डोमेन नेम सिस्टममा गडबडीका कारण अमेजन, जोम्याटोसहित २९ हजार वेबसाइट ठप्प

डिसी नेपाल
८ साउन २०७८ ११:०८

काठमाडौं। अमेजन, जोम्याटो, पेटिएम लगायत विश्वका २९ हजार वेबसाइटहरु बिहैबार केही समयका लागि ठप्प भएका छन् । यी कम्पनीमध्ये केहीका वेबसाइटले काम गर्नै बन्द गरे भने केही निकै ढिलो चलेका थिए । कैयौं एयरलाइन्स, बैंक र प्रविधि कम्पनीका वेबसाइटमा यस्तो समस्या देखियो । सोनी लिभ, हटस्टार जस्ता ओटिटी प्लेटफर्म पनि बिहीबार बेलुका अचानक डाउन भएका थिए ।

आउटेज ट्रयाकिङ वेबसाइट डाउनडिटेक्टरका अनुसार डोमेन नेम सिस्टम (डिएनएस)मा गडबडी भएका कारण यी वेबसाइट केही समयका लागि ठप्प भएका थिए । अहिले भने यिनीहरु राम्रैसँग चलिरहेका छन् । आउटेजका कारण यी कम्पनीका वेबसाइट लोड भइरहेका थिएनन् । सिस्टमले डिएनएसमा गडबडी भएको जानकारी दिइरहेको थियो । क्लाउड सेवा दिने कम्पनी अकामाइ टेक्नोलोजिजले डिएनएसमा आइरहेका समस्या जाँच गरिरहेको बताएको छ ।

डिएनएसले काम नगर्दा अमेरिकाका ठूला कम्पनी धेरै प्रभावित भए । डेल्टा एयर, कोस्टको होलसेल कर्प, अमेरिकन एक्सप्रेस सहित कैयौं एयरलाइन्स, बैंकिङ र प्रविधि कम्पनी प्रभावित भएका थिए । जूनमा विश्वभर सामाजिक संजाल, सरकार र समाचार वेबसाइटमा कैयौं आउटेज भएका थिए । केवल २ महिनाको अवधिमा वेबसाइटहरु ठप्प भएको यो तेस्रो घटना हो । रिपोर्टका अनुसार अमेरिकी क्लाउड कम्प्युटिङ कम्पनीको सेवामा गडबडीका कारण डिएनएस सिस्टममा खराबी आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *