गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

डिसी नेपाल
२ असार २०७८ १५:४८

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। हालै संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मत लिन लागेका हुन्।

संविधानको यो धारा अनुसार मुख्यमन्त्री हुनेले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। प्रदेश प्रमुख समक्ष विश्वासको मत पाउने आधारसहित सरकार बनाउने दावी गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

काँग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २ राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र १ गरी ३१ सांसदको समर्थनमा नेपाली मुख्यमन्त्री बनेका थिए। ६० सदस्यी प्रदेश सभा हाल ५९ सदस्यीय कायम छ। राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि एक स्थान रिक्त छ। त्यसैले नेपालीले विश्वासको मत पाउनका लागि कम्तिमा ३० सिट आवश्यक पर्छ।

मुख्यमन्त्री नियुक्त भएपछि ४ जना मन्त्रीसहित मन्त्रिपरिषद विस्तार गरे पनि पोखरेलले मन्त्रीहरुलाई विभाग भने दिएका छैनन्। सबै मन्त्रालयको जिम्मेवारी हाल आफैसँग राखेका उनले विश्वासको मत लिएपछि मन्त्रीहरुको कार्यभार बाँडफाँडको तयारी गरेका छन्।

तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि काँग्रेसका नेपाली मुख्यमन्त्री बनेका हुन्। ७ वटा प्रदेश मध्ये काँग्रेस नेतृत्वमा सरकार बनेको गण्डकी प्रदेश पहिलो हो। काँग्रेस अन्य दुई प्रदेश कर्णाली र प्रदेश २ मा सरकारमा सहभागी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *