तराईमा कोरोना सङ्क्रमितहरूको भोगाइ : होमआइसोलेसनमा बस्दा १५ दिन सामाजिक सञ्जालबाट टाढै बस्याैं – Dcnepal

तराईमा कोरोना सङ्क्रमितहरूको भोगाइ : होमआइसोलेसनमा बस्दा १५ दिन सामाजिक सञ्जालबाट टाढै बस्याैं

सप्तरी। सप्तरीमा कोरोना सङ्क्रमणमा परी निको भएर घर फर्किएकाहरुले विरामी परेको बेला छिमेकी, आफन्त र सुभचिन्तकहरुबाट सकारात्मक व्यवहारको अपेक्षा गरेको पाइएको छ। सामाजिक सञ्जालको कोरोना सम्बन्धी समाचार, श्रद्धाञ्जलीले सङ्क्रमणमा परेकाहरुलाई त्रसित बनाउने र अत्याउने गरेको उनीहरुको अनुभव छ।

खानामा स्वाद आउन छाडेपछि डराएका सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका – १२ का ५८ वर्षीय नागेश्वर चौधरीलाई सय डिग्री ज्वरोसमेत आउनथालेपछि हत्तपत्त मेयरको सम्पर्कमा गए। मेयरको सहयोगमा जोगिनियामा पिसिआर टेस्ट गराउँदा कोरोना पोजेटिभ देखियो।

चौधरीको अक्सिजन लेभल ९० देखिएपछि उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइयो। उनी अस्पताल जानलाग्दा घरमा छोरा र परिवारका सदस्यहरु भक्कानिएर रोएका थिए। तर कोरोना पोजेटिभ देखिएका चौधरी भने आत्तिएनन्।

उनले भने, ‘म आत्तिन, बरु घरका सबैलाई नरोऊ भने।’ आफूलाई केही हुँदैन भनेर घरपरिवारलाई ढाड्स दिएको चौधरीले बताए। आफू निको भएर आउँछु भनेर एम्बुलेन्समा चढी अस्पताल गए।

चौधरीले आफू अस्पताल पुगेपछिको अनुभव सुनाउँदै भने, ‘एम्बुलेन्सबाट ओर्लेर कोरोनाको बिरामीको उपचार गर्ने कोठा तिर लागेँ। चारै तिर लथालिङ्ग देखेँ। रिपोर्ट दिएर एडमिटका लागि कुरा गर्दा आलटाल गरेको देखियो,’ चौधरीले थपे, ‘केही बेर पछि एक जना नर्सले उनलाई माथि जानू भनिन्।’ उनी माथि चढ्दै गर्दा जतापाए त्यतै अव्यवस्थित तरिकाले उपचार भइरहेको देखेपछि माथि चढ्ननै नसकी फनक्क फर्किएका थिए।

उनले भने,‘ त्यति सिढी चढ्न मलाई एकदमै गाह्रो भयो। तल उत्रिए पछि के गरूँ? कसो गरूँ ? जस्तो भयो।’ चौधरीलाई एम्बुलेन्सले पुर्याएको सरकारी अस्पतालमा उपचार गर्न मनले नै मानेन्। त्यसपछि उनको आफन्त राजविराजका पूर्व मेयर शैलेश चौधरीलाई सम्झना गर्दै फोन गरे। कोरोना पोजेटिभ देखिएका विरामी चौधरीले फोनबाटै पूर्वमेयरलाई अस्पतालको अवस्थाबारे अवगत गराए।

पूर्व मेयर चौधरीले बिरामीलाई नजिकै रहेको छिन्नमस्ता अस्पतालमा भर्ना हुन भने। गजेन्द्रनारायण सिंह अस्पतालबाट छिन्नमस्ता अस्पताल पुग्न मुस्किलले २ मिनेट लाग्छ । बिरामी चौधरी त्यहाँबाट छिन्नमस्ता अस्पताल तिर लागे।

उनी एम्बुलेन्सबाट निस्किएर सरकारी अस्पताल पुगेर नर्शहरुले माथि जानुस् भनेपछि सिँढीमा तलमाथी गर्दा निकै कमजोर भइसकेका थिए। एम्बुलेन्सले छोडेर गयो। नर्शहरुले आफैं माथि जान भन्छन्। अलमलमा परेका विरामी चौधरीले हिम्मत गरेर पूर्वमेयरले भनिदिएको अस्पताल तर्फ एक्लै हिडेँ।

दुई मिनेट पैदल यात्रा गरेर पुगिने अस्पताल जान त्यसदिन उनलाई करिब एकघण्टा लागेको थियो। चौधरी भन्छन्, ‘धेरै कमजोर भएकोले बाटोमा पाँच पटक बसेर बल्लतल्ल अस्पताल पुगे।’

अस्पताल पुग्ने बित्तिकै उनलाई बेडमा राखेर अक्सिजन लगाइयो। आवश्यक औषधी दिइयो उनको उपचार शुरू भयो। उनले भने, ‘म अलिकति पनि डराइन।’ उपचार शुरूभएको सात घण्टामा अलि रिलिफ महशुस भयो। त्यस बेलासम्ममा उनलाई भोक लागि सकेको थियो।

उपचार त हुँदैछ तर खानपिनमा बिशेष ध्यान पुर्याएपछि मात्र कोरोनालाई जित्न सकिन्छ भन्ने उनलाई अनुभुति भयो। चौधरी भन्छन्, ‘आर्मीमा रहेका उनका कान्छा छोरालाई फोन गरेर अस्पताल बोलाएँ।’

उनको छोरा नौं बजे राति अस्पताल आइपुगे। उनले भने, ‘त्यसपछि उपचारसँगै खानपिन र स्यहार राम्रो व्यवस्था भएपछि २४ घण्टामा ज्वरो निको भयो।’ ‘अस्पतालमा नर्सहरूको निगरानीमा औषधि खाएपछि ८ दिनमै कोरोना निगेटिभ आएको चौधरीले बताए ।

उनी अस्पतालबाट डिस्चार्ज भए। उपचार भएर घर आएपछि अहिले उनको अवस्था पहिले जस्तै सामान्य छ। उनी भन्छन् ‘समयमा राम्रो उपचार हुनुपर्छ तर एकजना आफ्नो मान्छेको साथ हुनुपर्दछ। ’ ‘आफ्नो मान्छे भएपछि यसबाट मानिस मर्दैन्’ चौधरीको दावी छ ।

अस्पतालको आफ्नो अनुभव सुनाउँदै चौधरीले भने, ‘कोरोनालाई जित्न केही गर्नु पर्दैन। हरेस खानु हुदैन् । आत्मबल बलियो बनाउनु पर्छ ।’ उनले थपे, ‘उपचार समयमा शुरु हुनुपर्छ ।’ साथै दाल, भात, तरकारी सादा खाना, बिहान बेलुका २÷२ वटा अण्डा र तातोपानी खाए पुग्ने उनले बताए।

राजविराज नगरपालिका – ७ का ३८ वर्षीय शोभाकान्त मण्डल बैशाख २० गते कामको सिलसिला जनकपुर गएका थिए। २१ गते फर्किने क्रममा बाटोमा पानी पर्यो। उनी अलिकति भिजे। २२ गते उनलाई हनहनी ज्वरो आयो।

डाक्टरसँग सल्लाह लिएर औषधि खाए। ज्वरो राम्ररी निको भएन, एकदमै सहनै नसक्ने गरि खोकी लागि रह्यो। छाती दुख्न थाल्यो। एकदमै थकान महशुस भयो। मण्डललाई खानाको स्वाद लाग्न छोड्यो। एकदमै कमजोर भएको अनुभुति गर्न थाले। बैशाख २७ गते उनले पिसिआर टेस्ट गराउँदा श्रीमान, श्रीमती दुबैमा पोजेटिभ देखियो। त्यतिबेलासम्म उनी एकदमै कमजोर भइसकेका थिए।

उनी हिँड्डुल गर्न, बस्न सक्ने अवस्थामा थिएनन्। मण्डलले भने, ‘पोजेटिभ आएको थाहा पाएपछि आँखा टोलाएर अचेत अवस्थामा सुतिरहे, सुद्धिबुद्धि हराई सकेको थियो ।’ उनले थपे, ‘चार दिनसम्म यस्तै गतिविधिले निरन्तरता दिएपछि जेठ १ गतेबाट श्वास फेर्न गर्हो भयो।’ मण्डल संझना गर्दै भन्छन्, ‘त्यहीँ दिन जेठानको सहयोगमा गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएँ।’

मण्डल भन्छन्, ‘अक्सिजन लेभल ९० मा झरेको थियो । दुई दिन नियमित अक्सिजन लगाएर उपचार गरेपछि अक्सिजन लेभल ठीक भयो।’ मृत्युको मुखबाट फर्किएको अनुभुति भएका मण्डलको भनाइ छ, ‘स्वास्थ्यमा सुधार आयो र तेस्रो दिन सोही अस्पतालको मातहतमा रहेको साई कृष्णा अस्पतालमा उपचारको लागि सारियो।’ मण्डले भन्दै गए, ‘श्री कृष्णामा थप ६ दिन उपचार पछि घर फर्केर होम आईसोलेसनमा बसे।’

घरमा मण्डलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गयो । खानामा पनि रूचि बढ्दै गयो। जेठ १८ गते पुनः दुबै दम्पतीले पिसिआर टेस्ट गराए । १९ गते दुबैको रिपोर्ट निगेटिभ आयो।

अहिले उनीहरूको अवस्था सामान्य छ । मण्डलले लामो श्वास फेर्दै भने, श्रीमतीको अवस्था त सामान्य नै थियोे, मैले त दोस्रो जीवन नै पाएँ। ’ मण्डले थपे, ‘जीवन र मृत्यसँग लड्दै गर्दा मेरो जेठान र आमाबाबुले हाम्रो हेरचाहमा अहम भुमिका निर्वाह गर्नु भयो।’ यस्तो बेला आफन्तको सहयोग भयो भने मनोबल उच्च हुने रैछ तर केही छिमेकीले बाच्दैन् भनेर् मनोबल घटाउने काम गरेकोमा उनले नमिठो अनुभुति गरेको बताए।

राजविराज नगरपालिका – २ का ३९ बर्षीय आयुस श्रेष्ठकी श्रीमती लक्ष्मी श्रेष्ठलाई बैशाख २४ गते राति ज्वरो आयो । भोलिपल्टै ३ वर्षको छोरालाई र पर्सि पल्ट स्वयं आयुस श्रेष्ठलाई नै १०४ डिग्री ज्वरो आयो। परिवारका तीनैजना पिसिआर गर्न गए। जाँच गर्दा तिनै जनाको कोरोना पोजेटिभ आएको श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘पुरै परिवारको कोरोना पोजेटिभ आउने बित्तिकै डाक्टरको सल्लाह अनुसार औषधि खादै होम आईसोलेसनमा बस्यौं ।’ ‘सबै जनाको ज्वरो एक दुई दिनमै निको भएको श्रेष्ठको अनुभव छ । उनले आफ्नो अनुभुति सुनाउँदै भने, ‘एकदमै कमजोरी लाग्थ्यो, खानामा रूचि थिएन।’

श्रेष्ठले कोरोना पोजेटिभ भएको अवस्थाको परिवार भित्रको अवस्था सुनाउँदै भने, ‘बच्चाले त सबै थोक खाई दिनाले खासै गाह्रो भएन तर म र मेरो श्रीमतीले एक गाँस भात एक घुट्को पानी खाएर भएपनि खाना निल्थ्यौं।’ उनले थपे, ‘ खाना पेटमा नगएसम्म बल लाग्दैन भन्ने थाहा थियो त्यसैले मन नलागि नलागि खान्थ्यौं।’

होम आईसोलेसनमा बसुन्जेल,माछा, मासु, अण्डा, काँढा, ज्वानोको झोल, तातोपानी खाने गरेको आयुसले बताए। उनले थपे, ‘मानसिक रूपमा बलियो बन्न खोज्दा सामाजिक सञ्जालमा भएको कोरोना सम्बन्धि नकारात्मक पोष्टले कहिल्यै मानसिक रूपमा बलियो हुन दिएन।’

उनका अनुसार कोरोना संक्रमित यति संख्यामा बढ्यो, यति जना मरे भनेर फेसवुक, अनलाइन सबैतिर हुनु र मरेको मान्छेहरूको लागि पोष्ट गरिएको श्रद्धाञ्जलीलाई हेरेर मनोवल बढ्नुको साटो घटेको थियो । होम आईसलेसनमा बसुन्जेल पन्ध्र दिनसम्म सामाजिक संजालबाट टाढा रहेको आयुसले बताए।

कोरोनाको दोस्रो लहरमा सङ्क्रमित र मृत्युहुने दर बढी भएकोले ‘नर्मल’ मान्छेलाई नकारात्मक समाचार हेरेर, सुनेर तनाव हुँदो रहेछ उनको अनुभव छ। सामाजिक सञ्जालमा दिइने मृत्युको खबर, नकारात्मक कुराहरूले सङ्क्रमितको मानसिकतामा हानी पु¥याउन ठूलो भुमिका खेलिरहेको श्रेष्ठको भनाइ छ।

यस्तो महामारीमा सङ्क्रमितको मनोबल बढाउने सकारात्मक पोस्ट गरेमा उनीहरूलाई मानसिक रूपमा बलियो बन्न सहयोग मिल्छ,जसले गर्दा कोरोना जित्न सजिलो हुन्छ । उनले भने, ‘सङ्क्रमित भएर उपचारको क्रममा ज्यान गुमाउनुको मुख्य कारण समयमा अस्पताल नपुग्नु नै हो ।’ उनले थपे, ‘आफ्नो लागि नभएपनि परिवारको लागि समयमा पिसिआर टेस्ट गराएर उपचार सहित आईसोलेसन बसे पारिबार, आफन्तसँगै आफू पनि सुरक्षित भइन्छ।’

त्यसैगरी राजविराज नगरपालिका – ७ का अधिवक्ता ४५ वर्षीया मनु खनाल संयुक्त परिवारमा बस्छिन्। पहिलो दिन उनको जेठाजुको छोरालाई बेस्सरी टाउको दुखेर १०१ डिग्री ज्वरो आयो। भोलिपल्ट पनि ज्वरो निको नभएपछि पिसिआर टेस्ट गराउँदा पोजेटिभ देखियो।

पर्सिपल्ट उनी र उनका दुई छोराछोरीलाई पनि टाउँकै दुखेर १०० डिग्री ज्वरो आयो। त्यहीँ दिन उनीहरूले पिसिआर टेस्ट गराए। तिनैजनाको रिपोर्ट पोजिटिभ आयो । खनालले भनिन्, ‘त्यसपछि होम आईसोलेसनमा बसेर औषधि शुरू गरिहाल्यौं।’

अधिवक्ता खनालले थपिन, ‘हामी सङ्क्रमित सबैलाई एकदमै कमजोरी महशुस भयो। हात खुट्टा सहित सिंगै शरिर दुख्ने, बस्नै गा¥हो हुने भएपछि एक हप्तासम्म दिनभरी नै पटक पटक खाँदै बस्थ्यौं।’

होम आइसोलेसनमा बसेर औषधि खाएको दुई दिन बित्न नपाउँदै ज्वरो निको भएको खनालको अनुभव छ। उनीहरूको अवस्था सामान्य हुँदै गयो। तीनदिनसम्म खानामा स्वाद आएन त्यसपछि खाना मिठो लाग्न थालेको उनले बताइन्।

खनालले भनिन्, ‘हामी चारजना सङ्क्रमितमध्ये ममात्र ४५ वर्षको थिएँ, अरू तीनै जना २५ वर्षभन्दा कम उमेरका भएकोले उनीहरूलाई अरू कुनै समस्या थिएन । तर, मलाई एकदुई दिन श्वास फेर्न गाह्रो भएपछि नियमित योगा गरेपछि स्वास फेर्न सजिलो भएको थियो।’

सामाजिक सञ्जाल, न्युज हेर्दा कोरोनाको न्युजले तनाव बढाएपनि अवस्था बुझ्न न्यूज, समाजिक सञ्जाल हेर्न उनीहरूलाई मन लाग्थ्यो । भजन सुनेर, डान्स गरेर तनाब ब्यवस्थापन गरेको उनले बताइन् । नियमित तातोपानी, काढा, अरूबेलाभन्दा पोषिलो खाना बढी खाएको उनको अनुभव रहेको छ ।

खनालको अनुभवमा समयमा सचेत भएपछि केही नहुने रहेछ भन्ने छ । तर, सचेत नहुँदा दुर्घटना हुने भएकोले यसबाट सबैले समयमा सचेत हुन आवश्यक रहेको खनालले बताइन् । पन्ध्र दिन पुगेर १६ औं दिनमा उनीहरूले कोरोनालाई जीते । उनीहरू अहिले पहिले जस्तै सामान्य जीवनमा फर्किसकेका छन् ।

कोरोना सङ्क्रमितलाई सामाजिक सञ्जाल र कोरोना सम्बन्धित नकारात्मक समाचारले नकारात्मक असर पारेको छ । कोरोनाको दोस्रो लहर शुरु भएसंगै कोरोनाले सिकिस्त भएको, ज्यान गएकाको श्रद्धाञ्जली लगायत बिषय सामाजिक सञ्जालमा बढी आउँने गरेको छ ।

समाचारमा पनि यी बिषय बस्तुलाई बढी प्राथमिकता दिने हुनाले बिरामीको मनोवल झन् घटेर थप बिरामी पर्न थाल्छन् । यस्ता खबरकै कारण मनोबैज्ञानिक असर पर्ने, मनोबल बलियो बनाउन खोज्दा पनि चाँहदा चाँहदै मनोबल बलियो बनाउन नसक्दा ज्यान जोखिममा परेको पाइएको छ।

कोरोनाको महामारीले सप्तरी जिल्लासंगै मुलुकभर भयावह रूप लिइरहदा सबैले यसबाट सचेत हुन जरुरी छ रहेको जानकारहरु बताउँछन्। कोरोना सङ्क्रमणबाट मुक्त भएर घरमा आरामको जीवन गुजारा गरिरहेकाहरु सबैको एउटै आबाज छ, ‘यस्तो महामारीमा एकले अर्कालाई सहयोग र सहकार्य गर्न जरुरी हुन्छ। कसैलाई घृणा गरेर नकारात्मक दृष्टिकोणले हेर्नु, व्यबहार गर्नुभन्दा सकारात्मक व्यवहारको आवश्यकता छ।’

(सञ्चारिका समूह नेपाल)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो