन विपक्षी गठबन्धनको सांसद हस्ताक्षर अभियानमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि गुरुङ सरकारले नै निरन्तरता पाएको थियो। जसका कारण विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिएका थिए।

संसदीय व्यवस्थामा एक व्यक्ति र एक सांसदको महत्व पनि कति धेरै हुन्छ भन्ने कुरा गण्डकी प्रदेश सांसद थापाले प्रमाणित गरेका छन्। उनले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप नमानेपछि पार्टीको कारबाही भोगिरहेका छन्। तर उनी भन्छन्, ‘मेरै कारणले गण्डकी प्रदेशमा गुरुङ सरकारले निरन्तरता पायो। र, यहाँ स्थिरताको सन्देश दिएको छु।’

कारवाहीको विषयमा सांसद थापा के भन्छन्?

गण्डकी प्रदेश जनमोर्चाका संसदीय दलको नेता तथा पार्टीको केन्द्रीय सदस्य कृष्ण थापा विगत ३५ वर्षदेखि अनवरत रुपमा पार्टीको सक्रिय राजनीतिमा होमिएको बताउँछन्।

पार्टीको भूमिगत संघर्षदेखि ०५१ सालपछि संसदीय अभ्यासलाई अबलम्वन गर्दाको तिता मिठा सबै अनुभव उनले भोगेका छन्। ‘शनिबार पार्टीको केन्द्रीय समितिको बैठकले मलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्यो भन्ने कुरा सामाजिक सञ्जालबाट सुनेको छु। तर कारवाही भएको कुनै आधिकारिक पत्र पाएको छैन,’ उनले भने।

थापा भन्छन्, ‘पार्टीको निर्देशन र संसदीय दलको ह्वीप नमान्नुको पछाडि मेरो कुनै व्यक्तिगत स्वर्थ लुकेको छैन। देशभरि कम्युनिष्ट सरकारको लहर आएको थियो। केन्द्रीय सरकारमा पनि झण्डै दुई तिहाइ कम्युनिष्ट बनेको थियो। तर नेताका व्यक्तिगत स्वार्थका कारण पार्टी र सरकारले निरन्तरता पाउन सकेन। त्यसैले गण्डकी प्रदेशमा कम्युनिष्ट सरकारलाई जनताले दिएको मत अनुसार निरन्तरता, स्थिरता र स्थायित्वको लागि मैले विपक्षी गठबन्धनमा बन्ने नयाँ सरकारका लागि हस्ताक्षर नगरेको हुँ।’

पार्टी भित्रकै केही साथीहरुले आर्थिक प्रलोभनमा परि पार्टीलाई धोका दिएको आरोप लगाएर आफ्नोे चरित्रहत्या गरेको भन्दै गुनासो गरे। उनले भने, ‘ती साथीहरुलाई म चुनौती दिन चाहन्छु, यदी त्यो कुरा प्रमाणित भयो भने म जस्तो सुकै कानूनी सजाय भोग्न तयार छु। नत्र भने प्रमाण बिना कसैले, कसैको नैतिक चरित्र हत्या गर्ने अधिकार हुँदैन।’

पार्टीले कारवाही गरिसकेपछि राजनीति गर्ने मान्छेलाई कुनै दल त चाहिन्छ, कुनै पार्टी प्रवेश गर्ने योजनामा हो? भन्ने प्रश्नमा उनले भने, ‘जनमोर्चा पार्टी भन्दा अरु पार्टी रोज्नु भनेको कल्पना भन्दा बाहिरको कुरा हो। जीवनका सारा शक्ति यही पार्टी निर्माण गर्ने काममा प्रयोग गरेँ। अब उमेरले पाको भइसकेपछि अन्य दल रोज्नु उत्तम विकल्प होइन।’

उनले पार्टीको ह्वीप नमान्दा आफूलाई कुनै पश्चाताप नलागेको बताए। उनले आफूले स्वविवेकले निर्णय लिएको भन्दै आफूले लिएको निर्णयले गण्डकी प्रदेशमा राजनीतिक स्थिरता कायम भएको बताए।

एक वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका थापा सांसद पदबाट भने कारबाहीमा परेका छैनन्। पृथ्वीसुब्बा गुरुङ पुन गत बैशाख ३० गते मुख्यमन्त्रीमा नियुक्ति भएसँगै तीस दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर सांसद थापा भने गुरुङलाई मत दिने अवस्था आयो भने तटस्थ बस्ने बताए।

कुल ६० सांसद भएको सो प्रदेशमा एमालेसँग २७ र एक स्वतन्त्र सांसदसहित २८ रहेका छन्। कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको गठबन्धनमन ३१ सांसद छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *