कतार प्रवेशमा खोप र क्वारेन्टिनसम्बन्धी नयाँ नियम

डिसी नेपाल
२७ असार २०७८ १६:१४

काठमाडौं । कतारले विदेशीलाई पारिवारिक र पर्यटक भिसा जारी गर्दै क्वारेन्टिनसम्बन्धी नयाँ नियम लागू गरेकोे छ । कतार प्रवेशमा आगामी सोमबार अर्थात् १२ जुलाईबाट लागू हुने गरी क्वारेन्टिनसम्बन्धी नयाँ नियम लागू गरिएको हो ।

कतारले केही दिनअघि जारी गरेको विदेशीको कतार यात्रासम्बन्धी प्रावधानभित्र रहेर सोमबारदेखि पारिवारिक र पर्यटक भिसा जारी गर्ने बताएको छ । जसअनुसार कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु नपर्ने गरिएको छ ।

कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपलाई मान्यता दिइएको छ । तर कतारमा मान्यता प्राप्त नभएको सिनोफर्म, भेरोसेल, कोभिसिल्ड आदि खोप लगाइसकेको भएपनि १० दिन होटल क्वारेन्टिन भने बस्नुपर्ने छ ।

कतारले पछिल्लो ९ महिनाको अन्तरालमा कोरोना संक्रमण भएकाले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै लगाएको भएपनि होटेल क्वारेन्टिन बस्नु नपर्ने बताएको छ । त्यस्तै, सानो बच्चा भएको परिवारभित्रका बाबु आमामध्ये कुनै एक जनासँगै यात्रा गर्दा अभिभावकले कतारमा मान्यता प्राप्त खोपको दुबै डोज लगाइसकेको भए सानो बच्चा पनि भ्याक्सिनेट मानिन्छ । त्यसैले सो बच्चालाई कुनै नियम लागू हुँदैन ।

नेपाललाई कतारले हालसम्म पनि खतराको उच्च जोखिम मानिने ‘रेड जोन’को सूचीमा राखेको छ । खतरा कम रहेका ‘ग्रीन जोन’मा पर्ने मुलुकबाट कतार प्रवेश गर्नेले आफ्नो मुलुकमा १० दिन होटेल क्वारेन्टिन बसेर आएको प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति दिइने व्यवस्था गरिएको छ ।

ग्रीन र एल्लो जोनको सूचीमा रहेका देशहरूबाट जानेहरुको भने विमानस्थलमा पीसीआर गर्नुपर्ने छैन । रेडजोनको सूचीमा रहेका मुलुकहरुबाट कतार गएपछि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्यरुपमा पीसीआर टेष्ट गर्नुपर्नेछ ।

तर नेपालबाट कतार जाँदा १२ घण्टा अगाडि इहतेराज डट जीओभी डट क्यूए मा आफ्नो यात्रा विवरण अनिवार्य रजिस्टर गर्नुपर्ने छ । कतारमा मान्यता नपाएको खोपको एक अथवा दुवै डोज लगाएको र खोप लगाएको १४ दिन नबितेको अवस्थामा पनि कतारमा क्वारेन्टिन बस्नुपर्ने छ । कतारमा मान्यताप्राप्त खोप नलगाएको भए ग्रीन जोनबाट गएको भए ५ दिन, एल्लो जोनबाट ७ दिन, रेड जोनबाट गएको भए १० दिन होटेल क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गरिएको छ ।

खोप नलगाई कतार जाने ४ वर्षदेखि १७ वर्षसम्म किशोरहरुले खोप लगाएको अभिभावक मध्ये १ जनासँगै होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ भने गर्भवती, स्तनपान गराइ रहेकी आमा, ७५ वर्ष वा सोभन्दा बढी उमेरकाहरुले खोप लगाएको १४ दिन नभएको भए ५ दिन होम क्वारेन्टिन बस्नुपर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *