‘भारतको दुईतिहाइ ‍जनसङ्ख्या कोरोनाभाइरसको संसर्गमा’

डिसी नेपाल
६ साउन २०७८ १८:०६

बीबीसी । भारतमा एउटा नयाँ राष्ट्रिय सीरो सर्वेक्षणले छ वर्षभन्दा माथिका झन्डै ६७ नागरिक कोरोनाभाइरसको संसर्गमा पुगिसकेको जनाएको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले ३६,२२७ जनालाई संलग्न गराएर उक्त सर्वेक्षण गरेको थियो। जुन र जुलाई महिनामा २१ वटा राज्यमा गरिएका ती सर्वेक्षणबाट प्रत्येक तीन जनामध्ये दुई जनामा कोभिडविरुद्ध विकसित प्रतिरक्षात्मक एन्टिबडी पाइएको छ।

यसले अझै ४० करोड भारतीयहरू सङ्क्रमणको जोखिममा रहेको देखाउँछ र अधिकारीहरूले कोभिड मापदण्ड खुकुलो गरिएकोमा चेतावनी दिएका छन्। भारतले अहिलेसम्म तीन करोड १० लाख जनामा कोभिड सङ्क्रमण भएको उल्लेख गरेको छ। सरकारी तथ्याङ्कअनुसार कोभिडका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाखजति छ।

केही सातायता दैनिक पुष्टि हुने सङ्क्रमणको कुल सङ्ख्या निरन्तर ओरालो लागिरहेको छ। अहिले प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या ४०,००० भन्दा कम छ। गत मे महिनामा त्यहाँ कोरोनाभाइरसको खराब दोस्रो लहर उत्कर्षमा पुग्दा प्रत्येक दिन औसतमा तीन लाख ८० हजार जनामा सङ्क्रमण पुष्टि हुने गरेको थियो।

तर चिकित्सक र विज्ञहरूले नयाँ भेरिअन्टहरू देखा परेका र बजार र लोकप्रिय पर्यटकीय गन्तव्यमा भिडभाड बढेकाले तेस्रो लहरको चेतावनी दिएका छन्। आईसीएमआरका प्रमुख डा. बलराम भार्गवले भने, ‘चौथो सीरो सर्वेक्षणले अझै पनि आशाको किरण रहेको देखाएको छ, तर यसकै आधारमा ढुक्क भएर बस्नुपर्ने अवस्था छैन। हामीले कोभिडसँग सङ्घर्ष गर्न उपयुक्त व्यवहार गर्नुपर्छ।’

सीरो प्रीभेलन्सले जनसङ्ख्यामा कोभिड–१९ विरुद्धको एन्टिबडीको उपस्थितिको अवस्थालाई जनाउँछ। यसपालि पहिलो पटक छ देखि १७ वर्षका बालबालिकालाई पनि सर्वेक्षणमा सहभागी गराइएको थियो। परीक्षण गरिएका ८,६९१ नमुनामध्ये आधाभन्दा बढीमा कोरोनाभाइरसविरुद्ध एन्टिबडी फेला परेको थियो।

सर्वेक्षणमा ७,२५२ जना स्वास्थ्यकर्मी सहभागी थिए जसमध्ये ८५ प्रतिशतमा एन्टिबडी पाइएको थियो। तेस्रो सीरो सर्वेक्षणले २१ प्रतिशत भारतीय वयस्कमा कोभिडको एन्टिबडी रहेको देखाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *